काठमाडौं । एसियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेन्ड ग्रोथ भन्ने नाराका साथ एसियन बैंकर्स एसोसिएसन र नेपाल बैंकर्स संघको संयुक्त आयोजनामा बिहीबारदेखि काठमाडौंमा ३९औँ वार्षिक बैठक तथा सम्मेलन सुरु भएको छ । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरूले इकोनोमी रिकभरीमा प्रशंसनीय काम गरेको बताउनुभयो । बैंकिङ क्षेत्रले पुँजी निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै दक्षिण एसियामा वित्तीय पहुँच बढ्दै गएको उहाँले बताउनुभयो । तथापि कोरोना महामारीदेखि नै विश्वव्यापीरूपमा समस्या आएको भन्दै गभर्नर अधिकारीले पछिल्लो समयमा मुद्रास्फीति बढिरहेको, उच्च ब्याजदरले कर्जाको मागमा प्रभाव पारेको बताउनुभयो । उल्लेखित समस्या समाधानका लागि एसियन बैंकहरूले भूमिका खेल्नुपर्ने र सहकार्यबाटै समस्या समाधानमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैंकका सिइओहरूलाई नेपालको जलविद्युत्मा लगानी गर्न आग्रह गर्नुभयो । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने उहाँले बताउनुभयो । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको उल्लेख गर्दै अर्थमन्त्री महतले लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ब्याजदर उच्च हुँदामात्रै अर्थतन्त्रमा समस्या आउँदैन, लगानीकर्ताको मनोबल खस्कियो भने पनि प्रभाव पार्छ, त्यसैले पनि वित्तीय स्थायित्वका लागि बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ ।’ एसियन बैंकर्स एसोसिएसन (एबिए)का अध्यक्ष युजेन एस एसेभेडोले नेपाली बैंकिङ क्षेत्र र बैंकरको प्रशंसा गर्दै नेपाली बैंकरहरू विश्वका धेरै देशमा रहेका र कतिपय ठाउँमा सिइओ भएर नै काम गरिरहेको जानकारी गराउनुभयो ।
नेपाली बैंकरसँग सीप र दक्षता पनि भएकाले अब नेपाली बैंकहरूले विदेशमा पनि गएर व्यवसाय गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली बैंकहरूको व्यवसाय विस्तारका लागि विदेशमा पनि जान सक्ने भन्दै सोहीअनुसारका नीति नियम बनाउनेतर्फ सोच्ने बेला आएको बताउनुभयो । शुक्रबारसम्म सञ्चालन हुने सम्मेलनमा १८ देशका ६३ सिइओ तथा बैंकरको सहभागिता रहेको आयोजकले जनाएको छ ।
एबिए सम्मेलनले नेपाली बैंकहरूलाई अन्तर्राष्ट्रिय बजारको बाटो खुला हुने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले दाबी गर्नुभएको छ । सम्मेलनबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । सम्मेलनमा नेपालसहित एसियाका बैंकहरूले भोगिरहेका समस्याबारे छलफल भइरहेको केसीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा एबिएका अध्यक्ष एइभिडोले विद्युत्, पर्यटन र पूर्वाधार क्षेत्रमा लगानीको अवसर रहेको बताउनुभयो ।
नेपाली बैंकको ३.५ प्रतिशत खराब कर्जा एसियाका अन्य देशको बैंकको तुलनामा धेरै नभएको भन्दै उहाँले नेपाली बैंकको खराब कर्जा एसियाका बैंकहरूको समग्रभन्दा आधामात्रै रहेको बताउनुभयो । कोरोनाले बैंकिङ क्षेत्रलाई गम्भीर असर पारेको उल्लेख गर्दै उहाँले एक सय वर्षअघि स्पेनिस फ्लुले समग्र विश्वको अर्थतन्त्रलाई गम्भीर असर पारेकोमा कोरोना महामारीले पनि अहिले असर गरेकाले रिकभरीका लागि समय लिनु सामान्य प्रक्रिया भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच