संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भयो : उपप्रधानमन्त्री खड्का

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको बताउनुभएको छ ।

मंगलवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरुले नै गरेका कतिपय काम र निर्णयमा टेकेर संविधान हल्लाउने प्रयास भइरहेको बताउनु भयो । उहाँले संघीय कानून बनाउने कुरामा हामी चुकेको स्वीकार गर्नुभयो ।

उहाँले २०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसकेको बताउनु भयो । उहाँले संघीय कानून पहिलो प्राथमिकतामा राख्नुपर्ने भएपनि अहिलेसम्म अल्मलिएको बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरुको अगाडि अहिले संविधान कार्यान्वयनको चुनौति रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको अगाडि नेपालको अहिलेको राजनीतिको अगाडि वर्तमान संविधान, सन्धी, लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरुको अगाडि एउटा राजनीतिक चुनौति छ, संविधान कार्यान्वयनको । संविधान जारी गर्दा हामीले संविधान सभाका अगाडि संविधान सभामार्फत सिंगो नेपाली जनताहरु समक्ष संसारका लोकतन्त्रवादीहरुलाई दिएको विश्वास र वचन पूरा गर्ने प्रक्रिया बाँकी छ । संविधानलाई संशोधनमार्फत समृद्ध गर्दै लैजानुपर्ने काम बाँकी छ । यो चुनौतिको रुपमा अघि रहेको छ । यो संविधानबाट अलग रहेर राजनीति गरिरहेका दलहरुलाई हामीले यो संविधानलाई समृद्ध गर्दै समेट्नु छ । सिंगो मुलुकलाई यो संविधानसँग जोड्ने हाम्रो कर्तव्य बाँकी छ । नेपाली काँग्रेसको अगाडि त्यो अवसर र चुनौति छ । यसलाई सम्पन्न गर्न हामीले हाम्रो पार्टीलाई व्यवस्थित गर्न जरुरी छ । हाम्रो पार्टीलाई हामीले विधानअनुसार अझ क्रियाशील गराउन जरुरी छ । आपसका मतभेदलाई, असहमतिलाई, व्यक्ति व्यक्तिबीचका असहमतिलाई पार्टी सञ्चालनका सन्दर्भमा भएका असहमतिलाई, पार्टीको निर्णय प्रक्रियामा भएको असहमतिलाई हामीले यसरी नै छलफल गरेर टुंग्याउनुपर्ने छ । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई विभिन्न बहानामा, विभिन्न कारणले हामीले गरेका कतिपय कामबाट, कतिपय निर्णयबाट तिनै कुरालाई बोकेर मुद्दा बनाएर संविधानलाई हल्लाउने कोशिष भइरहेको छ । संविधानलाई चलाउने कोशिष भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत प्राप्त उपलब्धिहरुलाई हल्लाउने प्रयास भइरहेको छ । त्यसलाई जोगाउनु छ, कार्यान्वयन गर्नु छ । तर हामी संघीय कानून बनाउने कुरामा हामी चुकेका छाैँ । २०७२ सालमा जारी गरेको संविधानपछिको ८ वर्षको अवधिमा सम्पूर्ण राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्दथ्यो । संघीय ऐन निर्माणमा ध्यान केन्द्रित हुनुपर्दथ्यो । संघीय कानून पहिलो प्राथमिकतामा राख्नुपर्छ भनेर हामीले ध्यान दिनुपर्नेमा अन्य कुरामा अल्मलिएका छौँ । त्यो कमजोरीलाई स्वीकार्नुपर्छ ।’

उपप्रधानमन्त्री खड्काले जनतामा छाएको निराशालाई आशा र विश्वासमा परिणत गर्ने र पार्टी पंक्तिमा भएको आशंकालाई चिर्न सक्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?