सुर्खेतको वीरेन्द्रनगरमा भित्रिए अर्गानिक भेडा, च्यांग्रा

सुर्खेतकाे वीरेन्द्रनगरमा भित्रिएका भेडा, च्यांग्रा । तस्वीरः नन्दराम जैशी/हिटा

नन्दराम जैशी
Read Time = 5 mins

सुर्खेत । दशैं, तिहारलाई लक्षित गरी सुर्खेतको वीरेन्द्रनगरमा च्यांग्रा भित्रिएका छन् । माथिल्लो कर्णालीका जिल्लामा पालिने अर्गानिक भेडा, च्यांग्रा दशैं, तिहारलाई लक्षित गरी व्यापारीले वीरेन्द्रनगर भित्र्याएका हुन् ।

पछिल्लो समय वीरेन्द्रनगरमा माथिल्लो कर्णालीका भेडा, च्यांग्रा भित्रिने क्रम बढेको छ । केही दिनअघि कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाका ललितजंग बोहोराले मात्रै झण्डै ३५ लाख मूल्य बराबरका एक सय ५० वटा भेडा, च्यांग्रा वीरेन्द्रनगर ल्याई पुर्‍याएका छन् । बोहोराले मंगलबारबाट भेडा, च्यांग्रा बेच्नसमेत सुरु गरिसकेका छन् ।

कालिकोटबाट बोहोराले ल्याएका भेडा, च्यांग्राको अधिकतम तौल ३० देखि ४० केजिसम्म छ । बोहोराले वर्षेनी यत्तिनै परिणाममा भेडा, च्यांग्रा वीरेन्द्रनगर ल्याएर बेच्ने गरेको बताउनुभयो । उहाँले गएको दशैंमा मात्रै २० लाख बराबरका एक सय ३० भेडा ल्याएर वीरेन्द्रनगरमा विक्रि गर्नुभएको थियो ।

हिमाली तथा पहाडी क्षेत्रका जडिबुटी पाइने पाटनमा चर्ने भएकाले त्यहाँ उत्पादित भेडा, च्यांग्रालाई अर्गानिक भन्नुका साथै मासु पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिन्छ । पछिल्लो समय उक्त अर्गानिक भेडा, च्यांग्राको बजारमा माग पनि बढ्न थालेको हो ।

बोहोराको परिवारले वर्षौदेखि परम्परागतरुपमा भेडापालन गर्दै आएको छ । उहाँ एक उदाहरण पात्र मात्रै हो । तर उहाँजस्तै कर्णालीमा हजारौं भेडा, च्यांग्रा पालक कृषक हुनुहुन्छ ।

यस्तै वीरेन्द्रनगर-४, मा रहेको मास्की मासु पसलले पनि झण्डै तीस लाख बराबर मूल्यका एक सय ३० भेडा, च्यांग्रा वीरेन्द्रनगर भित्र्याएको छ । दशैं, तिहारमा अर्गानिक भेडा, च्यांग्राको अध्याधिक माग हुन थालेपछि विगत केही वर्षयता ठुलो परिणाममा आयात गर्न थालेको पसलका सञ्चालक यामबहादुर मास्की बताउनुहुन्छ ।

व्यवसायी यामबहादुरले कालिकोटको रास्कोट नगरपालिकाबाट भेडा, च्यांग्रा खरिद गरेर ल्याएको बताउनुभयो । मासु बिक्री गर्दै आएका मास्कीले मासुको बजारसमस्या नरहेको बताउनुभयो । चाडपर्वका समयमा खसीको भन्दा पनि भेडा, च्यांग्राको मासुको माग हुने गरेको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार वीरेद्रनगरमा जिउँदो भेडाको ६ सयदेखि हेरेर सात सय र काटेको मासुको प्रति किलोग्राम एक हजार मूल्य रहेको छ । वीरेन्द्रनगरमा विशेषगरी कालीकोट, जुम्ला, मुगु, बाजुरा, अछाम, दैलेख तथा जाजरकोट र सल्यानलगायतका जिल्लाबाट मासुका लागि खसी बोका आयात हुने गरेको छ ।

अन्य समय खसीको मासुमा निर्भर रहदै आएको प्रदेश राजधानी सुर्खेतमा चाडपर्वका समयमा अर्गानिक भेडा, च्यांग्राको माग बढी हुने गरेको मासु व्यवसायी संघ सुर्खेतका अध्यक्ष टोपबहादुर शाहीले बताउनुभयो । चाड पर्वका समयमा घरपिच्छे खसी काटिने हुँदा यो बेला कति मासु उपोग हुन्छ भन्ने एकिन तथ्यांक संकलन गर्न नसकिएको उहाँले बताउनुभयो । तर अन्य समयमा वीरेन्द्रनगरमा दैनिक ३० देखि ३५ वटा खसी खपत हुने गरेको उहाँ बताउनुहुन्छ ।

तथ्यांक अनुसार पछिल्लो समय कर्णाली प्रदेश मासुमा आत्मनिर्भर बनेको छ । प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा कर्णालीबाट भण्डै चार अर्ब सात करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका पशुपंक्षी निर्यात भएका छन् । तथ्यांक अनुसार कर्णालीबाट निर्यात हुने पशुपंक्षीहरु नेपालगन्ज, बुटवल, चितवन, काठमाडौं, टिकापुर, पोखरा, विरगन्ज, धनगढी र रुकुमपूर्वलगायतका जिल्ला पुग्ने गरेको छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?