गाजा । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ । मंगलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् । त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायतको पर्खाइमा रहेको बताएको छ । घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाई आक्रमण भएको सञ्चारमाध्यममा जनाइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने हमासले नै अस्पतालमा आक्रमण गरेको दाबी गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अस्पतालमा भएको आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले ट्वीट गर्दै भन्नुभएको छ, ‘सयौं प्यालेस्टाइनीको मृत्युबाट म स्तब्ध छु । अस्पताल, क्लिनिक, चिकित्साकर्मी र संयुक्त राष्ट्रसंघको परिसरलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत सुरक्षित गरिएको छ ।’
‘भयानक युद्ध नरसंहार’
यता, प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले अल अहली अस्पतालमा भएको आक्रमणलाई ‘भयानक युद्ध नरसंहार’ भन्नुभएको छ । उहाँले भन्नुभयोे, ‘इजरायलले सबै सीमा नाघेको छ ।’
इजरायलले यस हमलामा आफ्नो कुनै भूमिका अस्वीकार गर्दै यो हमला ‘प्यालेस्टिनी इस्लामिक जिहाद’ को रकेटको परिणाम भएको बताएको छ । यस चरमपन्थी संगठनले पनि आफ्नो जिम्मेवारी अस्वीकार गरेको छ ।
आक्रमणपछि घाइतेहरूलाई नजिकैको अल शिफा अस्पताल लगिएको थियो ।
आक्रमण अर्को टोलीले गराएको जस्तो देखिन्छ : बाइडेन
इजरायल भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री नेतन्याहुलाई भेटेर भन्नुभएको छ, ‘यो (गाजाको अस्पतालमा आक्रमण) कुनै अर्को टोलीले गराएको जस्तो देखिन्छ ।’ बाइडेनले भन्नुभयो, ‘मैले देखेको आधारमा यस्तो लाग्छ कि यो काम अरु कुनै टोलीले गरेको हो, तपाईले होइन । तर, धेरै व्यक्ति छन् जसलाई यो स्पष्ट छैन, त्यसैले हामीले धेरै कुराहरू नियन्त्रण गर्नुपर्दछ ।’ अमेरिकी राष्ट्रपति बुधबार इजरायलप्रति आफ्नो समर्थन देखाउन त्यहाँ पुग्नुभएको थियो ।
अमेरिकी राष्ट्रपतिको यो भ्रमणका क्रममा उहाँले जोर्डनमा प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास, इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसी र जोर्डनका राजासँग पनि भेट गर्ने योजना थियो तर अरब राष्ट्रले उहाँलाई भेट्न अस्वीकार गरेकाले अब उहाँको भ्रमण इजरायलमा मात्र सीमित रहनेछ ।
धेरै देशका नेताहरूले गाजा अस्पतालमा भएको आक्रमणको ‘निन्दा’ गरेका छन् र यसलाई ‘नरसंहार’ भनेका छन् । हमासको हमलापछि सुरुदेखि नै प्रतिक्रिया दिन सतर्क रहेको र अमेरिकी मध्यस्थताबाट इजरायलसँग नजिक हुँदै गएको साउदी अरेबियाले पनि इजरायलको कडा निन्दा गरेको छ ।
अस्पतालमा हमला असैहृय छ : फ्रान्स
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल-अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानविन गर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोष्ट गर्दै फ्रान्सले गाजामा अल–अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाउनु भएको छ । उहाँले सो आक्रामणमा परी धेरैको ज्यान गएको घटना माफी योग्य नभएको भन्दै मृतक परिवार प्रति समवेदन प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘अस्पतालमा आक्रामण गर्नुलाई कुनै पनि कुराले औचित्य दिन सक्दैन्, कुनै पनि कुराले नागरिकलाई निशाना बनाएको जायज ठहर्याउन सकिँदैन ।’
उहाँ अगाडि लेख्नुहुन्छ, ‘फ्रान्सले गाजाको अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ, जसले धेरै प्यालेस्टाइनीहरूलाई मारेको थियो । हाम्रो मन उहाँहरूसँग छ । सबै परिस्थितिमा प्रकाश पार्नुपर्छ ।’
अस्पतालमा भएको आक्रमणपछि धेरै अन्य देशहरूमा प्रदर्शन
गाजाको अल अहली अस्पतालमा भएको आक्रमणपछि प्यालेस्टाइनीहरूले मंगलबार राति वेष्ट बैंकका धेरै क्षेत्रमा प्रदर्शन गरेका थिए । ती मानिसहरूले प्यालेस्टिनी प्रशासन प्रमुख महमुद अब्बासविरुद्ध नारा लगाएका थिए । यहाँ प्रदर्शनकारीलाई रोक्न सुरक्षा बलले अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।
यस्तै, लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासबाहिर भेला भएका मानिसहरूले आगजनीसमेत गरेका थिए । यहाँ फ्रान्सेली दूतावासबाहिर भेला भएका अर्को समूहले ढुंगा हानेको पनि बताइएको छ । लेबनानको चरमपन्थी संगठन हिजबुल्लाहले मुस्लिम र अरबहरूलाई ‘तुरुन्त सडकमा आउन’ आहृवान गरेको छ ।
लिबियाको राजधानी त्रिपोली र अन्य शहरहरूमा प्यालेस्टिनी झण्डा बोकेका सयौं मानिस गाजाका जनताको समर्थनमा नारा लगाएका थिए । उही समयमा, प्रदर्शनकारी इरानको तेहरानमा ब्रिटिश र फ्रान्सेली दूतावास बाहिर भेला भए । टर्किए र जोर्डनमा पनि प्रदर्शन भएका छन् ।
संयुक्त राष्ट्रसंघद्वारा निन्दा
संयुक्त राष्ट्रसंघ, मानवअधिकार प्रमुख भोल्कर टर्कले मंगलबार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गर्नुभएको छ । आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्णरूपमा अस्वीकार्य भएको बताउनुभएको छ । ‘स्तब्ध छु । आज राति, सयौं मानिसहरू मारिए (भयानक रूपमा) गाजा शहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र देखेका परिवार पीडित भएका छन् । प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा ५०० प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्हृवालाई बताएनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विष्फोट भएको थियो । हामीलाई यो नरसंहारको पूर्णमात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ,’ यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ टर्कले भन्नुभएको छ । ‘नागरिकहरूलाई सुरक्षित गर्नुपर्दछ र मानवीय सहायता प्रदायकलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्छ,’ उहाँले जोड दिनुभएको छ ।
यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ । डब्ल्युएचओले भनेको छ (अस्पताल सञ्चालनमा थियो, बिरामी, स्वास्थ्यकर्मी र आन्तरिक रूपमा विस्थापित मानिस त्यहाँ आश्रय लिएका थिए । यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेका गाजा पट्टीको उत्तरमा अवस्थित २० मध्ये एक हो । डब्ल्युएचओले नागरिक र स्वास्थ्यकर्मीको तत्काल सक्रिय सुरक्षाका लागि आहृवान गर्दछ, निकासी आदेशहरू उल्टाउनुपर्दछ, र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गरिनुपर्छ, जसको अर्थ स्वास्थ्य सेवा सक्रिय रूपमा सुरक्षित हुनुपर्छ र आक्रमणबाट लक्षित गरिनु हुँदैन ।
मंगलबार राति जारी गरिएको समाचार टिप्पणीमा, रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले गाजाको अल अहली अरब अस्पताल ध्वस्त भएको र सयौंको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ । ‘अस्पतालहरू मानव जीवन बचाउनका निम्ति आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशका दृश्यहरू हेर्न होइन । अस्पतालको शैय्यामा आक्रमणबाट बिरामीको मृत्यु हुनु हुँदैन । अरूलाई बचाउन खोज्दा कुनै पनि डाक्टरले आफ्नो ज्यान गुमाउनु हुँदैन । अस्पताललाई अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत सुरक्षित हुनुपर्छ’ भनिएको छ ।
इजरायल र प्यालेस्टाइनी समूह हमासबीच भएको जारी द्वन्द्वमा दुवैतर्फ गरी चार हजार ५ सयजनाभन्दा बढी मारिएका बताइएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच