हमास नामको समूहले इजरायलका निर्दोष नागरिकमाथि गरेको वर्वर आक्रमणको दावाग्निमा यतिखेर महायुद्धरूपी डढेलो विश्वव्यापी हुन लागेको छ । यो डढेलोको लप्काले कसकसलाई आहुति दिने हो कसैले भन्न सक्ने अवस्था छैन । निर्दोष दशजना नेपाली विद्यार्थीहरूको बलिदान भइसक्यो । अरू कतिजना नेपालीहरू संकटमा छन् । हमास आतंकको पहिलो लप्काले सम्पूर्ण नेपालीहरूको मनमस्तिष्कलाई आघात गरेको छ, व्यथित तुल्याएको छ । यस अमानवीय कुकृत्यको जुन शब्दमा जति पटक निन्दा गरे पनि कम हुन्छ । २०६१ सालमा इराकमा यस्तै इस्लामिक आतंकवादी समूहले निर्दोष नेपालीहरूको विभत्स, क्रूर, कायरतापूर्वक हत्या गरेको थियो । बीस वर्षपछि पुनः इस्लामिक समूहको हमास नामको त्यो आतंकवादी जत्थाले त्यही इतिहास इजरायलमा दोहोर्याएको छ । दश वर्षसम्म यस्तै आतंक भोगेका, देखेका नेपालीहरूको आहत मन यतिखेर व्यथित बनिरहेको छ । नेपालमा चलेको माओवादी सशस्त्र हिंसाकाललाई इजरायलमा हमासद्वारा मञ्चित घटनाले पुनः स्मरण गराएको छ । संभवतः नेपालका ती सशस्त्र आन्दोलनका नायकहरूले पनि आतंकको त्यो नमुना देखे होलान् र आसा गरौं आफ्ना कृत्यहरू कति क्रूर रहेछन् भन्ने मूल्यांकन गरे होलान् ।
करिब ३५ एकड जमिन र त्यसमा रहेको प्राचीन पवित्र धर्मभूमिका लागि अनेक पटक युद्ध झेलिसकेका छन् त्यहाँका मानिसहरूले । त्यस भूमिमा आ–आफ्नो दाबी प्रस्तुत गर्ने यहूदी, इसाई र इस्लामिक त्रिकोणात्मक संघर्षमा अहिले इस्लामिक समुदायको हमास संगठन र यहुदीका बीचमा घातक युद्ध सुरु भएको छ । यहाँस्थित टेम्पल माउण्टको इतिहासबारे तिनै पक्षको दाबी रहेको छ । त्यो कुनै अर्को समयमा चर्चायोग्य हुनसक्छ । तर जातीय, धार्मिक आग्रह कति घातक र अन्धो हुन्छ भन्ने कथनलाई जेरुसलेम प्रकरणले पुष्टि गर्दछ । त्यसो त तालिवान्, अलकायदा, हिज्वुल्लाह, हमास जस्ता संगठनहरूका अनेक रूप र उनीहरूका आतंककारी कामहरूले नै यसलाई पुष्टि गरिरहेका छन् । मध्ययुगीन वर्वरतालाई स्मरण गराउने गरी धर्म र जातका नाममा भएका हिंसाले मानवतालाई धुजाधुजा पारिरहेको अवस्था छ । त्यसमा पनि इस्लाम धर्मका नाममा केही स्वार्थ समूहद्वारा स्थापित यस्ता संगठनहरूले मानवता भन्ने कुनै वस्तु छ भन्नेलाई कहिल्यै पनि स्वीकार गरेको देखिँदैन । जेरुसलेमको कथा आदिविद्रोह पढ्ने धेरैको मनमस्तिष्कमा छ होला र हजारौं वर्षको रक्तपातपूर्ण विभत्स र कुरुप सभ्यताबाट कसरी समाज मुक्त भयो र जेरुसलेम खडा भयो त्यो बेग्लै इतिहास छ । इतिहासका अनेक पाटाहरूको उत्खनन् हुन बाँकी नै छ ।
गत शनिबार अकस्मात् हमास समूहले इजरायलको दक्षिणी सीमाभित्र घातक तरीकाले प्रवेश गरी अमानवीय आक्रमण गरेपछि अहिलेको युद्ध विभीषिका सुरु भएको हो । संसारको गुप्तचर संस्थाहरूमध्ये अब्बल मानिने इजरायलको मोसाँले पनि आक्रमणको सुइको पाउन सकेन । एकप्रकारले ढुक्क बसेको रहेछ इजरायली सुरक्षा सूचना संयन्त्र र यसमा काम गर्नेहरू । यो सँगै अर्को आश्चर्य के हो भने प्यालेस्टाइनहरूलाई पुनर्संरचनामा सहयोग गरिरहेका अनेक युरोपियन एजेन्सी र संस्थाहरूलाई भनक भएन । हमासले लिने तालिम, प्राप्त गर्ने हतियार त देखिने विषय हुन् । इरानमाथि अहिले आरोप लागिरहेको छ हमासलाई हतियार र तालिमसहित आर्थिक सहयोग गरेको भन्ने । यसै आधारमा अमेरिकाले युद्धमा सहभागी नहुन र सहयोग नगर्न इरानलाई चेतावनीसमेत दिएको छ । अब त इजरायलले भीषण प्रत्याक्रमण थालेको छ । यो प्रत्याक्रमणका कारण गाँजापट्टीमा बसोवास गर्ने अनेक निर्दोष प्यालेष्टिाइनहरूको समेत ज्यान गएको छ । पूरै गाँजा क्षेत्रलाई नाकाबन्दी गर्ने र आक्रमण गर्ने प्रतिशोधपूर्ण नीति इजरायलले लिएको हुनाले हताहत हुनेहरू र घाइते हुने हजारौंको संख्यामा अनुमान गर्न सकिन्छ । भोक, प्यास र रोगले आहत हुने को त कुनै गन्ती नै छैन । यसरी त्यस थोरै तर तीन पक्षले पवित्र मानेको त्यस भूमिको युद्धले संसारलाई विभाजित गर्दैछ । आतंकको समर्थन गर्ने र विरोध गर्नेहरूका बीच ध्रुवीकरण हुन लागेको छ । इजरायलको समर्थनमा निरन्तर रहेको महाशक्ति राष्ट्र अमेरिका खुलेर नै इजरायलका पक्षमा चट्टान भएर उभिएको छ । यतिखेर वेलायत, फ्रान्ससहित अरू चार विकसित देशहरू पनि अमेरिकासँगै इजरायलका पक्षमा खुलेका छन् । तर यसका विपरीत इरान र अरू केही इस्लामिक राष्ट्रहरूले हमासलाई त्यो निन्दनीय आक्रमणका लागि बधाई दिने काम गरे । लेवनानमा संगठन गरी बसेको हिज्वुल्लाह संगठनले उत्तरपट्टिबाट इजरायलमाथि आक्रमण थालेको छ । दोहोरो मारको सामना गर्न विवश इजरायल यतिखेर जीवन मृत्युको संघर्षमा परिणत भएको छ ।
यस्तो अवस्थामा बाँकी विश्वको ध्यान खिचिनु अस्वाभाविक होइन । स्वयं युक्रेनमाथि आक्रमण गरी युद्धमा अल्झिरहेको रुसले शान्तिपूर्ण समाधान हुनुपर्ने बताएको छ । अर्को महाशक्ति राष्ट्र चीनको धारणा पनि यस्तै छ । इजिप्ट, साउदी अरेबिया, जोर्डन जस्ता इजरायलका छिमेकीहरू पनि तटस्थ देखिएका छन् । नेपालका छिमेकी राष्ट्र भारत खुलेर इजरायलको समर्थन गर्दै छ । तर धर्ममा विभाजित समुदायका बीच विस्तार हुनसक्ने युद्ध र शक्ति राष्ट्रहरूका बीच हुनसक्ने छायाँ युद्धको खतरनाक संकेत देखिन लागेको छ । युक्रेनलाई सहयोग गरिरहेको अमेरिका युद्धपोतसहित इजरायलको सुरक्षाका लागि समुद्रमा पुगेपछि रुसलाई सहज हुनसक्छ । इरान त सन् १९७७ देखि नै अमेरिकाविरुद्ध जनमत बनाएर बसेको छ । यस्तै जर्मनी र इटली पनि इजरायलको पक्षमा देखिएका छन् । इराकमा समेत अमेरिका विरोधीधार व्याप्त छ । पश्चिम एसियाका अनेक देशहरू क्रमशः पक्ष र विपक्षमा छन् । एसियाले यसमा हस्तक्षेप गर्ने अवस्था छैन । युरोपको शक्तिशाली देश टर्की भने मध्यस्थता गर्न उत्सुक देखिएको छ । तर, तत्काल कुनै संभावना देखिँदैन ।
नेपाल जस्तो देशले सदा आतंकका विरुद्ध, हिंसाका विरुद्ध र शान्तिका पक्षमा आफूलाई प्रस्तुत गर्नु पर्दछ । त्यसमा पनि दुई ठूला शक्तिशाली छिमेकीहरूका पृथक रणनीतिको चेपुवामा पर्ने खतराप्रति सचेत रहनु आवश्यक छ । जुनसुकै नाममा जहाँसुकै भए पनि आतंकका पक्षमा नेपालको समर्थन हुँदैन, हुनुहुँदैन । हरेक समस्याको समाधान शान्तिपूर्ण हुनुपर्छ भन्ने सूत्र र मन्त्रलाई नेपालले बिर्सन सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच