
हाम्रो देशमा राजनीति गर्नेहरूले कहिल्यै पनि राष्ट्रको आवश्यकता के हो भनेर ध्यान दिने गरेका छैनन् । यही कारणले राजनीति फोहोरी खेल हो भन्नेहरूको मतमा समर्थन जुट्ने गरेको छ । वास्तवमा राजनीति फोहोरी खेल होइन । यो त नीतिहरूमध्येको सर्वश्रेष्ठ नीति हो । नीतिहरूको ‘राजा नीति’ भएकाले नै यसलाई राजनीति भनिएको हो तर राजनीति गर्नेहरू नैतिक आचरणबाट विचलित बन्दै गएकाले उनीहरूमा आचरणगत स्खलन आयो । पद र पैसाका लागि उनीहरू मरिहत्ये गर्न थाले र राजनीतिको भाष्य नै बिस्तारै फेरिएर गयो । यसमा राजनीति दोषी छैन, राजनीतिक व्यक्तिहरू दोषी छन् । उनीहरूबाट पद प्राप्तिका लागि जस्तासुकै कृत्य हुन थालेपछि मात्र राजनीतिको परिभाषा बदलिन थालेको हो ।
आगामी ७ गते हुने भनिएको प्रदर्शन पनि यसको दृष्टान्तका रूपमा आइरहेको छ । एक पक्षले व्यक्तिहरूका साथै राज्यप्रणालीको परिवर्तनको सपना बिछ्याएको छ भने अर्को पक्ष उक्त व्यक्तिको प्रतिकारमा सडकमा आउने भएको छ । झापाका एकजना व्यवसायी दुर्गा प्रसाई जो पहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो तर हालै पार्टीसँग खटपट भएपछि एमालेका विरुद्धमा आगो ओकलिरहनुभएको छ । उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत घरमा लगेर खाना खुवाइएका तस्वीर सामाजिक सञ्जालमा आउने गरेका थिए । पछि उहाँ एकाएक राजावादी बन्न पुग्नुभयो । राजतन्त्रको पुनःस्थापनाको अभियान लिएर उहाँ अगाडि आइरहनु भएको छ । एक-दुई चरणका अभियान सम्पन्न गरिसक्नुभएको छ ।
अभियानमा देशव्यापी दौडाहा गर्नुभएको छ । उहाँ बेलाबेलामा नेताहरूको पोल खोलिदिने धम्कीसमेत दिँदै आउनुभएको छ । यसबाट नेताहरू तर्सिएको जस्तो हालको अवस्थाले देखाएको छ । दुर्गा प्रसाई एकजना व्यक्ति हुनुहुन्छ तर कम्युनिष्ट पार्टीका नेताहरू उहाँबाट त्रसित भएको मानसिकतामा देखिँदै छ । निश्चय यसभित्र केही न केही कारण छ भनेर अनुमान गर्न कुनै गाह्रो छैन । बाघ घाइते भएपछि झनै खतरनाक ढंगले आक्रामण गर्छ भन्ने भनाइ छ । प्रसाईको तीर माओवादीभन्दा पनि एमालेतर्फ बढी केन्द्रित रहने गरेको छ । आपूm केन्द्रीय समितिमा बसेका कारण बढी छिद्र थाहा पाएर हुन सक्छ तर नेकपा एमाले उहाँसँग तर्सिनुको कारण भने नेपाली जनताले बुझ्न सकेका छैनन् ।
एमालेको युवा संघले उहाँलाई मोसो दल्यो तर उहाँ अझै विचलित बन्नुभएको छैन । उल्टो गुण्डा नाइकेका शैलीमा राजनीतिमा आउनुभएका एमाले नेता महेश बस्नेतलाई घरैमा गएर एक मिनेटमा ठीक पार्छु भनेर चेतावनी दिनुभयो । यही वाकयुद्धको केही समयपछि नेकपा एमालेका युवा नेता महेश बस्नेतको कुनै युवतीसँगको रोमान्सको भिडियो बाहिरियो । प्रसाईले पार्टीहरूको विरोधमा र राजाको समर्थनमा मंसिर ७ गतेदेखि आन्दोलन गर्ने भन्नुभएकै दिनदेखि नेकपा एमालेको युवा संघले पनि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । यो संयोग होइन प्रतिहार नै हो । तर, जनताका लागि यी कुनै फलदायी आन्दोलन होइनन् ।
यिनको कुनै औचित्य छैन । एमाले अहिले सत्ताविमुख छ । यसको अन्तरपीडा उसमा निश्चय होला तर प्रसाईसँग यसरी सिँगौरी खेलेर एमालेको प्रतिष्ठा उच्च बन्न सक्दैन बरू केही आँच आउने पक्का छ । एमालेले उठाएका केही कुरा सही छन् । सरकारका कमजोरीतर्फ बेलाबेलामा खबरदारी गर्नु आवश्यक हुन्छ, तर आवश्यकता र औचित्यविनाको प्रदर्शन राज्यको सम्पत्तिको खतिमात्र हो । एमालेले सरकराले गुण्डा र अपराधीलाई छुट्कारा दिएकोमा विरोध जनाएको छ । हत्यामा अपराधी प्रमाणित केही व्यक्तिहरूलाई छुट्कारा दिएर नेकपाले नै यसको सुरुवात गरेको थियो । हाल तिनै परम्पराले निरन्तरता पाएका मात्र हुन् ।
राष्ट्रपतिलाई पनि पार्टीको प्रतिनिधिका रूपमा काम गरेको आक्षेप एमालेले लगाएको छ । वर्तमान राष्ट्रपतिभन्दा धेरै गुणा बढी कार्य पूर्वराष्ट्रपतिबाट भएको इतिहास अझैसम्म टड्कारो छ । देश कमजोर बनाउन एमाले र नेपाली सेनामाथि आक्रमण भएको अभिव्यक्ति एमालेले दिएको छ । यो सेनाको सहानुभूति प्राप्त गर्ने चाहना हुनसक्छ । माइतीघर मण्डलामै बसेर ‘सेना आऊ देश बचाऊ’ भन्ने नाराका साथ केही व्यक्ति अनशन बस्ने कार्यक्रमको सार्वजनिक रूपमा जानकारी गराइएको छ ।
एमालेले यस्ता कार्यलाई समर्थन गरेको हो कि भन्ने माथिको भनाइबाट पुष्टि हुन आउँछ । तर नेपालमा सेना अगाडि आउने र राजतन्त्रको पुनःस्थापना हुने कुरा हालका अपेक्षित विषय होइनन् । जनता भोकमरी, महँगी बेरोजगारी, प्राकृतिक प्रकोपलगायतबाट आक्रान्त छन् । बरू तिनका पीडामा मलम लगाउनुपर्ने समय हो वर्तमान । खबरदारी आवश्यक हुन्छ तर त्यसमा आवश्यकता, स्वाभाविकता र सान्दर्भिकता देखिनुपर्छ । प्रदर्शनमा हुने खर्च भूकम्पपीडितको सहयोगमा खर्च गर्नसके उचित हुने थियो कि !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच