काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो । इजलासको लिखित आदेश आउन बाँकी रहेकाले कति समयभित्रमा बहसनोट बुझाउनुपर्ने भन्ने स्पष्ट भइनसकेको सन्दीपका कानुन व्यवसायी मुरारी सापकोटाले जानकारी दिनुभयो । दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै फैसलाका लागि बहस सुरु हुने सम्भावना छ ।
सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । उनले आफू नाबालिग रहेको दाबी गरे पनि उमेरमा विवाद छ । जिल्ला अदालत काठमाडौंले प्रारम्भिक सुनुवाइका क्रममा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उक्त आदेश उच्च अदालत पाटनले बदर गर्दै सन्दीपलाई २० लाख नगद धरौटीमा छाड्न आदेश दिएसँगै तीन महिना जेल बसेर सन्दीप छुटेका थिए ।
जेलबाट छुटेपछि सन्दीप राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । उच्च अदालतले उनलाई विदेश जान नदिने आदेश गरेको थियो । तर, त्यसविरुद्ध सर्वोच्च पुगेका सन्दीप आफ्नो पक्षमा आदेश भएसँगै क्रिकेट खेल्नका लागि विदेश पनि जाँदै आएका छन् ।
सर्वोच्चले यो मुद्दा छिटो टुंगो लगाउन जिल्ला अदालतलाई आदेश दिए पनि एक वर्ष बढी भइसक्दा पनि अन्तिम फैसला आउन सकेको छैन । बहसनोट झिकाएसँगै अब भने अन्तिम सुनुवाइ अगाडि बढ्ने सम्भावना बढेको छ । अर्को पेसी कहिले हुने भन्ने तोक्न बाँकी छ ।
सन्दीपको मुद्दामा एकपछि अर्को इजलासले पन्छाउँदै लामो समयदेखि सन्दीपको मुद्दा एकपछि अर्को इजलासले सुनुवाइ गर्नेभन्दा पन्छाउने हुँदै आएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व–कप्तानसमेत रहेका लामिछानेविरुद्ध गत २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।
१८ वर्षभन्दा कम उमेरकी (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो । १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन् । पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको छ ।
सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो ।
पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत नजिकिएका थिए । स्न्याप च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ । आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ । त्यसपछि आफूहरू नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन् । नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ थियो ।
काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्रावास) बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरू बसेका थिए । सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन् । उक्त घटनालगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नफर्किएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो । त्यसपछि सन्दीप असोज २० गते नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए । प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो ।
मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो । जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए । यद्यपि, विदेश जान नपाउने उच्च अदालतको सर्त सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । उच्च अदालतको आदेशपछि थुनामुक्त भएर क्रिकेट टिममा फर्किएका सन्दीप सर्वोच्चको आदेशपछि क्रिकेट खेल्नका लागि विदेशसमेत पुगेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच