१९ औँ एसियाली खेलकुद : नेपाल र बंगलादेशको बराबरी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालले चीनको हांगचौमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा बंगलादेशसँगको खेल बराबरीमा सकेको छ । चीनको वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा भएको खेल एक-एकको बराबरीमा सकिएको हो । नेपालका लागि रेखा पौडेल र बंगलादेशकी सविना खातुनले एक-एक गोल गर्नुभएको थियो । बंगलादेशले पहिलो हाफमा नै अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समय ४४औँ मिनेटमा बंगलादेशकी सविना खातुनले गोल गर्दै एक-शून्यको अग्रता दिलाउनुभएको थियो । नेपालका लागि ८३औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै बराबरी गर्नुभएको थियो । सावित्रा भण्डारीले दिएको पासलाई रेखाले हेड गर्दै गोलमा परिणत गर्नासाथ खेल बराबरीमा पुर्‍याउनुभएको थियो ।

दक्षिण एसियाली देश नेपाल र बंगलादेशले यसअघिका दुवै खेल गुमाइसकेकाले यो खेल प्रतिष्ठाको लडाइँमात्रै थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल भियतनामसँग दुई-शून्य र अर्को खेलमा जापानसँग आठ-शून्यले पराजित भएको थियो । बंगलादेशको पनि एसियाड यात्रा सुखद हुन सकेन । पहिलो खेलमा जापानसँग आठ-शून्यले हार बेहोरेको बंगलादेशले भियतनामसँगको खेल छ-एकले गुमाएको थियो ।

तेक्वान्दोमा पदकविहीन
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपाल पदकविहीन बनेको छ । बिहीबार भएको ८० किलोमाथिको तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसित पराजित हुनुभयो । उहाँ दुई–शून्य अंकले पराजित हुनुभएको हो । यादवको पराजयसँगै नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । तेक्वान्दोबाट ११ खेलाडी सहभागी हुनुभएको थियो । यसअघि ४९ किलो तौल समूहमा अञ्जली तामाङ र ६३ किलो तौल समूहमा गोविन्द आले पराजित हुनुभएको थियो । सन् २००६ पछि नेपालले तेक्वान्दोमा पदक जित्न सकेको छैन । त्यसअघि भने नेपालले एसियाली खेलकुदमा तेक्वान्दोबाट एक रजत र १३ कांस्य प्राप्त गरेको थियो । ।

ब्याडमिन्टन
१९औँ एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा नेपालको पुरूष टोलीले विजयी सुरुवात गरेको छ । नेपालले मंगोलियालाई तीन-एक सेटले पराजित गरेको हो । प्रिन्स दाहाल र सुनिल जोशीको जोडी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । विष्णु कटुवाल र प्रिन्स दाहालको जोडी पुरुष डबल्समा पनि विजयी भएको छ । महिला टिम इभेन्ट्समा भने नेपाल माल्दिभ्ससित तीन-एक सेटले पराजित भएको छ । महिला डबल्समा नेपालकी रसिला महर्जन र अनुमाया राईको जोडी पराजित भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?