निरन्तरको साधनाले नै सफलता दिलाउँछ : हेमन्त शिशिर, गायक

गीता अधिकारी
Read Time = 6 mins

प्युठानमा स्थायी घर हुनुभएका हेमन्त शिशिर यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । ६०० को हाराहारीमा गीत श्रोता/दर्शकमाझ पस्किनुभएको दाबी गर्ने हेमन्तका ‘तिमीबिना सक्दिन म, हे भगवान्, जसको दिलमा, किन तिमीलाई के भयो र, तिम्रो सम्झनामा, धेरै माया गर्छौ मलाई तिमीले, देख्न मन लाउन्या’ जस्ता गीत औधी मन पराइएका छन् । गायनसँगसँगै कम्पोज, एरेन्जमा पनि उत्तिकै दखल राख्ने हेमन्त गायक बन्न पहिलो कुरा त गड गिफ्ट स्वर हुनुपर्ने बताउनुहुन्छ । निरन्तर सिकेर, अभ्यास गरेरमात्र एउटा राम्रो गायक बन्न सकिन्छ भन्ने मान्यता राख्ने उहाँ निरन्तरको साधनाले नै सफलता दिलाउँछ भन्नुहुन्छ । आफूसँग भएको प्रतिभालाई खारेर पूर्णता दिन सक्नुपर्छ भन्ने गायक हेमन्त शिशिरसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-

हाल केमा व्यस्त हुनुहुन्छ ?
म यतिबेला नयाँ एल्बमको तयारीमा छु । यसको रेकर्डिङको काममा व्यस्त छु ।

यो क्षेत्रमा के कुराले तान्यो र लाग्नुभयो ?
मेरो सानैदेखि गीत गाउनमा रुचि थियो र स्कुलमा हुने विभिन्न प्रतियोगितामा भाग लिन्थेँ । यस्ता प्रतियोगितामा म प्रायः प्रथम हुन्थँे । सबैले राम्रो छ भनेर तारिफ गर्नुहुन्थ्यो । यसैक्रममा गीत रेकर्डिङ गर्नका लागि भनेर काठमाडौं आएँ । गीत रेकर्ड पनि गरियो । त्यसपछि निरन्तर यही क्षेत्रमा आफूलाई समर्पित गरेको छु ।

अहिलेसम्म कति गीत गाउनुभएको छ ?
हजुर, ठ्याक्कै हिसाब गरेको त छैन । यस्तै लगभग ६ सयको हाराहारीमा गीत गाएको छु ।

यहाँको स्वरमा रहेका केही गीतको नाम लिनुपर्दा ?
‘तिमीबिना सक्दिन म, हे भगवान्, जसको दिलमा, किन तिमीलाई के भयो र, तिम्रो सम्झनामा, धेरै माया गर्छौ मलाई तिमीले, देख्न मन लाउन्या’ जस्ता धेरै रहेका छन् ।

धेरैै गीत गाउनुभयो, हेमन्त शिशिर भनेर कुन गीतले चिनायो भन्ने लाग्छ ?
मेरा प्रायः सबै गीत श्रोता/दर्शकले मन पराउनुभएको छ । त्यसमध्येमा पनि तिमीबिना सक्दिन म, हे भगवान् जस्ता गीतले मलाई हेमन्त शिशिर भनेर चिनाए भन्ने लाग्छ ।

तपाईं त कम्पोजर, एरेञ्जर पनि हो नि ?
हजुर, गायनसँगसँगै कम्पोज र एरेन्ज पनि गर्ने गरेको छु ।

पछिल्लो समय गीत संगीतको बजार कस्तो पाउनुहुन्छ ?
राम्रो छ । नयाँ-नयाँ प्रविधिअनुसार गीत संगीतको बजार बढ्दै छ ।

यो क्षेत्रमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
यो क्षेत्रमा लागेर मैले दर्शक/श्रोताको माया पाएको छु । यो क्षेत्रले गर्दा नै हेमन्त शिशिर नाम पाएको छु । गुमाउन त त्यस्तो केही गुमाए जस्तो लाग्दैन मलाई ।

नेपाली गीत संगीत क्षेत्रमा कस्तो योगदान पुर्‍याए भन्ने लाग्छ ?
म गायक भएको हैसियतले थोरै भए पनि नेपाली गीत संगीत क्षेत्र अलि फराकिलो होस् भनी देश विदेशसम्म निरन्तर कर्म गरिरहेको छु । म निरन्तर आफ्नो क्रममा खटिरहनेछु । के कति योगदान पुर्‍याएँ भन्दा पनि म आफू मेरो कर्ममा निरन्तर लागिरहेको छु ।

यहाँलाई धेरै मानसम्मान, पुरस्कार र अवार्डहरू पनि प्राप्त भएका छन् नि ?
निरन्तर काम गर्दै जाँदा, मेरा प्रस्तुतिले चर्चा पाउँदै गर्दा विभिन्न मानसम्मान, पुरस्कार र अवार्ड प्राप्त भएका छन् । डाइमण्ड म्युजिक अवार्ड २०८०, नेपाल म्युजिक फेसन अवार्ड २०२३ लगायतका छन् ।

एउटा राम्रो गायक हुनका लागि महत्वपूर्ण कुरा अर्थात् नभइनहुने कुरा के हो ?
मलाई के लाग्छ भने पहिलो कुरा त गड गिफ्ट स्वर हुनुप¥यो । अनि निरन्तर सिकेर, अभ्यास गरेर मात्र एउटा राम्रो गायक बन्न सकिन्छ । निरन्तरको साधनाले नै सफलता दिलाउँछ । आफूसँग भएको प्रतिभालाई खारेर पूर्णता दिन सक्नुपर्छ भन्ने लाग्छ ।

यो क्षेत्रमा नआएको भए यहाँ कहाँ हुनुहुन्थ्यो होला ?
सायद कुनै व्यापार गर्थें होला । खेलकुदमा पनि रुचि थियो, खेलाडी हुन सक्थेँ होला ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?