मधेसमा सुशासन कायम गर्न एमाले नेतृत्वको सरकार बन्नुपर्छ : सचिव भट्टराई

हिमालय टाइम्स
Read Time = 4 mins

जनकपुरधाम । नेकपा(एमाले)का सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न नेकपा(एमाले)को सरकार आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार नेकपा(एमाले) मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेसमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको हो । उहाँले अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको बताउनु भयो । उहाँले मधेशी समुदायको स्वाभिमानलाई माथि उठाउन पनि मधेश सरकारको नेतृत्व एमालेले गर्नुपर्ने बताउनु भयो । सचिव भट्टराईले २०८४ सालमा मधेस सरकार एमाले नेतृत्वमा बनाउने गरी अघि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो –‘आर्थिक अनियमितताका धेरै केशहरु मधेशमा छन् । त्यसले गर्दा मधेशको सुशासन कमजोर देखिन्छ । स्थानीय तहमा पनि देखिन्छ । प्रदेश सरकारमा पनि देखिन्छ । त्यसो हुनाले मधेसको जनतालाई सहज ढंगले सेवा प्रवाह गर्नका लागि सुशासनको प्रत्याभुति गर्ने, वित्तिय अनुशासन कायम गर्ने कुरा हामीले उठाएका छौँ । यो मधेसले सिंगो मानव जातिको हितको निम्ति लड्यो । तरपनि मधेसमा जुन तहको स्वाभिमान कायम हुनुपथ्र्यो त्यो कायम हुन सकेको छैन । त्यसकारणले हामीले मधेसी जनताको र मधेसको स्वाभिमानलाई माथि उठाउने र मधेशको आर्थिक, सामाजिक समृद्धिको काम गर्नको निम्ति एमालेको सरकार चाहिन्छ । सिंगो मधेशलाई विकास निर्माण र सामाजिक न्यायको प्रत्याभुति गर्ने, मधेशलाई आर्थिक हिसाबले समुन्नत गर्ने, सामाजिक हिसावले समन्नुत गर्ने, यहाँ भएका विभेदहरुलाई अन्त्य गर्ने र समग्रतामा समृद्धि हासिल गर्ने काम नेकपा(एमाले)को नेतृत्वबाट मात्रै सम्भव छ । किनकी हामीले गएको पाँच वर्ष कुनै पार्टीको मुख्यमन्त्री भएको सरकार हेरिसक्यौँ । अहिले एक वर्ष पनि हेरिसक्यौँ । यो साडे ६ वर्षको अवधिमा मधेसमा नेकपा(एमाले)को मुख्यमन्त्रीसहित बहुमत हुनुपर्छ भन्ने जनताको अनुभुति हामीले प्राप्त गरेका छौँ । त्यसकारणले ८४ सालका लागि नेकपा(एमाले)को सरकार यो हाम्रो नारा हुन्छ । यही नाराको सेरोफेरोमा हामी सबै मधेशी समुदायलाई गोलबन्द गर्नेछौँ ।’

एमाले मधेस प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ गते हुने भएको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?