एशियाली महाकुम्भ : खालीहात फर्किनु परेन

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ खुशराज दाहाल
हाङझाव, चीन । खेलकुदको एशियाली महाकुम्भमा रित्तो हात फर्कनुपर्ने आशंकाबीच कराते खेलाडी एरिका गुरुङले रजत पदक दिलाएर इतिहास बनाउनुभएको छ । थोरै ठूला उपलब्धिमध्ये नेपालका लागि कराते खेलाडी एरिका गुरुङले रजत पदक प्राप्त गर्नुभएको छ । करातेले यसअघि दुई कांस्य प्राप्त गरेको भए पनि यसपटक रजत पदक हात पारेको छ । यस्तै, पहिलोपटक सहभागी भएको महिला कबड्डीले पनि कांस्य पदक प्राप्त गरेको छ । नेपाललाई रित्तो हातबाट जोगाउने र अन्तर्राष्ट्रिय जगतमा खेलमार्फत स्थापित गराउने खेलाडीहरू बधाईका पात्र भएका छन् ।

एशियाली महादेशको खेल महाकुम्भ यतिबेला चीनको पर्यटकीय नगरी हाङझावमा सम्पन्न हुने चरणमा छ । ४५ देशका १२ हजार बढी खेलाडीहरूले आफ्नो देशका लागि पदक लिने प्रयास गरिरहेका थिए । हजारौँ दर्शकलाई साक्षी राख्दै खेलाडीहरू देशको प्रतिष्ठा उँचो बनाउने दौडमा रहँदा नेपालले एक रजत र एक कांस्य पदक प्राप्त गरेको छ । १९औँ संस्करणसम्म आइपुग्दा नेपालले तीन रजतसहित २३ कांस्य पदक प्राप्त गरेको छ ।

हालसम्म तेक्वान्दोकी सविता राजभण्डारी, प्याराग्लाइडिङ टिम र करातेकी एरिका गुरुङले रजत पदक दिलाउनुभएको छ । यस्तै, कांस्यमा बक्सिङ ६, तेक्वान्दो १४, कराते दुई र अहिले कबड्डीमा एक कांस्य पदक प्राप्त भएका छन् ।

नेपालबाट २९ खेलमा २५३ जना खेलाडीसहित प्रशिक्षक, व्यवस्थापक र केही अफिसियलसहित करिब चार सय जनाको नेपाली टोली यतिबेला हाङझाउ पुगेको थियो । प्रतियोगितामा सहभागी हुने खेलाडीप्रति सबैका आँखा सोझिएका थिए । तर, विपक्षी विरुद्धको लडाइँमा नेपाली खेलाडीहरू निकै कमजोर सावित हुँदै गए ।

नेपाली खेलाडीहरूको क्षमतालाई लिएर यतिबेला छलफल हुनु स्वाभाविक हो । किन र कसका कारण नेपाली खेलाडीहरूको प्रदर्शन उच्च कोटीको हुन सकेन भन्ने कुरामा अब राज्यका तर्फबाट नै छलफल आवश्यक छ । कसैलाई आरोपित गरेर खुसी हुनेभन्दा कहाँ चुक्यौँ भन्ने पक्षबाट सकारात्मक बहस हुनुपर्दछ । पदक प्राप्तिका लागि केही महिनाको प्रशिक्षण हैन कि केही वर्ष देखिको अभ्यास जरुरी हुन्छ । त्यसका लागि बजेट पहिलो प्राथमिक पक्ष हो । तर, खेलेर पनि खान पाइन्छ र ? भन्ने नेपाली चिन्तन आज पनि कायम छ । नीति बनाउनेदेखि बजेट व्यवस्थापनमा ध्यान नदिने र नतिजामा औँला उठाउने पद्धतिको अन्त्य गरिनुपर्दछ ।

पर्याप्त समयका बीच योजनाबद्ध रूपमा तयारी गरेको भए नेपाली खेलाडीहरूले देशको शान बढाउने थिए भन्ने कुरा धेरै खेलाडीहरूको प्रदर्शनबाट अनुमान गर्न सकिन्छ । छोटो समयको बन्द प्रशिक्षणबाट खेलाडीहरूले पर्याप्त अनुभव लिन सफल भएका छन् ।
बक्सिङका रवीन थापाले पहिलो राउण्डमा विजय हात पार्नुभएको थियो भने दोस्रो चरणको खेलमा कडा प्रतिस्पर्धामा पराजित हुनुभएको थियो । यस्तै, चन्द्रकला थापा विजयी भएको अनुमान दर्शकदीर्घाबाट भए पनि निकै कम अन्तरमा पराजित हुनुभएको थियो । पदक नै प्राप्त नभए पनि विगतका प्रतियोगिताहरू भन्दा निकै रोचक भिडन्त भएको थियो । यस्तै, क्यानोइङका खेलाडीले पनि फाइनल राउण्ड खेल्न सफल भए ।

आम चासोको क्रिकेटमा नेपालले यस एशियाडमा नयाँ कृतिमान बनाउन सफल भएको छ । यस्तै, स्वर्टरफाइनलमा भारतसँगको पराजयमा आम दर्शकले खेलाडीहरूको खुलेरै प्रशंसा गरेका छन् ।

महिला साफ फुटबलमा बंगलादेशसँगको खेल र एशियाडका सोही टिम बीचको प्रतिस्पर्धामा आकाश जमिनको फरक रह्यो । साफ च्याम्पियनसिपमा पराजित भएको नेपाली टोली यसपटक बराबरीको अवस्थामा पुग्नुलाई असफलता भनिँदैन । यस्तै, विश्वकपमा सहभागी टिम जापानसँगको खेलको तुलना गरेर प्रतियोगिताको समिक्षा गर्नु उपयुक्त हुँदैन ।

यस्तै, केही खेलमा भएको सहभागिता र प्रदर्शनमाथि प्रश्न उठनु स्वाभाविक हो । तर, यथार्थ के हो भन्ने पक्षबाट पनि ध्यान दिनु जरुरी छ । कतिपयले सहभागी खेल र खेलाडी संख्यामाथि पनि प्रश्न गरेको अवस्था छ । सामान्य रूपमा स्वाभाविक होला । तर, यथार्थमा फरक हुन्छ ।

खेलाडीहरूले कुन उद्देश्यका लागि खेल्ने भन्ने प्रश्नको उत्तर खोज्ने हो भने सहभागिताको संख्या कम हुन जान्छ । आफ्नै देशभित्र मात्र खेल्ने हो भने अन्तर्राष्ट्रिय पदक र प्रतिष्ठाका लागि गरिने रोदनको औचित्य हुने छैन । खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा नगराई क्षमताको मापन कसरी गर्ने ? अनुभवका लागि पनि जति सक्यो धेरै खेल र खेलाडी सहभागी गराउन आवश्यक हुन्छ ।
ठूलो संख्यामा खेलाडी सहभागी गराई खर्च बढाएको जस्ता कुराले खेलकुदको औचित्य पूरा हुन सक्दैन ।

१९औँ तयारी अठारौँ एशियाड सकिनासाथ गर्नुपर्ने हुन्थ्यो । तर, दुई वर्ष पहिला आएको सदस्य सचिवले गरेको तयारी कति पूरा हुन सक्छ ? बजेट बिनातयारी पनि हुन सक्दैन । परिषद्मा सदस्य सचिवको रूपमा आएका टंकलाल घिसिङले पहिलो प्राथमिकता एशियाडको तयारीलाई नदिनुभएको होइन । तर, अदालती प्रक्रियाले गर्दा ६ महिनासम्म काम हुन सक्नुभएन । अदालतको फैसलापछि वैशाखबाट एशियाडलाई प्राथमिकता दिँदै खेलाडी छनोट र बन्द प्रशिक्षण सुरु गराउनुभएको थियो ।

कहाँ कमी कमजोरी भयो त भन्ने कोणबाट हेर्दा
१) एशियाड खेलकुदका लागि करिब २९ करोड बजेट राष्ट्रिय खेलकुद परिषद्ले प्रस्ताव गरेको थियो । तर बजेट बक्तव्यमा दुई करोड विनियोजन भएपछि एशियाडको तयारी रोकिएन तर उत्साह भएन । भनसुन गरेर बजेट थप गरी तयारी गर्नुपर्ने अवस्थाबाट गुज्रिएको खेलकुदबाट अन्तर्राष्ट्रिय रूपमा देशको लागि पदकको अपेक्षा पूरा हुन नसक्नु अस्वाभाविक हुँदै होइन ।

२) खेलकुद क्षेत्रको लगानीलाई किराना पसल वा उद्योगमा गरेको लगानी ठान्ने प्रवृत्ति छ । जसले गर्दा तत्कालै प्रतिफल खोज्ने गरिन्छ । तर, खेलकुद क्षेत्रको लगानी भनेको सानो बच्चलाई कमाउन सक्ने अवस्थामा पु¥याउनु जस्तै हो । केही वर्षको मात्र हैन कि केही दशकसम्म लगातार लगानी गर्न तयार हुनुपर्दछ । यस प्रकारको नीति आजको आवश्यकता हो ।

३) खेलकुद क्षेत्रमा गरिने राजनीतिक दाउपेच अर्को समस्या देखिँदै आएको छ । नेपाली खेलकुद क्षेत्रको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नेतृत्वका लागि हुने चलखेल र राजनीतिले खेल क्षेत्र प्रभावित हुने गरेको छ । त्यस्तै खेल संघहरूमा हुने राजनीतिको मार अन्तर्राष्ट्रिय रूपमा खेलाडीहरूले समेत भोग्नुपरेको यथार्थ हो ।

४) एशियाड जस्ता प्रतियोगिताहरूमा पदकको अपेक्षा गर्ने हो भने चार बर्ष नै सम्बन्धित खेल संघले अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने वा सहभागिता जनाउनु पर्दछ । तर, धेरै संघहरूले त्यस्तो प्रयास गरेको देखिँदैन ।

५) बजेट थोरै छ भन्ने नाममा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय सहभागिताबाट वञ्चित गरिनु उचित हुँदैन । सकेसम्म एशियाडमा सहभागी गराइएका ४० वटै खेलका खेलाडी सहभागी गराउनुपर्ने हुन्थ्यो । जसले गर्दा खेल क्षमता विकासदेखि अनुभवबाट नेपाली खेलाडीले आफ्नो क्षमता थाहा पाउने र सिक्ने अवसर पाउने थिए ।

तयारीका लागि परिषद्ले पर्याप्त समय नपाए पनि प्रयास गरेको
१) खेलाडीको प्रशिक्षणसम्बन्धी स्तरवृद्धिका लागि योजना बनाउने गरि खेलकुदका लिजेन्ट व्यक्तिहरू संलग्न गरी हाइपर्फरमेन्स कमिटी निर्माणसँगै तयारीलाई वैज्ञानिक नाउने प्रयास गरेको पाइन्छ ।

२) नवौँ राष्ट्रिय खेलकुदबाट खेलाडीहरूको प्रारम्भिक छनोट गर्ने कार्यका साथै अन्य तीन चरणमा खेलाडी छानिएका छन् । यसका लागि परिषद्ले सम्बन्धित खेल संघहरूलाई नै जिम्मेवारी दिएको देखिन्छ । छनोटमा सम्बन्धित संघलाई जिम्मेवार बनाउने प्रयास गरेको देखिन्छ ।

३) एशियाडका लागि छनोट भएका खेलाडीहरूलाई राखेपले अढाई महिनासम्म बन्द प्रशिक्षणमा राखेको देखिन्छ । जसले खेलाडीहरूमा खेल क्षमता विकासमा केही योगदान गरेको प्रतिस्पर्धाका क्रममा देखियो । खेलाडीहरूले पनि बन्द प्रशिक्षणबाट पर्याप्त लाभ लिएको दाबी गरेका थिए ।

४) परिषद्ले मेडलको अपेक्षा गरेका केही खेलका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षणको प्रबन्ध गरेका र केहीलाई नेपालमै विदेशी प्रशिक्षक मार्फत प्रशिक्षण गराएको थियो । यही अनुभवले नै हुनुपर्दछ खेलाडीहरूले प्रतिस्पर्धाका क्रममा आत्मबलका साथ खेलेको देखियो । मेडलको दृष्टिकोणबाट सबै प्रयासहरू अझै अपूर्ण नै भएछन् भन्ने प्रष्ट हुन्छ ।

एशियाडको अर्काे शृंखला चार वर्षपछि जापानमा हुने छ । त्यसमा पदकका लागि योजना बनाउने हो भने हाङझावबाट फर्किए पछि नै तयारी सुरु गर्नुपर्दछ । खेलाडीहरूको छनोटदेखि बन्द प्रशिक्षणका लागि चार वर्ष नै बजेटको विनियोजन हुनुपर्दछ ।

विश्वजगत्मा पहिलो प्राथमिकताको खेल क्षेत्रले हाम्रो कुल बजेटको ०.१६ प्रतिशत छ । यही बजेटले विश्वसामु नेपाली खेलाडीले खेल्न सकेनन् वा परिषद्ले उचित व्यवस्थापन गरेन भन्न सुहाउँदैन । योजना र बजेटका लागि गरिने प्रयासले मात्र खेल क्षेत्रबाट विश्वसामु आफ्नो हैसियत प्रष्ट्याउयान सकिन्छ ।

कमी कमजोरीलाई सच्याउँदै अर्को भिडन्तको तयारी आवश्यक हुन्छ । यसका लागि आयोजना हुने वर्षमा मात्र बजेट बनाउने र छुट्याउने हैन, अब हाङझाउबाट फर्किनासाथ २०आँै एशियाडको तयारी नगर्ने हो भने त्यहाँ पनि हामी चुक्नेछौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?