जिल्लाबाहिर जान हुम्लीलाई सास्ती, पहुँचका भरमा टिकट वितरण

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले मंगलबार दुई उडान भरे पनि दोस्रो फ्लाइटको टिकट मनपरी वितरण गरेको यात्रुको गुनासो छ । पहिलो उडान नेपालगञ्ज गरेर विकट जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा पुगे पनि एयरलाइन्सका कर्मचारीले फोन र फेसबुक म्यासेन्जरका आधारमा टिकट वितरण गरेको यात्रुको गुनासो छ । पहिलो फ्लाइटको टिकट सबैलाई मिलाएर वितरण गरे पनि दोस्रो फ्लाइटको टिकट कर्मचारीले मनपरी वितरण गरेको आरोप छ ।

एक हप्तादेखि टिकटका लागि सिमकोट विमानस्थलमा पुगे पनि फोनका आधारमा पहुँचवालाले मात्रै टिकट पाउने गरेको यात्रु राजबहादुर परियारले बताउनुभयो । निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेको उहाँको गुनासो छ । कर्णाली प्रदेशको सुर्खेतमा कात्तिक १८ गते हुने अध्यापन अनुमति पत्रको परीक्षा दिन जाने विद्यार्थी बढी मर्कामा परेको परियारले बताउनुभयो । यस्तै, खार्पुनाथ गाउँपालिका-३ का हस्ता रावलले सिमकोट विमानस्थलमा टिकटका लागि गत हप्तादेखि धाए पनि नपाएको दुःखेसो गर्नुभयो । निजी एयरलाइन्सका कर्मचारीले टिकटका लागि धाउँदा सामान्य सर्वसाधारणको कुरा नै नसुन्ने गरेको उहाँले बताउनुभयो ।

सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ । समिट एयरलाइन्सले दैनिक नियमित एक उडान गर्ने गरेको भए पनि सीता र तारा एयरलाइन्सले पछिल्ला केही दिनयता फाट्टफुट्ट मात्र उडान गरिरहेका छन् । जसले गर्दा मनपरी टिकट वितरण गर्ने गरिएको यात्रुको गुनासो छ । नेपाल एयरलाइन्सले गत शुक्रबार, शनिबार र आइतबार उडान भरेको थियो । समिट एयरलाइन्सले दशैँ अवधिभर नियमित उडान गर्दा जिल्ला भित्रिने र जिल्लाबाहिर जाने यात्रुलाई केही सहज भएको थियो ।

तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका सर्वसाधारणको गुनासो छ । जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनुका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो रावलको छ । दशैँ मनाएर जिल्लाबाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको उहाँले बताउनुभयो ।
सुर्खेतभन्दा नेपालगञ्ज जान हुम्लाबाट उडान अझ महँगो रहेको छ । त्यस्तै, नेपालगञ्ज जाँदा नौ हजार ११५ तिर्नुपर्छ । दशैँ मनाउन हुम्ला पुगेका विद्यार्थी, रोजगारीको सिलसिलामा जिल्लाबाहिर बस्दै आएका नागरिक, बिरामी लगायतलाई जिल्लाबाहिर फिर्ता हुन समस्या छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?