मानव स्रोत नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र : एडिबी पूर्व अध्यक्ष

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसियाली विकास बैंकका पूर्व अध्यक्ष प्राध्यापक हारुहिको कुरोदाले नेपालमा युवा जनशक्ति परिचालन गर्न सके आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्न सक्ने बताउनुभएको छ । चीन, जापान, ताइवान, कोरियाजस्ता पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदर र बुढ्यौलीका कारण निष्कृय जनशक्ति बढेको भन्दै उहाँले नेपालमा भने यस्तो समस्या नरहनु अत्यन्तै सुखद भएको बताउनुभयो । इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले गरेको युवासंगको अन्तरसंवादमा कुरोदाले मानव स्रोत नै नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र रहेको उल्लेख गर्नुभयो । नेपालसँगै दक्षिण एवम् दक्षिण पूर्वी एसियाली मुलुकमा घट्दो जन्मदरको समस्या नरहेको भन्दै उहाँले मानव मस्तिष्कको उपयोगमा लाग्न सुझाव पनि दिनुभयो ।

नेपाली विद्यार्थीहरू विदेश गइरहेकोतर्फ संकेत गर्दै कुरोदाले भन्नुभयो, ‘पूँजी,  प्रविधि, शिक्षा र सीपको विकास गरी त्यो जनशक्तिलाई आफ्नो देशको हितमा उपयोग गर्न सकिन्छ । छिमेकी चीन र भारतजस्ता मुलुकले विदेशमा रहेका आफ्ना नागरिकलाई फर्काएर आर्थिक विकासमा फड्को मारेको उदाहरणलाई नेपालले पछ्याउन जरुरी छ ।’

एसियाली विकास बैंकका पूर्व उपाध्यक्ष डा.विन्दुनाथ लोहनीले मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक प्रतिवद्धतासंगै अग्रसरता आवश्यक भएको बताउनुभयो । आयोजक संस्थाका अध्यक्ष नरेश श्रेष्ठले आगामी दिनहरूमा नीतिगत बहस श्रृङ्खलालाई प्रदेशस्तरसम्म लगिने जानकारी दिनुभयो । उहाँले संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मून, कोरिया, सिंगापुरजस्ता सबल अर्थतन्त्र रहेका मुलुकका ख्यातीप्राप्त अर्थविद्लाई बोलाएर यसखाले बहस सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । अन्तरक्रियामा सहभागी विद्यार्थीहरुले विश्व अर्थतन्त्र र त्यसबाट नेपाललाई पर्ने प्रभावका विषयमा राखेका जिज्ञासाको प्राध्यापक कुरोदाले जवाफ दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?