हाल आन्दोलनका नाममा केही अराजकताले त्यसमा स्थान पाइरहेको छ । तर, हिंसा जसले गरोस्, जुन बाहनामा गरोस् त्यो क्षम्य हुँदैन किनभने हिंसा हिंसा नै हो, त्यसले कोही न कोहीको जिउधन क्षति गराउँछ । यस कुरालाई इतिहासले प्रमाणित गरेको छ । नेपाली कांग्रेसले २००७ सालमा सशस्त्र क्रान्ति ग¥यो, सफलता पायो तर पञ्चायतको विरुद्धमा गरेको २०१८/०१९ को सशस्त्र क्रान्ति र २०३१ सालको ओखलढुंगा सशस्त्र क्रान्तिमा पराजित बन्नुप¥यो । त्यसपछि कांग्रेसले हतियारको बाटो छोड्यो । २०४२ को सत्याग्रह सफलताको निकट पुगेकै बेला षड्यन्त्रपूर्ण ढंगले त्यसलाई बिथोल्ने काम भयो । त्यसको केही वर्षपछि २०४६ सालको जनआन्दोलन भयो, त्यो सफल भयो ।
उक्त आन्दोलन हिंसात्मक थिएन अर्थात् हतियार उठाएर गरिएको थिएन । हिंसाबाट आएका राजनीतिक शक्तिहरूलाई जनताबाट छोटो समयमै पर पन्छाउँदै लगिएको दृष्टान्त हालैको समयमा देखिएकै छ । जनताको मन जितेर आएका राजनीतिक शक्तिहरू भने लामो समयसम्म रहिरहन सक्छन् । हाल सरकारविरुद्धमा प्रदर्शन भइरहेको छ तर यो प्रदर्शनको मार्गचित्र स्पष्ट छैन । किन ? केका लागि यो प्रदर्शन भइरहेको छ ? जनताले बुझेका छैनन् । परिवर्तनको नारा लिएर कोहीअगाडि आउने हो भने त्यस शक्तिले आफ्नो स्पष्ट नीति, उद्देश्य र लक्ष के हो भन्न बारेमा आफैंलाई अलमल नहुने गरी स्पष्ट दृष्टिकोण तयार पार्नुपर्छ । हो, जनता वर्तमान सरकारसँग असन्तुष्ट छन् तर यसो भन्दैमा उनीहरू जो र जसको पनि पछि लागिहाल्छन् भन्ने होइन ।
वर्तमान पार्टी नेता र नेतृत्वको विकल्प जनताले चाहेका छन् । जस्तो मानिस सडकमा ओर्लिन्छ त्यसैको पछि उनीहरू लागिहाल्छन् भन्ने छैन । न नीति छ, न नेतृत्व सामथ्र्य भएको मानिसले प्रदर्शनको अगुवाइ गरिरहेका छन् । पूर्वराजालाई एजेण्डा बनाएर सडकमा नारा लाग्ने गरेको छ तर राजाकै भावनाको प्रतिबिम्बन हुनेगरी कुनै कार्यक्रम अगाडि सारिएको छैन । आन्दोलन गर्ने पक्षले निश्चित माग सरोकारवाला पक्ष वा अहिलेको सन्दर्भमा भन्ने हो भने सरकारसमक्ष पेश गरेर वार्ताबाट ती माग पूरा गराउन नसकिएको खण्डमा मात्र आन्दोलन गर्ने पक्ष सडक आन्दोलनमा आउनुपर्ने हो । हालको आन्दोलन प्रक्रियागत रूपमा सडकमा आएको छैन ।
नेतृत्व र लक्ष दुवै अनिश्चित छन्, भिडले अराजक भएर नारा लगाउने गरेको छ, यो आन्दोलनले एउटा निश्चित मार्ग तय गर्नसक्ने सम्भावना छैन । सरकार पनि कठोर बनेर प्रस्तुत हुन सकेको छैन । तिनलाई समातेर थुन्न र मुद्दा लगाउन सक्नुपर्छ । त्यसो गर्नुको सट्टा बाटो हिँड्ने, राष्ट्रिय पोशाक लगाउने, टोपी लगाउनेहरू सर्वसाधारणालाई पक्राउ गरेर दुःख दिइरहेको छ । सरकारको यो आलोच्य पक्ष हो । अर्कातिर वरिष्ठ पत्रकार तथा लेखक सौरभ सत्यालको भनाइलाई पनि प्राथमिकतामा राखेर चर्चा गर्ने गरिएको छ । राजतन्त्र ल्याउने र पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई राजा बनाउने उहाँको तर्क हो । कोही एकजना व्यक्तिको तर्क उसको निजी विचार हो । यस्तो तर्क सम्भावना बाहिरको विचार हो ।
उता केही अतिवादी धर्मगुरुको अराजक व्यवहारसमेत प्रदर्शनको मसला बन्न पुगेको छ । अराजकता समाधानको बाटो हुन सक्दैन । एकातिर धर्म र अध्यात्मलाई आफ्नो दैनन्दिनी बनाउने र अर्कोतिर अराजक गुण्डानाइकेको शैलीमा हतियार देखाउने प्रवृत्तिले अझै अराजकतालाई नै बढावा दिनेमात्र हो । यस्ता मानिसहरू धर्मगुरु हुन सक्दैनन्, धर्मको आवरणभित्रका अराजकवादी व्यक्तिमात्र बन्न पुग्छन् । धर्मशास्त्रले धर्मको रक्षाका लागि शस्त्र उठाउनुलाई जायज मान्छ तर हाल त्यस्तो बेला आइसकेको छैन र हतियार देखाउनेहरूले त्यसको आवश्यकताको पुष्टि गर्न सक्नुपर्छ ।
जथाभावी हतियार देखाउनाले एकातिर जनतामा भय सिर्जना हुनपुग्छ भने अर्कातिर जसका विरुद्ध हतियार उज्याउने काम हुन्छ त्यो पक्ष अझै बढी उत्तेजित बन्न जान्छ । यस्ता गतिविधि निरुत्साहित हुनु आवश्यक छ । सरकारमा रहेका र सरकारबाहिर भएकका गणतन्त्रवादी नेताहरू गणतन्त्रकका पक्षमा एक हुनुभएको छ । देशको रक्षा र संविधानको प्रतिरक्षा भन्ने प्रतिबद्धता उहाँहरूले व्यक्त गर्नुभएको छ । यो सकारात्मक पक्ष हो तर जनता चाहिँ नेता र गणतन्त्रको बचाउका लागि मात्र नेताहरूको ढाल बन्न तयार छैनन् भन्नेतर्फ नेताहरूले सोच्नु आवश्यक हुन्छ । व्यक्तिगत र दलगत स्वार्थमा मात्र लागिरहने हो भने चाहिँ नेताहरूलाई सधैं जनताले काँध थापिरहन्छन् भन्ने कुराको प्रत्याभूति कसैले पनि गर्न सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच