अनावश्यक दबाब नदिन आइएमएफलाई ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)लाई आग्रह गरेको छ । मंगलबार आइएमएफ प्रतिनिधिमण्डलसँग छलफल गर्दै सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले यस्तो आग्रह गर्नुभएको हो । सिएनआई र आइएमएफबीच अर्थतन्त्र सुधारका लागि हुनुपर्ने कोषको भूमिका, उद्योगी व्यवसायीले भोगेको समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा छलफल भएको सिएनआईले जनाएको छ ।

सो अवसरमा सिएनआई अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता रहेकाले अन्य मुलुक वा सिद्धान्तका उपाय नेपालको अर्थतन्त्रमा हुबहु लागू नहुने र अनावश्यक दबाबसमेत दिन नहुनेमा कोषको ध्यानाकर्षण गराउनुभएको थियो । पेट्रोलियम पदार्थ र वस्तु आयात हुँदाको असर मूल्यवृद्धिमा पर्ने हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न ब्याज बढाउनुमात्रै उपयुक्त कदम नहुन सक्ने अग्रवालको भनाइ थियो ।

अर्थतन्त्रमा वस्तुको माग सामान्य अवस्थामा हुँदा ब्याजले खासै असर नगर्ने तर उद्योग क्षमताको ३० प्रतिशतमा सञ्चालन हुँदा धेरै असर गर्ने उहाँले बताउनुभयो । मुद्रास्फीति नियन्त्रण गर्न, समग्र माग घटाउन ब्याज बढाउने नीति अवलम्बन गर्दाको असर अर्थतन्त्रमा परेको पनि अग्रवालले बताउनुभयो । कोरोनापछि उचित सुपरीवेक्षण अभावमा केहीमात्रामा कर्जा दुरूपयोग भएको देखिए पनि कोरोनापछि नियामकीय निकायले विस्तारै लिनुपर्ने नीति छोटो समयमै परिवर्तन गर्दा समस्या उत्पन्न भएको उहाँको भनाइ थियो ।

अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकको नीति, निर्देशन बैंकहरूलाई संरक्षण गर्ने खालको मात्रै भएको बताउनुभयो । राष्ट्र बैंक र कोषबीचको सम्झौतामा तरलता समस्या समाधानका लागि कर्जा पुनर्संरचना गर्न दिने भनिएको तर राष्ट्र बैंकको पछिल्लो नीति सो विपरीत रहेको उहाँले बताउनुभयो । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि समग्र माग बढाउने नीति लिनुपर्ने र त्यसका लागि ब्याज घटाइनुपर्नेमा पनि अग्रवालले जोड दिनुभएको थियो ।

आइएमएफका इसिएफ मिसन प्रमुख टिडियन किन्डा, नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजलगायतका टोलीले चालुपुँजी कर्जा मार्गदर्शन लागू गरेपछि उद्योगी व्यवसायीलाई परेको असर, सुधारका लागि सिएनआईका धारणालगायतका विषयमा छलफल गरेका थिए । छलफलमा सिएनआई, बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई र महानिर्देशक दीपकराज जोशीलगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?