केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कार्यकारी निर्देशक घिसिङ

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा केबलकारहरु अझ धेरै संख्यामा निर्माण गरी पहाडी र हिमाली क्षेत्रमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने बताउनु भएको छ ।

हालसम्म नेपालमा केबलकार पर्यटकलाई यात्रा गराउने उद्देश्यले मात्र बनाइएको भन्दै उहाँले नेपाल जस्तो पहाड र हिमालको भूबनोट भएको मुलुकमा केबलकारलाई सडकको विकल्पमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने बताउनु भयोे।

शनिबार बुटवल र पाल्पा जोड्ने लुम्बिनी केबलकारको अवलोकनपछि पत्रकारहरुसंग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा केबलकारहरु सञ्चालन हुने संख्या बढ्दै जाँदा यसले आन्तरिक विद्युत खपत समेत बढाउने बताउनु भयो।

पहाडी क्षेत्रमा सडक बनाएर इन्धनबाट ढुवानी गर्नु धेरै महंगो पर्ने, ब्यापार घाटा बृद्धि हुने र वातावरण समेत प्रदुषित हुने भएकाले सरकारले केबलकारलाई प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो।

घिसिङले केबलकारहरुले नेपालमा पर्यटन प्रवद्र्धन,रोजगारी सिर्जनासंगै स्वच्छ उर्जा खपतमार्फत वातावरण संरक्षणमा पनि योगदान गरिरहेको बताउनु भयो । ‘केबलकारले पर्यटनमा टेवासंगै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेको छ’–घिसिङले भन्नुभयाे–‘पहाडका चुनखानीहरुबाट सिमेन्ट उद्योगसम्म ढुवानी गर्न केबलकारहरु सबैभन्दा उपयुक्त विकल्प हुनसक्छ,त्यसतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्छ ।’

सो अवसरमा घिसिङले केबलकारको टप स्टेशनमा रहेको बुटवल–पाल्पा ३३ केभीए प्रशारण लाइनको समेत निरीक्षण गर्दै करेन्ट लागेर हुनसक्ने सम्भावित दुर्घटना रोक्न बसन्तपुरमा एउटा पोल थप्न निर्देशन दिनुभयो । घिसिङले कामाख्यादेवी मन्दिरको दर्शन र पुजाआजा समेत गर्नु भयो ।

केबलकारका स्टेसन म्यानेजर डिएन कायस्थ सैंजूले स्थानीयसहित आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको लुम्बिनी केबलकारले प्रति महिना ६ लाख रुपैयाँ महशुल बराबरको विद्युत खपत गरिरहेको बताउनु भयो । उहाँले केबलकारले स्थानीयलाई प्राथमिकता दिई करिब सय जनालाई रोजगारी दिएको र प्रत्येक टिकट दरको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई सेवा शुल्क वापत बुझाउँदै आएको जानकारी गराउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?