काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण नहुने बताउनुभएको छ । हिमालयन इन्टरनेसनल एक्स्पो आइएनसीले शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेको दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो-२०८० उद्घाटन गर्दै उहाँले व्यापार घाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुकोे विकल्प नभएको बताउनुभयो ।
सरकारको राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रूपान्तरण र आर्थिक समृद्धि भएको भन्दै गृहमन्त्री श्रेष्ठले देशको उत्पादन निर्यात गर्न नसकेसम्म व्यापार घाटा कम गर्न नसकिने बताउनुभयो । सांसद वासुदेव घिमिरेले हस्तकला तथा साना उद्योग प्रवद्र्धनमा जोड दिएमात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताउनुभयो । एक्स्पो संयोजक कपिल अधिकारीले एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन र भारतलगायत मुलुकबाट पाँच सयभन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको जानकारी दिनुभयो । नेपाली मौलिक उत्पादनको निर्यात बढाई आर्थिक समृद्धि गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएकोे उहाँले बताउनुभयो ।
आयोजकका अनुसार एक्स्पोमा हस्तकलासम्बन्धी जीवन्त कला प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेताबीच अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । विश्वका विभिन्न देशबाट क्रेता भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाउने लक्ष्य रहेको छ । एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुइँकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडा, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहेका आयोजकले जनाएको छ ।
त्यस्तै जैविक स्रोतबाट बनेका शृंगार सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकला, पश्मिना, स्टोन, माला, क्युरियो सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाका एक सय स्टल रहेका छन् । एक्स्पो सोमबारसम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच