सामाजिक विकास मन्त्री र सचिवलाई जिल्ला अस्पतालका गुनासै गुनासा

हिमालय टाइम्स
Read Time = 12 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । बुधबार विहान ११ बजे मुगु जिल्ला स्थित जनता प्लाजा होटेलमा आयोजित एक कार्यक्रममा जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर कमल ढुंगाना जिल्ला अस्पतालका समस्याहरु बारे बताईरहनु भएको थियो ।

प्रमुख ढुंगानाले समस्याहरु बारे बताईरहदा छेउमा बस्नु भएका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेल र मन्त्रालयका सचिव भोजराज शर्मा सुनिरहनु भएको थियो ।

मुगु जिल्ला अस्पताल मुगुका प्रमुख ढुंगानाले जिल्ला अस्पतालमा दरवन्दी अनुसार कर्मचारी नभएको, एक्सरे मेसिन विग्रेको ४ महिना भैसक्दा पनि प्रदेश सरकारले मर्मतका लागी कोहि नपठाएको, कर्णाली प्रदेशका अन्य अस्पतालमा सरकारले सशुल्क फार्मेसी संचालन गर्न बजेट छुटाएको मुगुलाई उपेक्षा गरेको, मर्मत सम्भार शिर्षकमा बजेट नरहेको, अस्पतालमा ल्याव भएपनि बजेट र जनशक्तिको व्यवस्था नभएको, वायोमेट्रि र ईलेक्ट्राेनिक्स प्राविधिक नहुँदा अस्पतालमा रहेका मेसिन र विद्युत नियमित संचालन गर्न समस्या भएको, सरकारले निशुल्क भनेर तोकेका ९८ प्रकारका औषधी किन्न बजेट अभाव भएको, उच्च गतीको ईन्टरनेट नहुँदा स्वास्थ्य विमाको केलेम गर्न समस्या हुँदा हाल सो सेवा रोकिएको, सरकारले ख वर्गको एम्बुलेन्स संचालन गर्नुपर्ने निती लिएपछि सो वर्ग अनुसारको एम्बुलेन्स नहुदा घ वर्गको एम्बुलेन्स संचालन गर्न बाध्य भएको जस्ता समस्या प्रस्तुत गर्नु भएको थियो ।

जिल्लामा विषेशज्ञ चिकित्सक नहुँदा सामान्य सल्यक्रियाका विरामी पनि रिफर गर्नु परेको, कम्तिमा एक जना एमजिडिपी डाक्टर सबै चेकअप र शल्यक्रियाको काम जानेको चिकित्सकको व्यवस्था गरिदिन र यदि त्यो नभए कम्तिमा प्रसुती विज्ञको व्यवस्था मिलाउन डा ढंगानाले कर्णाली प्रदेश सरकारका सामाजिक मन्त्री संग आग्रह गर्नुभयो । उहाँले अहिले जिल्ला अस्पतालमा एक जना नहकुल शाही डाक्टरले प्रसुती सेवा दिई रहनु भएको छ ४,५ महिना पछि उहाँ अध्ययनका लागि नाेकरी छोडनु हुने भएकाले त्यसपछि सामान्य प्रसुती गराउन पनि जिल्ला अस्पताल नसक्ने अवस्था आउने सुनाउनु भयो ।

अस्पतालमा खानेपानी नहुँदा समस्या छ नेपाली सेनाले राती अस्पतालमा खानेपानी छोडिदिन्छ जसो तसो त्यसैले धान्न परेको छ । सेनाकोबाट पानी नआएको दिन सबै सरसफाईका सबै काम रोकिन्छन शौचालय समेत ताला लगाउनु पर्छ । घेरवार नहुँदा पशु चौपाया देखि अस्पताल वरिपरीका स्थानियहरु अस्पताल भित्र आवत जावत गर्ने गरेका छन, कोरियाली सहयोग नियोग-काईकाले बनाई दिएका अस्पतालका भवन र करोडौका मेसिन औजार संचालन नहुदा जिर्ण बन्दै गएको छ ।

अस्पताल प्रमुख ढुंगानाले अस्पतालमा रहेका समस्या बताई सकेपछि सहभागीहरुले अस्पताल हो की अस्तव्यस्त ताल हो आफुहरु दुविधामा परेको बताएका थिए । अस्पताल प्रदेश मातहतको हो कर्णालीका १० जिल्लाहरुमा छुटाएको बजेटमा कर्णाली प्रदेश सरकारले विभेद गरेको आरोप लागेको छ ।

जिल्ला अस्पताल १५ शैयाको भएपनि विरामीको चाप रहेकाले ४९ शैया चलाई रहेको प्रमुख कमल ढुंगानाले बताउनु भयो । अस्पतालमा उपचार गर्न मुगु जिल्लाका ४ पालिकाका सार्थै हुम्लाका चेंखेली,अदानचुली बाजुराको हिमाली र जुम्लाको कनकासुन्दरीसम्मबाट समेत विरामी उपचारका लागी जिल्ला अस्पतालमा आउने छन । बढ्दो विरामीको चाप र उपलब्ध ५० शैया पनि धान्न सक्ने अस्पतालका संरचनाहरु भएकाले कर्णाली प्रदेश सरकारले बजेट प्रस्तुत गर्दा मुगु जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नती गर्ने घोषणा गरे बमोजिम जनशक्ति र अन्य आवश्यकिय संरचनाको व्यवस्था गरि यसै आर्थिक बर्षबाट ५० शैयाको सेवा सुचारु गर्न पुर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्लले कर्णाली सरकार, सामाजिक विकास मन्त्री र सचिवलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै मुगुम कार्मारोङ्ग गाँउपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले प्रदेश मातहतको अस्पताल अस्तव्यस्त ताल हुनु भनेको प्रदेश सरकार कै वेईज्यतीका साथै मुगुबाट निर्वाचित प्रदेश,संघ का सान्सद देखि स्थानिय तहका प्रमुखहरुको पनि वेईज्यत भएको बताउदै अस्पतालमा रहेका मेसिन औजार मर्मत र सामान्य मर्मत सम्भारकाम लागि जिल्लाका ४ वटै स्थानिय सरकारहरुले चालु आर्थिक वर्षबाट नियमित बजेट छुटाउने निर्णय गरेको सामाजिक मन्त्रीलाई जानकारी गराउनु भयो ।

जिल्ला अस्पतालमा फार्मेसी सन्चालनका लागि छायाँनाथ राराको बजेट अधिवेशनबाट बजेट छुटाएको र फार्मेसी संचालन कार्यविधी निमार्णपछि अस्पतालको हाता भित्र फार्मेसी संचालन गने नगरप्रमुख विष्णु कुमार भामले बताउनु भयो । प्रदेश सरकारले ५० शैयाको अस्पताल संचालन गरेमा स्थानिय सरकारका नाताले सानातिना खर्च शिर्षकका लागी नगरपालिकाले बजेटको नियमित व्यवस्था मिलाउने नगरप्रमुख भामले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्ला अस्पतालका प्रमुखले प्रस्तुत गर्नुभएका अधिकांस समस्या अस्पताल परिवारले नै समाधान गर्ने किसिमका छन । सामान्य पानी,छत चुहिएको, गाईवस्तु भित्र पस्ने गरेको, कर्मचारीले नटेरे जस्ता समस्या पनि प्रदेश सरकारले समाधान गरिदेओस भनेर अपेक्षा गर्नु अस्पताल परिवार र व्यवस्थापक कै कमजोरी भएको बताउदै सामाजिक विकास मन्त्रालयका सचिव भोजराज शर्माले प्रदेश सरकारले मुगु जिल्ला अस्पताललाई ५० शैयाको बनाउने घोषणा गरे बमोजिम नै के कस्ता संरचनाहरु छन ? मेसिन औजार के के छन, शैया छन की छैनन ? विरामी कती आउछन र स्थानियहरुको चाहाना के छ भनेर मन्त्रीसहित आफु स्थलगत बुझ्न मुगु आएको बताउनु भयो । उहाँले प्रदेश राजधानी सुर्खेत पुग्नासाथ ५० शैयामा चाहिने जनसक्ती, संरचना, औषधी, मेसिन औजारलागायतको लागतसहितको विष्लेषण गरि प्रतिवेदन सरकारलाई पेश गर्ने र ५० शैया बनाउने वा २५, ३०, ४० कति शैयाको बनाउने सरकारले निर्णय गर्ने बताउनु भयाे ।

जिल्ला अस्पताल,आयूर्वेद अस्पतालको प्रस्तुति र सहभागीहरुको जिज्ञासहरु सुनिसकेपछि सामाजिक विकासमन्त्री खड्क बहादुर पोखरेलले मुगु मात्र नभएर १० जिल्लामा रहेका प्रदेश मातहतका अस्पताल र सामाजिक कार्यालयहरुका विभिन्न शिर्षकका बजेट चालु आवमा कटौती भएको बताउनु भयो । उहाँले भन्नुभयो- 'कर्णाली प्रदेशमा यो वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैछ यसको खर्च प्रदेश सरकारले व्यहोर्नु पर्ने हो तर खेलकुद सामाजिक विकास मन्त्रालय अन्तर्गतको हो भन्दै अन्य मन्त्रालयहरु बजेट खर्च गर्न पछि हटेकाले नैतिकताका आधारमा पनि बरु मन्त्रालयका अन्य शिर्षक कटौती गरि राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी बजेट छुटाउदा बजेट अपुग भएको हो ।'

अस्पतालहरुको स्तरउन्नती र शैया थपको लागी विज्ञ समिती गठन गर्ने र सोहि समितीले दिएको प्रतिवेदनका आधारमा कर्णाली प्रदेशका कुन अस्पताललाई के स्तरउन्नती र कति शैया थप्ने बारे मन्त्रालय र प्रदेश सरकारले निर्णय गर्ने पनि मन्त्री पोखरेलले बताउनु भयो । अस्पताल सबैको हो त्यसैले स्थानिय, प्रदेश र संघिय सरकारहरुले आ-आफ्नो क्षमता अनुसार दुर्गम तथा ग्रामिण क्षेत्रका अस्पतालहरुलाई हार्डवयर र सप्टवयर दुवै क्षेत्रमा सहयोग गर्नु पर्ने जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले सुझाव दिनुभयो ।

सरकारले जिल्ला अस्पताल व्यवस्थापन समिति गठन गरि अस्पताल संचालन र व्यवस्थापनको जिम्मेवारी दिएपनि समितिका लागि आवश्यक बजेट, अधिकार नदिएकाले व्यवस्थापन समितीका हातगोडा बाधेर काम गर भने जस्तो भएको मुगु जिल्ला अस्पताल मुगु व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले गुनासो गर्नु भयो । जिल्ला अस्पताल मुगुको भौतिक संरचना,जनशक्ति परिपुर्ती र औषधी उपलब्धताका बारे संघिय स्वास्थ्यमन्त्री देखि प्रदेश सरकारका मन्त्री, सचिवसम्म सबैलाई अनुरोध र जानकारी गराए पनि आजका मितिसम्म आश्वासन मात्र पाएको पनि अध्यक्ष मल्लले गुनासो व्यक्त गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?