एक दिन वाल्मीकि विद्यापीठका सहकर्मी मित्र अर्जुन अधिकारीले हाँस्दै भन्नुभयो ‘सँगै बसिन्छ चिया खाजा खाइन्छ केही बोलिन्छ पनि कतै लेखको पात्र भइन्छ कि भनेर शान्तिकृष्ण अधिकारी र तपाईंसँग डर लाग्न थालेको छ । तपाईंहरूका लेख आएपछि एकपटक तलमाथि पढ्ने गरेको छु कतै आफ्नै नाम पनि उल्लेख छ कि भनेर ।’ अनि हामी मुक्त किसिमको हाँसो हास्यौँ । कुरा गम्भीर पनि हो यसैगरी मित्रहरू डराउँदै जाने हो भने एक दिन एक्लो भइने निश्चित छ । विषयविनाको संसार छैन अनि समसामयिक विषयमा कलम चलाउने समयको लेखकले टिप्ने विषयवस्तु पनि यस्तै हुन् । अर्जुनजी नभए पनि अर्जुनजीजस्तै मित्रका कुराहरू त आउँछन् नै ।
कुरा भर्खरै सम्पन्न गरिएको बीपी साहित्य महोत्सवको हो । बीपीका आख्यानमा नारी भन्ने सेसनमा एकजना प्यानल डिस्कर्सनको प्रतिनिधि म पनि थिएँ । त्यस कार्यक्रमकी सहजकर्ता विदुषी, कविमित्र सीमा आभासले बीपी कोइरालाको मधेसतिर कथाकी पात्र विधवाको परिचय गराउने क्रममा लोग्ने मरेकी महिलालाई विधवा भनिएको र नेपालको सन्दर्भमा एकल महिला भनी भत्ता बाँडिने गरेको विषयप्रति असहमति जनाउँदै आजसम्म धेरै नारीहरूले सायद नभनेको एउटा कुरा भन्नुभयो । लोग्ने मरेकी नारीलाई सहानुभूति प्रकट गरेर जसरी राज्यले भत्ता बाँडिरहेको छ त्यो गलत छ । कुनै पनि नारीको लोग्ने मर्दैमा ऊ एकल महिला कसरी हुन्छे । उसको परिवारका अन्य सदस्यहरू रहेका हुन्छन् । छोराछोरी होलान्, बाबुआमा वा अन्य इष्टमित्र हुन्छन् ।
उसको जम्मा एउटा लोग्ने मरेको त हो नि । हामी नारीहरूले त्यो कुरालाई नबुझेर सरकारले दिएको दुई हजार भत्ता थापिरहेका छौँ र मख्ख परिरहेका छौँ । राज्यको यस्तो प्रकृतिको कानुन नै नारीकाप्रति विभेदकारी छ । अनि हामी नारीहरू पनि त्यसैलाई प्रश्रय दिएर अगाडि बढिरहेका छौँ भन्नुहुँदा सभाका केही नारी र पुरुषले पर्र्रर ताली पिटे । सायद केही मजस्ता पुरुष र केही नारीहरू गम्भीर पनि भए होलान् । नारी अधिकार र कर्तव्यका विषयमा राज्यको संविधान, कानुन र नारीको विद्यमान अवस्थाका विषयमा आफ्नो असहमति राख्ने यो अभिव्यक्ति ओजपूर्ण त हो तर कत्तिको सार्वभौम हो भन्ने कुरा विमर्शकै विषय हो । नारी अधिकारका मात्र कुरा होइन जातीय, वर्गीय, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक अधिकार र कर्तव्यका विषयमा पनि अब यसरी नै बहस हुनुपर्छ ।
एक थान लोग्नेको मृत्युको मूल्य सीमाजीले भनेजस्तै नै हो त ? जम्मा एकजना लोग्ने मर्दा जीवनमा फरक नपर्ने नै हो त ? आफ्नो जीवन साथी मरेर एक्लो भएका महिला वा पुरुषहरूलाई कुनै फरक नपर्ने नै हो त ?
त्यही सभामा बीपीका नारी पात्रहरूको अवस्था र स्थितिका बारेमा मैले बीपीका नारी पात्रले विद्रोह गरेका छन्, परम्परागत समाजको न्यायमाथि प्रश्न गरेका छन्, विमति प्रशस्त जाहेर गरेका छन्, एजेन्डा उठाएका छन् तर बीपीका नारी पात्रले न्याय पाएका छैनन् । सुम्निमाले सोमदत्तलाई पाएको भए न्याय हुन्थ्यो, इन्द्रमाया आफूले अघोर प्रेम गरेको प्रेमी पीताम्बरसँगै बस्न पाएको भए न्याय हुन्थ्यो, गौरीले नरेन्द्र दाइलाई पाएको भए न्याय हुन्थ्यो, कर्नेल्नीले कर्नेलबाटै यौन सन्तुष्टि पाएको भए न्याय हुन्थ्यो, फगुनीले सानुबाबु नै पाएको भए न्याय हुन्थ्यो, मोदिआइनले आफ्नो लोग्ने युद्धमा नमरेर प्रेम गर्न पाएको भए न्याय हुन्थ्यो, विधवाले गोरेसँगै बिहे गर्न पाएको भए न्याय हुन्थ्यो ।
उनीहरूका चाहना जतापट्टि झुकेका छन् तिनै कुरा तिनले प्राप्त गर्दा उनीहरूलाई सन्तोष मिल्थ्यो र त्यही नै सायद तिनीहरूप्रति न्याय हुन्थ्यो । अर्थात् चाहेको कुरा नपाउँदाको प्रतिक्रिया र पाउनुपर्छ भन्ने माग बीपीका नारी पात्रले जोडदार रूपमा उठाएका भए पनि उनीहरूले चाहेकै कुरा पाएका छैनन् । उनीहरूका अभियानले सामाजिक समर्थन पाउन सकेको छैन जुन आवश्यक थियो भन्ने मेरो तर्क हो । मैले यसो भनिरहँदा त्यहाँका महिला मित्रहरूले यो पनि पुरुष चेतना नै बोलेको हो । बीपीका नारीले गरेको विद्रोह उनीहरूले पाएको कुरा हो भन्ने तर्क गर्नुभयो । जब कि मेरो विचार बीपीका नारी पात्रका पक्षमा र नारी अधिकारकै पक्षमा अझ सबल अवस्थाको खोजीका निम्ति प्रयत्न थिए ।
यति कुरा भनेँ अवश्य हो मैले जे तर्क गरेको थिएँ त्यसको उत्तरमा आउने पात्र पुरुषहरू नै थिए । अर्थात् बीपीका नारी पात्रहरूले पुरुषलाई उपेक्षा गरेका छैनन् बरू पुरुष पात्रको खाँचो अवुभव गरेका छन् । यद्यपि यी मेरा विचार मेरा निजी हुन् तर्क गर्ने धेरै कोणहरू हुन्छन् । हामी बहुल विचारलाई साथै लिएर हिँड्नेहरूले हरेक चुनौतीलाई आमन्त्रण गरेरै हिँडेका हुन्छौँ । मेरा विचार नै मान्य हुनुपर्छ भन्ने मेरो दावी कत्ति छैन ।
ठीक त्यही सभामा सीमाजीले लोग्ने मर्नु केवल एकजना पुरुषमात्रै मर्नु हो भनेपछि मलाई त्यो विचार पनि सर्वपक्षीय भएन कि भन्ने पनि लागेको हो । अरू धेरैलाई के लाग्यो तर मलाई यो भनाइ केही गम्भीर लागेकै हो । निश्चय पनि लोग्ने मर्दा स्वास्नी र स्वास्नी मर्दा लोग्नेको जम्मा एकजना व्यक्ति मरेको हुन्छ । परिवारको संख्या गन्दा त्यो एक जना लोग्ने वा स्वास्नी केही पनि होइन । त्यसो हो भने जम्मा एक थान लोग्ने मर्दा स्वास्नीलाई अनि जम्मा एक थान स्वास्नी मर्दा लोग्नेलाई केही फरक नपर्ने नै हो त ? सरकारले भत्ता दिनु वा एकल महिलाले भत्ता लिनु त्यो सरोकारवालाको आर्थिक हैसियतको कुरा भयो, इच्छाको पनि कुरा भयो । लिन चाहे लिए भयो नलिन चाहे नलिए भयो ।
कहिलेकाहीँ लाग्छ हाम्रो स्वतन्त्रताको चाहना लोभलाग्दो, रहरलाग्दो मात्रै होइन भयलाग्दो पनि बन्दै गइरहेको छ । अधिकार र स्वतन्त्रताको खोजीमा परिवर्तनलाई आत्मसात गर्दागर्दै कतै हाम्रो जीवन यान्त्रिक, कठोर र हृदयहीन बन्दै गइरहेको त छैन ?
तर, एक थान लोग्नेको मृत्युको मूल्य सीमाजीले भनेजस्तै नै हो त ? जम्मा एक जना लोग्ने मर्दा जीवनमा फरक नपर्ने नै हो त ? आफ्नो जीवन साथी मरेर एक्लो भएका महिला वा पुरुषहरूलाई कुनै फरक नपर्ने नै हो त ? नारी वा पुरुषले आफ्नो सहयात्री छुटेको अवस्थामा पनि म एकल होइन, म एक्लो छैन, मसँग समाज छ, परिवार छ, इष्टमित्र छन्, स्वजन र आफन्त छन् । एकजना व्यक्तिको साथ छुट्दैमा म कहाँ एकल बनेको छु र मलाई समाजबाट अलग्याउन एकल भन्ने जुन विभेदक रेखा कोर्न खोजिएको छ त्यो मलाई मान्य छैन भनिएको विषयमा मेरो समर्थन छ किमार्थ विमति छैन ।
यसरी आफूलाई स्थापित गर्न प्रयत्न नगर्ने हो भने हाम्रो समाजले हामीलाई किनारा लगाउँदै जान्छ । मूल धारबाट हटाउँछ, उपेक्षा गर्छ, झन् बाँच्न नसक्ने पार्छ । समाजका सामु बलियो खुट्टाले उभिन हामीसँग त्यत्तिको आँट चाहिन्छ । त्यति मात्र पनि होइन सकिन्छ भने लोग्ने वा स्वास्नी मरेको शोकमा एकल भत्ता खाएर निरीह बाँच्नु, बाँच्नु होइन । आफूलाई बाँचेको प्रमाणित गर्नु छ भने सरकारले सहानुभूतिस्वरूप बाँडेको दुई हजार लिएर नबाँच भन्ने हकमा मित्र सीमाजीका अभिव्यक्तिमा मेरो पूर्ण समर्थन छ । तर, यसका पनि केही अवस्था र परिस्थिति हुनछन् । पहिलो कुरा सबै एकल महिला वा पुरुषले सीमाजीले जस्तो सोच्न सक्दैनन् ।
दोस्रो सबैको आर्थिक हैसियत सबल हुँदैन । तेस्रो सबैको अवस्था पनि एकनासको हुँदैन । चौथो सबैको उमेर एकनासको हुँदैन । उमेर ढल्किएपछि एकल हुँदा वा मनमा क्रान्तिको आगो नबल्नेहरूका निम्ति वा आर्थिक अवस्था राम्रो नभएका अवस्थामा दुई हजार भत्ता पनि महत्वपूर्ण हुन सक्छ । म यति कुरा केवल भौतिक पक्षलाई जोडेर गर्दैछु । मेरो आशय भौतिक अवस्थाको परिचय दिनु होइन । कुरा आत्मिक वा अभौतिक प्रेमको हो । हुन अब आत्मिक प्रेमका कुरा पनि एकादेशका कथा बनिरहेका छन् । तापनि आदर्शको मृत्युको कल्पना हाम्रो लक्ष्य हुनुहुँदैन । विवाह भनेको सम्झौता हो भन्नेहरूले मनमुटुको गहिराइ नबुझ्न सक्छन् तर सबै मानिसले जीवनमा विवाहलाई भौतिक खाँचोमात्रैले नहेरेका हुनसक्छन् ।
उनीहरूका जीवनमा जीवनसाथीको मूल्य र महत्त्व अरू धेरै भौतिक आवश्यकताभन्दा उच्च हुन सक्छ । जसले जीवनलाई आदर्श, मूल्य र प्रेमको आँखाले हेरेको छ उसको निम्ति एकथान लोग्ने वा स्वास्नी मर्नु आफू पनि आधा मर्नु अथवा प्रेमको मृत्यु पनि हुनसक्छ । पति मर्दा पत्नीलाई र पत्नी मर्दा पतिलाइ सर्वस्व गुमेको लाग्ने पनि हुन सक्छ । त्यस्तो बेला लोग्ने एक थान लोग्ने मात्र नरहन सक्छ ।
मित्र सीमा आभासले सभामा त्यस्तो लोकप्रिय अभिव्यक्ति दिइरहँदा त्यस सभामा एकल महिला वा पुरुष हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो त्यो थाहा भएन । भत्ताको कुरा हुँदै होइन के लोग्नेको मृत्यु जम्मा एक जना लोग्ने नहुनु मात्रैको तहको क्षति हो त ? सायद त्यसो हुँदो हो त ?
महिला र पुरुष अनि पति र पत्नीका बीचको आदर्श सम्बन्ध, सहयात्राको सुन्दर संसारको परिकल्पना, सहवासका खुसी र उमङ्ग, आदर्श परिवार, व्यक्ति र नैतिक समाजको सामाजशास्त्रीय व्याख्याको पनि खास औचित्य रहँदैनथ्यो होला । जसरी हामीले दायाँबायाँ नसोचिकन क्रान्ति र परिवर्तनका खरा अभिव्यक्तिहरू दिइरहेका हुन्छौँ त्यसबेला समवेदनाका कोमल भाव हामीसँग नरहेकै अवस्था हो त ?
कहिलेकाहीँ लाग्छ हाम्रो स्वतन्त्रताको चाहना लोभलाग्दो, रहरलाग्दो मात्रै होइन भयलाग्दो पनि बन्दै गइरहेको छ । अधिकार र स्वतन्त्रताको खोजीमा परिवर्तनलाई आत्मसात गर्दागर्दै कतै हाम्रो जीवन यान्त्रिक, कठोर र हृदयहीन बन्दै गइरहेको त छैन ? निश्चय पनि बाँच्नुको विकल्प छैन जसरी पनि बाँचिन्छ । लोग्ने नभएर पनि बाँचिन्छ, स्वास्नी नभएर पनि बाँचिन्छ अझ राम्ररी पनि बाँचिएला तर लोग्ने र स्वास्नी नामको संस्थाको जुन मूल्य रहेको छ । जुन संस्कृति रहेको छ, जुन आदर्श रहेको छ, जुन प्रतिष्ठा रहेको छ त्यसको क्षतिपूर्ति सायद अरू कुनै कुराले गर्दैन ।
विवाह एक संस्कार हाे। आज याे संझाैता वनाईएकाे छ। स्वतन्त्रताका नाममा अराजकता पनि भित्रिएको छ। यस सन्दर्भमा यहाँको सान्दर्भिक,मार्मिक र यथार्थपरक लेख सुन्दर लग्याे।