युरोपियन मुलुक रोमानियासँग श्रम सम्झौता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल र युरोपेली देश रोमानियाबीच द्विपक्षीय श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र समकक्षी सिमोना वुक्युरा-अप्रेस्क्युले श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । श्रम सम्झौताका लागि रोमानिया पुग्नुभएका श्रममन्त्री र समकक्षी सिमोना वुक्युराबीच सम्झौता भएको श्रम सचिव केवलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

युरोपेली मुलुकसँग कामदार आपूर्ति गर्न पहिलोपटक नेपालले श्रम सम्झौता गरेको पनि उहाँले बताउनुभयो । रोमानियामा वार्षिक सात हजार कामदार पठाउन सक्ने गरी श्रम सम्झौता गरिएको उहाँको भनाइ छ । श्रम सम्झौताअनुसार नेपालबाट जाने कामदारको लागत खर्च कम्पनीले बेहोर्नेछ भने कामदारको रोजगारी ग्यारेन्टी, सामाजिक सुरक्षा अनिवार्य, महिला कामदारको हकमा सुरक्षा, कामदारलाई खान-बस्ने सुविधा, बिमा, तलब सुविधा, बोनस, अन्तर्राष्ट्रिय कानुनको पालन, रोमानियाको श्रमिकजस्तै नेपाली कामदारलाई सुविधा, मासिक-वार्षिक बिदा र अन्य सुविधा पाउने मन्त्रालयले जनाएको छ । रोमानिया म्यानपावर कम्पनीले कामदार पठाउने गरी श्रम सम्झौता भएको बताइएको छ । रोमानिया रोजगारीमा जाने कामदारले मासिक एक लाख रुपैयाँसम्म कमाउने गरेका छन् । रोमानियामा उद्योग, कृषि, होटल, सपिङ मल र अन्य क्षेत्रको वैदेशिक रोजगारीमा नेपाली कामदार जाने गरेका छन् ।

सरकारले आगामी मंगलबार जर्मनीसँग पनि श्रम सम्झौता गर्दैछ । जर्मनीसँग त्यहाँ श्रम हेर्ने विभागका प्रतिनिधि र नेपालको श्रम मन्त्रालयका प्रतिनिधिबीच श्रम सम्झौता हुने मन्त्रालयले जनाएको छ । रोमानिया र जर्मनीसँग श्रम सम्झौतापछि कार्यान्वयनको ढाँचा तय गर्न दुर्ई देशका प्रतिनिधि रहने गरी समिति बनाइने मन्त्रालयले जनाएको छ । गत मंगलबार मन्त्रिपरिषद् बैठकले उल्लेखित दुर्ई मुलुकसँग श्रम सम्झौता गर्न स्वीकृति दिँदै सो सम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री भण्डारीसहित श्रम सचिवको नेतृत्वको प्रतिनिधिमण्डललाई तोकेको थियो । तीन वर्षमा ११ हजारभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर रोमानिया रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?