काग तिहारमा रत्नपार्कमा काग सम्मेलन

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा २० औँ ‘काग सम्मेलन’ गरिएको छ ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर २० औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए ।

दुलालले विगत १९ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्ष कागहरु धेरै नआएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ अहिले काग लोप हुँदै गइरहेको छ, त्यस कारणले पनि सोचेको जति संख्यामा आएनन् । २० औं काग सम्मेलन राम्रै रह्यो । काठमाडौंमा गरेको १३ वर्ष भयो । कागसँग घनिष्ठ सम्बन्ध छ ।’

कलाकार दुलालले काग सम्मेलनको अवसरमा कागको शुभ संकेत दिँदाको स्वर र अशुभ संकते दिँदाको स्वर निकालेर सुनाउनुभएको थियो ।

यमपञ्चक (तिहारको पाँच दिन) मा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ । यसको शुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ ।

हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ । आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजानसक्ने भएकाले यमराजले कागलाई आफ्नो दुत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद् सन्देश ल्याउँदैन भन्ने विश्वास रहेको छ ।

यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ ।

कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घरआँगनमा राम्रो र सुखद् खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?