रोजगारीको झुटो विज्ञापन गरेर ११ करोड ठगी

रमेश भारती
Read Time = 7 mins

काठमाडौं । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय भ्रमात्मक विज्ञापन गरेर ठग्ने क्रम बढेको छ । आर्थिक वर्ष सुरु भएयता सात सय ६४ वटा ठगीका उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीमा सात लाखभन्दा बढी कामदारले श्रम स्वीकृति लिँदा सात सय ६४ वटा ठगीका उजुरी परेको विभागको मुद्दा शाखाले जानकारी दिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा दुई सयभन्दा बढी हो । गत आर्थिक वर्ष २०७९÷०८० मा विभागमा चार हजार चार सय ६४ ठगीका उजुरी परेका थिए । जसमध्ये विभागले १७ सय ५१ उजुरीको फैसला गरेको थियो । अघिल्लो आर्थिक वर्षमा तीन हजार नौ सय ४३ उजुरी परेका थिए ।

युरोपका देश पोल्याण्ड, क्रोएसिया, माल्टा, रोमानियाजस्ता देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगीमा परेका चार सय ५२ वटा उजुरी विभागमा परेका छन् । युरोपको रोजगारीमा पठाइदिने प्रलोभन देखाएर म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्ट र व्यक्तिले प्रतिकामदार दुईदेखि पाँच लाख रुपैयाँसम्मका ठगीका उजुरी परेको विभागले जनाएको छ ।

दुई सय ६० उजुरी भने एजेण्टबाट ठगी भएका छन् । म्यानपावर कम्पनीविरुद्ध एक महिनामा एक सय ३० उजुरी परेका छन् । विभागका अनुसार युरोपको रोजगारीका नाममा चालु आर्थिक वर्ष सुरु भएको दुर्ई महिनामा ११ करोड रुपैयाँसम्म ठगी भएको छ । युरोपका देश वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर प्रतिकामदार पाँच लाखसम्म ठगीमा परेको उजुरी लिएर पीडित आउने गरेको विभागले जनाएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि सबैभन्दा धेरै ठगी युरोप रोजगारीको नाममा भएको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

तुलनात्मकरूपमा म्यानपावर कम्पनीभन्दा व्यक्तिगत तवरबाट रोजगारीका नाममा ठगी भएको सूचना अधिकारी उप्रेतीको भनाइ छ । उहाँले भन्नुभयो, ‘युरोपका कतिपय देशमा नेपाली नियोग नहुनु र भएका नियोगबाट पनि मागपत्र प्रमाणीकरणको काम नहुँदा युरोप रोजगारीमा संस्थागतरूपमा म्यानपावर कम्पनीले पठाउन नसकेको अवस्था छ । पछिल्लो समय युरोपेली देशमा नेपाली श्रमिकको माग बढ्दो छ । त्यही भएर पनि ठगी नियन्त्रण गर्न समस्या भइरहेको छ । वैदेशिक रोजगारीको विज्ञापन गरी एजेण्ट तथा कन्सल्टेन्सी, ट्राभल एजेन्सीहरूले व्यक्तिगतरूपमा युरोप पठाइरहेका छन् । जसका कारण मानव तस्करीसमेत मौलाइरहेको छ । नेपालबाट मात्र नभई विदेशबाट पनि विज्ञापन गरी ठगी भइरहेको छ ।’

भारत हुँदै खाडीका देश, मलेसिया, युरोपेली मुलुक, अफ्रिका, अमेरिका, अष्ट्रेलिया र क्यानडा रोजगारीमा जाने प्रलोभनमा धेरै कामदार ठगिने गरेको विभागले जनाएको छ । विभागले वैदेशिक रोजगारीमा जान इच्छुक सम्पूर्ण युवालाई सामाजिक सञ्जालका भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न सचेत गराएको छ । संस्थागतरूपमा एक सय १० देश र व्यक्तिगतरूपमा एक सय ७२ देशमा वैदेशिक रोजगारीका लागि नेपाली कामदार जाने गरेको श्रम मन्त्रालयको तथ्यांक छ । सरकारी अध्ययनहरूले खाडी मुलुक जान लाग्ने लागतभन्दा युरोप जान २० गुणासम्म बढी पैसा म्यानपावरहरूले कामदारसँग असुल्ने गरेको देखाएको छ ।

युरोप रोजगारीमा जाने कामदारसँग म्यानपावर कम्पनीले ८० देखि ९० हजारमात्र लागत खर्च लिन पाउने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ तर आठदेखि ११ लाखसम्म असुल्ने गरेको विभागले जनाएको छ । ४७ लाखभन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीमा कार्यरत छन् । जसमा ८५ प्रतिशत श्रमिक मलेसिया तथा खाडीमा रोजगारीमा जाने गरेको विभागको तथ्यांक छ ।

युरोपियन मुलुकमा पाँच प्रतिशत युवामात्र जाने गरेका छन् । युरोप जाने धेरै कामदार संस्थागतभन्दा व्यक्तिगत भिसामा जाने गरेका छन् । नेपाली कामदारले नयाँ-नयाँ रोजगार गन्तव्य आफैं खोजेर जाने गरेको पाइन्छ । हाल नेपालीहरू एक सय ८९ देशमा रोजगारीका लागि पुग्ने गरेको सरकारी तथ्यांक छ ।

जर्मनी र रोमानियासँग पनि श्रम सम्झौता हुँदै
सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ती दुर्ई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र सोसम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरतसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई तोकेको छ ।

त्यस्तै, सरकारले नेपाल र स्विट्जरल्याण्ड तथा नेपाल र रुवाण्डाबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति दिएको छ भने नेपाल र मलेसियाका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?