काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङसँगको दुईपक्षीय भेटमा उहाँले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि राम्रो अवसर भएको बताउनुभयो ।
मन्त्री महतले भन्नुभयो, ‘नेपालमा लगानी गरेका भारतीय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सी, भारतीय कम्पनी आइटिसी इण्डियामात्रै होइन, मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेका छन्, हामीले चालु आर्थिक वर्षको बजेटमार्फत् निजी क्षेत्रको लगानीमा थप सहजीकरण गर्ने प्रयास गरेका छौँ । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ ।’
नेपालले इज अफ डुइङ बिजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने पनि उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘भारतले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ, जलविद्युत् उत्पादन, प्रसारण र वितरण लाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटनलगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’
नेपाली कामदार कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै उहाँले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गर्नुभएको हो ।
मन्त्री महतले भन्नुभयो, ‘अहिले तपाईंहरू संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनुहुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भइरहेको छ, निजी क्षेत्रले दीर्घकालमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’
सो अवसरमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा कोरियन अर्थमन्त्री चु क्युङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पु¥याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने बताउनुभएको हो । उपप्रधानमन्त्रीले केही कोरियन लगानीमा दोहोरो करसम्बन्धी समस्या रहेको भन्दै समाधानका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा मन्त्री महतले दोहोरो करसम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको भन्दै कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री महतले कोरियाका उपप्रधानमन्त्रीलाई नेपालको भ्रमण गर्न आमन्त्रण गर्नुभयो । उपप्रधानमन्त्री चु क्युङले पनि आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानुन राम्रो भएको भन्दै प्रशंसा गर्नुभएको थियो । नेपालले जलविद्युत् परियोजना निर्माणमा राम्रो प्रगति गरे पनि कमजोर प्रसारण लाइनले जलविद्युत् क्षेत्रबाट पर्याप्त लाभ लिन नसकेकाले नेपालको प्रसारण लाइन निर्माणमा लगानी गर्न आग्रह गर्नुभयो ।
बैठकका क्रममा कोरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वल्र्ड एक्स्पो आयोजना गर्न खोजेको जानकारी गराउँदै नेपाललाई सहयोग गर्न आग्रह गर्नुभयो । इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्स्पो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङलाई अर्थमन्त्री डा. महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन पनि माग गर्नुभयो । कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनुपर्ने उहाँको भनाइ थियो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेसमा रहनुभएका अर्थमन्त्री महतले कोरियाली अर्थमन्त्रीसँग साइड लाइनमा वार्ता गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कोरियाबाट एउटामात्रै वायुसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ । एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरियामा रहेका नेपालीले अन्य देश भएर आउनुपरेको छ, नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेको छ । नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो । त्यसले नेपाली नागरिकका साथै नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो ।’ जवाफमा कोरियाका उपप्रधान तथा अर्थमन्त्रीले कोरियाली उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनुपर्ने विषयबारे अवगत गराउने आश्वासन दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच