हुम्लाको मुण्डी गाउँका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेका किसानलाई यतिबेला धान भित्र्याउन भ्याइनभ्याई भएको छ । सर्केगाड गाउँपालिका-४ मुण्डी गाउँका किसान धमाधम धान काट्न थालेका छन् । यहाँ धान पाकेर दाना झर्ने अवस्था भएकाले किसानलाई धान काट्न चटारो भएको स्थानीय हर्कशिला रावलले बताउनुभयो ।

किसान रावलका अनुसार, असोज पहिलो हप्तासम्म यस क्षेत्रमा धान पाकी सक्ने भएकाले घर भित्र्याउन भ्याइनभ्याई भएको छ । मुण्डी गाउँमा सबैभन्दा बढी लगाइने बालीमा धान पर्दछ । अहिले धान पाकी सकेको हुनाले किसानलाई धान काट्न, चुट्न र घर भित्र्याउन चटारो चलेको उहाँको भनाई छ । मौसममा सुधार आएपछि मुण्डीका जिउलोभरि धान भित्र्याउन किसान लागिपरेका छन् । उनीहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त हुने गरेको रावलले बताउनुभयो । यहाँका किसान जिउलोमा धान काट्न र चुट्न व्यस्त देखिएका छन्  ।

हुम्लाका किसानलाई यो याममा पाकेको धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको हो । मार्सी धान हुम्लाको दार्मा, मुण्डी, रिप, उनापानी, तुम्च लगायतका गाउँमा खेती हुँदै आएको छ । गएको साउन १३ गते आएको अविरल वर्षाका कारण जिल्लाका अधिकांस यी क्षेत्रका धान उत्पादन हुने खेत बाढी-पहिरोले बगाएर क्षति समेत गरेको छ ।

यहाँका किसान चैतमा धानको बेर्ना राख्ने, जेठमा रोप्ने, असारमा गोडमेल गर्ने र असोजमा घर भित्र्याउने गर्छन् । हुम्लामा दुई प्रकारको धान खेती गरिँदै आएको छ । भने हुम्लामा पाइने धान चामलको माग बढ्दै गएको छ । प्रति केजी रु २ सय देखि रु २५० रुपैयाँ बजार भाउ पर्ने गरेको छ ।

हुम्लाको सबै भन्दा बढी धान उत्पादन हुने पालिकामा चंखेली, सर्केगाड, अदानचुली, ताँजकोट पर्दछन् भने खार्पुनाथ र सिमकोट गाउँपालिकाका किसानले कमै मात्र धान खेती गर्दै आउने गरेको जिल्ला कृषि विकास कार्यालय हुम्लाले बताएको छ ।

जिल्लाका ६ वटा गाउँपालिकाको कुल १०९३ हेक्टर क्षेत्रमा धान उत्पादन हुँदै आएको छ । जिल्लामा १३.८४ प्रतिशत मात्रै धान उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख धर्म बहादुर शाहीले बताउनुभयो ।

हुम्ला नेपालको उच्च हिमाली जिल्लामा पर्दछ । यहाँ वर्षमा एकपटक धान उत्पादन हुन्छ । धान जस्तै उच्च हिमाली क्षेत्रमा उवा, जौ र गहुँ पनि वर्षमा एक पटक मात्रै उत्पादन हुन्छ । धान उत्पादन जन्मजातदेखि यहाँ उत्पादन हुँदै आएको छ । हुम्लाको उच्च सिमकोट गाउँपालिका ८ खोल्सीमा समेत धान उत्पादन हुँदै आएको छ । हुम्लाको बाह्रैमास सिँचाइ सुविधा पुगेको र खोला आसपासका खेतमा मात्रै धान उत्पादन हुने गर्दछ । नाम्खा बाहेक जिल्लाको ६ वटै स्थानीय तहमा धान खेती हुने निमित्त कार्यालय प्रमुख शाहीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?