‘कालोबजारी गर्ने ठूला व्यापारी, कारबाही सानालाई’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बजार अनुगमनका नाममा व्यवसायीलाई आतंकित बनाउन नहुने सरोकारवालाले बताएका छन् । आइतबार ललितपुरमा आयोजित राष्ट्रिय उपभोक्ता मञ्चको १८ औँ वार्षिक साधारणसभा तथा स्थापना दिवसका अवसरमा बोल्दै उनीहरूले यस्तो बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बजार अनुगमनका नाममा साना व्यवसायीलाई आतंकित पार्ने काम गरेको आरोप लगाउनुभयो । विद्यमान उपभोक्ता ऐन व्यवसायी र उपभोक्ता दुवैको प्रतिकूल रहेको भन्दै ऐनमा सुधारको आवश्यकता औँल्याउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अहिलेको उपभोक्ता ऐनले उपभोक्ताको हित गर्दैन, साधारण खुद्रा व्यापारीलाई दुःख दिएर उपभोक्ताको हक अधिकार संरक्षण हुँदैन ।’

‘काठमाडौंका व्यापारी त बरु सुसाइट गर्छन्, कालोबजारी गर्दैनन्, कालोबजारी गर्ने त ठूला व्यापारी हुन् तर त्यो ठाउँसम्म सरकार पुग्नै सक्दैन ।’

त्यसैगरी साल्ट टे«डिङ कर्पोरेसनकी कार्यकारी निर्देशक तथा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष उर्मिला श्रेष्ठले पनि अनुगमन गर्ने नाममा आतंकमात्र मच्चिने गरेको भन्दै अनुगमनको मोडलमा सुधारको आवश्यकता औँल्याउनुभयो । उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘जहिले पनि चाडबाड आउँदामात्र अनुगमन गर्ने गरिन्छ । साथै एउटा संस्थाले मात्र नभई विभिन्न संस्थाले अनुगमन गर्छन् । अनुगमन व्यवस्थित पनि छैन, अनुगमनका नाममा आतंक मच्चाएरमात्र हँुदैन ।’ कालोबजारी ऐनलाई लिएरमात्र व्यापारीलाई कारबाही गर्न नहुने र एकजनाले बदमासी गर्दा सबै व्यापारी उस्तै हुन् भन्ने सोच पनि राख्न नहुने उहाँको भनाइ थियो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बदमासी गर्ने ठूला व्यापारी भए पनि सरकारको अनुगमन ठूला व्यापारीसम्म पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले अनुगमनका नाममा साना व्यापारीलाई अनावश्यकरूपमा आतंकित पारेको छ, साना व्यापारीले कालोबजारी गर्नै सक्दैनन्, अझै काठमाडौंका व्यापारी त बरु सुसाइट गर्छन्, कालोबजारी गर्दैनन्, कालोबजारी त ठूला व्यापारीले गरेका छन् तर त्यो ठाउँसम्म सरकार पुग्दैन, कारबाही पनि गर्दैन । ठूला व्यापारीसँग नियमनकारी निकाय नै डराउने गरेको अवस्था छ ।’

मञ्चका उपाध्यक्ष अधिवक्ता पुष्पराम पौडेलले प्रभावकारी अनुगमनका लागि नीतिगत सुधारमा जोड दिनुभयो । संघीयतासँगै बजार अनुगमनको अधिकार स्थानीय तहमा गए पनि बजार अनुगमनका सवालमा स्थानीय तहहरू निष्क्रिय देखिएको उहाँको भनाइ थियो ।
सो अवसरमा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता निम्सिना भट्टराई, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका साथै सांसदहरूले पनि संयमित, व्यवस्थित र प्रभावकारी बजार अनुगमनमा जोड दिएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?