नेपालीमा एउटा उखान छ कहीँ नभएको जात्रा हाँडी गाउँमा । नैतिक, सामाजिक, सांस्कृतिक अनि र स्थानीय रङ्ग समेटिएको यस उखानको अभिधार्थ हेर्दा काठमाडौंको हाँडी गाउँ धेरै प्रकारका जात्रा हुने ठाउँ भएकाले अन्त कतै नभए पनि हाँडी गाउँमा अवश्य हुन्छ भन्ने अर्थ हुनुपर्ने हो तर उखानहरूले आफ्नो अभिधार्थलाई छोडेर व्यङ्ग्यार्थ दिन्छन् अनि सुमधुर लाग्छन् । अन्त कतै नहुने वा नसुहाउने काम पनि भयो भनेँ कहीँ नभएको जात्रा हाँडी गाउँमा भनिन्छ । यसरी नै धेरै कुरा नेपालमा सुहाउँदिला लाग्दैनन् । धेरैतिर हाँडी गाउँको जात्रा देख्न र सुन्न पाइन्छ । सांस्कृतिक जात्राका कुरा होइन देशभर राजनीति, सेवा र सुरक्षाको नाम जोडिएका अन्य धेरै जात्रा भइरहेका हुन्छन् ।
काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको बायाँ लाइन सडक विभिन्न उद्देश्यले गरिने धर्ना, जुलुस, आन्दोलन र आन्दोलनकारीका लागि प्रदर्शनको निम्ति छुट्याइएको जस्तै छ । जुनकुनै पनि सत्तामा सबै पक्षका कुरा समेट्न सकिँदैन । कुनै न कुनै पक्ष वा समूह सत्ताभन्दा बाहिर हुन्छ । त्यसमाथि हाम्रो जस्तो विकासोन्मुख मुलुकमा समाधानभन्दा समस्या नै धेरै हुन्छन् । सडकबाट अधिकार माग्ने, सडकबाटै कानुन सच्याउनेदेखि अवैध कामलाई पनि बल प्रयोग गरेर वैध बनाउने होडबाजी नै चलिरहेको छ । सडक अधिकार खोज्ने ठाउँ त हो तर संवैधानिक बाटो होइन । सडकमार्फत् मागलाई वैधानिक बनाउने प्रचलन हिजोआज बढी छ ।
सुरक्षाको खोजी गर्ने पछिल्लो यो बाटो सत्ताधारीका निम्ति सधैँको टाउको दुःखाइ हुने भएको छ । भन्नको निम्ति वैधानिक भनिए पनि यो सडकबाट अधिकार खोज्ने विधिले पनि सीमा उल्लङ्घन गर्न थालेको छ । समय यस्तो आयो कि मानिसलाई जताततै असुरक्षा अनुभव हुन्छ । पहिले पहिले सुनसान बाटोमा एक्लै हिँड्दा कोही मानिस आए भरोसा हुन्थ्यो । अहिले यसरी मानिस भेट भयो भने मानिसले आफूलाई असुरक्षित अनुभव गर्छ । सुरक्षा कता गयो अहिले ? मानिस त मानिसै हो हिजोको पनि आजको पनि । मानिसमाथि नै शङ्का गर्नुपर्ने समय अरू परिस्थितिभन्दा भयावह हो । सुरक्षा जो मानिसलाई मात्र होइन सबै प्राणीलाई चाहिएको हुन्छ ।
सुरक्षा जो देशले अवलम्वन गरेको छ अनि सुरक्षा जो आजका नागरिकले खोजिरहेका छन् तर सुरक्षा प्राप्तिका शैली फरक छन् । रबैया फरक छन् । केही नागरिकले सडकबाट जुन सुरक्षा खोजिरहेको देखिन्छ त्यो कत्तिको सुरक्षित छ ? भन्ने हो ।
हिँड्दाहिँड्दै अचानक बाटोमा कुनै जनावर आयो भने मानिस जति डराउँछ त्यो जनावर पनि त्यत्तिकै डराउँछ । फरक यत्ति हो जनावरले आफ्नो सुरक्षाको निम्ति अलि छिटो आक्रमण गर्छ तर अकारण जनावरले पनि आक्रमण गर्दैन । ऊ पनि आफ्नो जिउ बँचाएर भाग्न खोज्छ । यस अर्थमा सुरक्षा सबैको चासोको विषय हो । सुरक्षा आत्मरक्षाको मोह हो । आफ्नो जिउको सुरक्षा, धनको सुरक्षा, जागिरको सुरक्षा, स्वाभिमानको सुरक्षा, अस्तित्वको सुरक्षा, अहङ्कारको सुरक्षा, सन्ततिको सुरक्षा, आफन्तको सुरक्षा यसैगरी क्रमशः सुरक्षाको दायरा फैलिँदै जान्छ । अनि सुरक्षाको प्राप्तिका उपक्रमहरू पनि फरक फरक शैलीका हुन्छन् ।
सुरक्षा जो देशले अवलम्बन गरेको छ अनि सुरक्षा जो आजका नागरिकले खोजिरहेका छन् तर सुरक्षा प्राप्तिका शैली फरक छन् । रबैया फरक छन् । केही नागरिकले सडकबाट जुन सुरक्षा खोजिरहेको देखिन्छ त्यो कत्तिको सुरक्षित छ ? भन्ने हो । सुरक्षाकै कुरा गर्दा झट्ट देखिने गर्छ हिजो आज शहरका धेरै सरकारी निकायहरूका गेटमा सुरक्षाकर्मीहरू भरिएका देखिन्छन् । त्यहाँ उपस्थित सुरक्षकर्मीअरू जोश र जाँगर लिएर उभिएका भन्दा पनि अत्यन्त थकित, गलित अनि औपचारिकता निर्वाहको मुडमा देखिन्छन् । सुरक्षाको जुन अभिनय चलिरहेको छ खासमा यो सुरक्षा नै होइन भन्ने उनीअरूलाई भलीभाँती थाहा छ ।
बानेश्वर चोकमा लठ्ठी लिएर लामबद्ध उभिएका ती सुरक्षाकर्मीहरू सुरक्षाका निम्ति खटिएका हुन् कि सुरक्षाको भय दिनका लागि खटिएका हुन् छुट्याउन मुस्किल छ । एउटा दैनिकीजस्तो सरकारी मानो खाएपछि भनेको ठाउँ गैदिनुपर्छ भनेजस्तो गरिदिनुपर्छ भन्ने मानसिकतामा उभिएका ती सुरक्षाकर्मी पनि आफ्ना कति माग होलान् जसको सम्बोधन होस् भन्ने नारा त्यहाँ उपस्थित प्रदर्शनकारी अरूले भनिरहेका हुन्छन् । त्यो बेला सुरक्षाकर्मीले सरकारको सुरक्षा गर्छन् कि आफ्नो सुरक्षाको निम्ति थोरै भए पनि बोलिदिने ती प्रदर्शनकारी अरूका पक्षमा नरम हुन्छन् ? सुरक्षाको माथिल्लो निकायमा बस्ने अख्तियारवाला हाकिमले बुझ्ने कुरा भयो ।
एकापसमा सबल र दुर्बल पक्षका बारेमा सजग गराउने, घमण्ड चढ्न नदिने, निराशा बढ्न नदिने, जीवनमा आशा र उत्साहको सञ्चार गराउने र आपसमा साइजमा आउने कामका निम्ति पतिपत्नी नै बलियो र भरपर्दो सम्बन्ध हो ।
सुरक्षा देशलाई चाहिएको छ, सुरक्षासरकारलाई चाहिएको छ र जनतालाई पनि चाहिएको छ । सरकारलाई चाहिएको सुरक्षा अरू धेरै खाले सुरक्षाभन्दा महत्वपूर्ण यस मानेमा हुन्छ कि कुनै पनि समय सत्ताको साँचोमा खिया लाग्न सक्छ । ताला टुट्न सक्छ, चाबी फेरिन सक्छ नक्कली साँचो तयार हुनसक्छ । देशमा सरकारले सत्तालाई जति महत्वले हेरेको छ त्यसभन्दा बढी जनतालाई हेर्नुपर्ने हो तर सरकारलाई जनताको भन्दा आफ्नै सुरक्षाको बढी चिन्ता छ ।
हामीले देखेको कुरा हो अख्तियारवाला व्यक्तिबाट आफ्नो पदको मान र मर्यादा राख्न सकिएन भने त्यस्तो बेला कुनै पनि मान, पद वा प्राप्त प्रतिष्ठाको पनि आलोचना हुन्छ । अहिलेको विश्व मानिसको हत्केलामा प्रतिबिम्बित हुन्छ । कहाँ के भएको थियो वा अहिले के भइरहेको छ ? भन्ने कुरा क्षणभरमा मानिसलाई थाहा हुन्छ । आज धेरै कुराहरूको दँजनी त्यसै आधारमा हुन्छ । विश्वपरिप्रेक्षसँग दाँजेर हेर्ने हो भने नेपालको हकमा धेरै कुराहरू यसरी नै आलोचित भएका हुन्छन् र छन् पनि । पद आफैँमा विशेष प्रकारको गरिमायुक्त छ तर उक्त पदमा आसीन व्यक्तिले सो पदको सान, मान र मर्यादा जोगाउन नसक्दा तीव्र आलोचना हुने गरेको पाइन्छ ।
कतिपय अवस्थामा हामीसँग उक्त मान र सानलाई जोगाउन चाहिने बाहृय योग्यता नहुँदा र कतिपय अवस्थामा हाम्रो आन्तरिक योग्यता नहुँदा पनि यस्ता समस्या आउने गरेका समाचार सुन्न पाइन्छ । मुलुकका कार्यकारी अधिकार सम्पन्न पदहरू र तिनमा आसीन व्यक्तित्वहरूका बीचमा तालमेल हुननसक्दाका तमाम दृष्टान्त हामीसँग छन् । कति ठाउँमा योग्य व्यक्ति छन् र योग्यता अनुरूपको काम गर्ने वातावरण छैन । कति ठाउँ साधनस्रोतको अभाव छ, कुनै ठाउँमा योग्यता नै नभएका व्यक्ति बस्न पुगेका छन् र केही अपवादहरू छन् जहाँ योग्य व्यक्ति पनि छन् पदको मर्यादा पनि रहेको छ र परिणाम पनि पद अनुकूलका आइरहेका छन् ।
आफूतिर फर्केर हेर्ने हाम्रो बानी छैन । आफूभित्रका सीमाहरूलाई सच्याउने र पद अनुकूलको योग्यता बनाउन पहल गर्ने हाम्रो नैतिक इमानदारी र तदनुकूलको स्वभाव नभएकाले हामीधेरै ठाउँ वामपुड्के हुनुपरेको हुन्छ । सबैसँग समान किसिमको योग्यता हुँदैन स्वाभाविक कुरा हो । सबै व्यक्ति उत्तिकै योग्यताको हुनुपर्ने भन्ने अनिवार्यता हुँदैन तर कुनै पनि पदको निम्ति आधारभूत योग्यता भन्ने हुन्छ जुन कुराको पालना हामीबाट हुने र हुन पहल गर्ने हो भने पनि केही समस्याको समाधान हुन्थ्यो । तर, हामीसँग त त्यो न्यून मूल्यको संरक्षणको कुरा त कता हो कता उल्टै अनावश्यक फूर्तिफार्ती बढेको पाइन्छ । कति घमण्ड बढेको हो तपाईंमा ?
बढुवा भएपछि त झनै बढेको छ । कसैलाई सहन सक्नुहुन्न, कसैका कुरा चित्त बुझाउनुहुन्न । अरूलाई जानेबुझेजस्तो नै ठान्नुहुन्न भनेर एकबिहानै पत्नीले मेरो हैसियत सम्झाइदिँदै आफ्नो प्रभुत्वको सुरक्षा खोजेपछि म झल्याँस्स भएँ । सुरक्षाको आगो यता पनि दन्दनी बलेछ । के साँच्चै पत्नीले भनेजस्तै ममा प्रोफेसरी अहङ्कारले सुरक्षाचेत बढाएकै हो त ? अरूको निम्ति पो म प्रोफेसर तर पत्नीको निम्ति त पति हुँ । वर्षौंदेखि झेल्दै आएको उही पुरानो लोग्ने ।
मेरो बढुवाले घरायसी सम्बन्धमा सके त खुशीयालीयुक्त रमणीयता छाउनु राम्रो हो त्यसो नभए पनि सम्बन्धमा तलमाथि हुनु पटक्कै राम्रो भएन । पति र पत्नीको सम्बन्धमा ठाकठुक भइरहनु मनमा जम्न लागेको अविश्वासको खरानी पखालिनु हो । मायाप्रेमको गाँठो अझै कसिलो हुँदै जानु हो । सायद जीवनमा अरू धेरैले भन्दा बढी जान्ने र बुझ्ने पतिले पत्नीलाई र पत्नीले पतिलाई नै हो । एकापसमा सबल र दुर्बल पक्षका बारेमा सजग गराउने, घमण्ड चढ्न नदिने, निराशा बढ्न नदिने, जीवनमा आशा र उत्साहको सञ्चार गराउने र आपसमा साइजमा आउने कामका निम्ति पतिपत्नी नै बलियो र भरपर्दो सम्बन्ध हो ।
बेलाबेलामा एकले अर्कालाई साइजमा ल्याइएन भने अहङ्कार न हो कसैको बढ्न सक्छ । आज मेरो अहङ्कार बढेको जसरी पत्नीलाई थाहा भयो । अबका दिनमा आफ्नो पारिवारिक प्रभुत्वमा कमी आउँछ कि भनेर भएको सतर्कताको कुरा जसरी प्रकट भयो त्यसरी नै कुनै दिन पत्नीको अहङ्कार बढेको थाहा पाउने र त्यसबाट आफूमा पर्न सक्ने प्रभावको जोखिमबाट बँच्न सतर्क हुने पहिलो साक्षी पनि म नै हुन्छु । पत्नीले मलाई लगाएको माथिको आरोप अरूलाई बिचमा जोडेर भनिएको भए पनि खासमा त्यस्तो अनुभूति पत्नीलाई नै भएको हुनुपर्छ । सायद घरकै बोली, वचन र व्यवहारमा केही तलमाथि परेहोला । बाहिरफेर त म संयमित नै हुने प्रयत्न गर्छु भरिसक्के ।
त्यो अभिव्यक्ति प्रोफेसर भएपछिको पहिलो सजगता थियो मलाई साइजमा ल्याउने । सायद धेरै दिनपछि मन माझ्ने साइत जुरेको थियो । हुन पनि किन नभनियोस् त्यति म एकप्रकारले निमित्त नायक हुँ प्रोफेसरको । घरका, व्यवहारका, आर्थिक भारका, नाता सम्बन्धीसँगको सम्बन्धका यावत् कुरामा वातावरण मिलाएर एकनासले प्रोफेसरको अर्जुनदृष्टि लगाउन मलाई प्रेरित गर्ने र वर्षौदेखि मसँग सहयात्रा गरेकी उनलाई यति अधिकार त छ । त्यतिमात्रै पनि होइन जीवनमा कुनै गम्भीर निर्णय लिनुपर्दा मलाई केही चाहिएन मेरा पतिको प्रगति हुँदै जाओस् ।
मिल्छ भने मेरो भागको उन्नतिप्रगतिको योग पनि उनैतिर सरोस् भनेर भाकल गर्दै आएकी पत्नीलाई नै बिझाउने खालको उनकै अस्तित्वमा हस्तक्षेप हुने खालको व्यवहार र बोलीवचन बढेपछि त्यो बढुवा पनि किन चाहियो ? यति भन्ने अधिकारमात्रै होइन दायित्व पनि उनकै हो । भोलि यसबाट हुने हानिनोक्सानी पनि उनले बेहोर्नुपर्छ । कुरा बेस्सरी गम्ने गरी आयो म पनि अब सजग हुुनैपर्ने भयो ।
प्रिय सञ्चेतना ! अहङ्कारको प्रसङ्ग उठाइहाल्यौ । कुरा मेरातर्फका पनि छन् । सुरक्षा मलाई पनि चाहिएको छ र अझ बढी चाहिएको छ । जुन दिन मैले आफ्नो सुरक्षाका कुरा गर्नेछु मेरै अहङ्कारको बयानबाट थालनी गर्नेछु ।
क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच