
✍️ गणेश लम्साल
अनुभवहरूको सँगालो जिन्दगी हो । जिन्दगीमा मानिस नयाँ नयाँ प्रयोग र अनुभवमा रमाउने चाहना राख्दछ । मानिसको जिन्दगीमा नियमितताले भन्दा पनि आकस्मिकताले रोमञ्चकता पैदा गर्छ । निर्धारित योजनाभन्दा आकस्मिक योजना पूरा हुने गर्दछन् । आकस्मिक योजनाले दिलाएका अनुभव अविस्मरणीय हुन्छन् । आफूमा उत्साह र दृढ आत्मविश्वास भएपछि जुनसुकै कुरा पनि पूरा गर्न सक्छ मानिस । त्यस्तै थियो हाम्रो खुमैडाँडाको पदयात्रा । पदयात्राका निम्ति अत्यन्त उत्साही थियौं हामी ।
खुमैडाँडाको पदयात्रा पूर्वनिर्धारित नभइकन पोखरामा आकस्मिक रूपमा बन्न पुगेको थियो । अर्घाखाँचीबाट बुटवल हुँदै घुम्नका लागि पोखरा पुगेको हाम्रो टिममा द्रोण लम्साल दाइ बसन्ता लम्साल ‘बहिनी’, रमेश आचार्य दाइ, इन्दिरा आचार्य दिदी र स्वयम् आख्यानकार थियौं । यो टिम पोखराका फेवाताल, विन्ध्यवासिनी, पुम्दीकोट, पातले छाँगो, गुप्तेश्वर गुफालगायत ठाउँमा घुमेपछि पदयात्राको कुरा चल्यो । हाम्रो टिममा पदयात्राको कुरा चलेपछि आकस्मिक रूपमा पोखराबाट जोडिनुभएको थियो उमेश ढकाल दाइ, दुर्गा थपलिया तिमिल्सिना र फणीन्द्र तिमिल्सिना दिदी-भनाजु । आठजनाको टिम बनेको थियो खुमैडाँडा पदयात्रामा ।
२०८० कार्तिक २१ गते साढे आठ बजे पोखराको होम ल्याण्ड होस्टेल, जाल्पारोडबाट सुरु यात्रा घामताराबाट पदयात्रामा परिणत भयो । हाम्रो टिममा उमेश र रमेश दाइ पदयात्राका अनुभवी हुनुहुन्थ्यो भने बाँकी नयाँ । फणीन्द्र र दुर्गा पहिला एक दुईवटा पदयात्रामा सरिक हुनुभएको थियो तर उहाँहरूका निम्ति खुमैको जस्तो पदयात्रा पहिलो थियो । घामताराबाट यात्रा सुरु हुनासाथ पदयात्राको बाटो उकालो थियो । केही अप्ठ्यारो पनि थियो, त्यसमा पनि चर्को घाम लागेको ।
त्यसैले होला यात्राको सुरुमै केही अप्ठ्यारो भएको दुर्गा दिदीलाई बिस्तारै सहज हुँदै गयो उहाँले यात्रालाई स्मरणीय बनाउनुभयो । घामताराबाट लगभग साढे दुई घण्टा हिँडेर हिलेखर्कमा पुगेर खाना खायौं । केही समय त्यहीँ भुलेर यात्रा अगाडि बढ्यौं । खुमैबाट फर्केकाहरू बाटो अप्ठ्यारो भएको मिश्रित प्रतिक्रिया दिँदै हुनुहुन्थ्यो । मनमा उत्साह र तनमा जोस बोकेर अगाडि बढेका हामी पदयात्रालाई यादगार बनाउँदै उकालो चढ्दै गयौं ।
खुमै पुग्नै लाग्दा सिमसिम पानीको जस्तै आवाजमा सारै साना हिउँका कण (तुसारो) परेका थिए । हामी त्यो देखेर रमायौँ । हामीले लिन आउनुभएका दाइलाई सोधेका थियौ कि हिउँ पर्न लागेको हो भनेर तर होइन रहेछ ।
बाटामा विभिन्न रूखमा फल्दै गरेका फललाई नियाल्दै बढ्दै थियौं । यसै क्रममा फँडेलजस्तै देखिने काला दाना भएका फल भेट्यौं । खानु पर्यो भनेर टिपियौँ, चाखेको त तीतो रहेछ । नचिनिकन कुनै फल मुखमा नहाली अगाडि बढ्यौं । झर्दा भने पैदाल यात्रीले दिएका जंगलमै पाइने मल्लोका दाना चपाउँदै झर्यौं जुन अमिलो स्वादमा मीठो थियो, जसले भकिम्लोको स्वादलाई ब्युँझाएको थियो । अघिल्लो दिनको पदयात्रालाई निरन्तरता दिन जंगलको बाटालाई पछ्याइराखेका थियौँ । लाली गुराँसको बहुलता रहेको वनको बाटो चिचिम्ले, समसुर देउराली हुँदै लुप्रुचु पुग्यौँ ।
पदयात्राका अनुभवी उमेश दाइ खाना-बस्नको प्रबन्धका लागि अगाडि गइसक्नुभएको थियो । इन्दिरा दिदी, रमेश दाइ र म मध्ये लुप्रुचु पुगेर छुट्टियौँ । उहाँहरू अगाडि बढ्नुभयो भने म पछाडि आउँदै गर्नुभएकी दुर्गा दिदी, फणीन्द्र भिनाजु, द्रोण दाइ र वसन्ता बहिनीलाई पर्खेर अगाडि बढ्यौँ । यात्रामा अलिक गाह्रो भएकी दुर्गा दिदीलाई हौसला दिँदै रमाइला गफगाफका साथ वरिपरिका रूख बिरुवा झाँडी बुट्यानलाई आफ्नै तरिकाले वर्णन गर्दै र रमाउँदै अगाडि बढ्यौँ । लुप्रुचु २९४० मिटरबाट लगभग साँझको पाँच बजेतिर अगाडि बढेका थियौं । बिस्तारै बढ्दो उचाइ र सन्ध्याकालीन वातावरणले यात्रालाई सुरम्य बनाइराखेको थियो ।
खुमैडाँडा पुग्दाको बाटो अलिक उकालो र अप्ठ्यारो हो भन्ने महसुस भोलिपल्ट झर्दा गरियो । अघिल्लो दिन रात परिसकेकाले आँखाले धेरै परसम्म देख्ने अवस्था थिएन । बिस्तारै पार गरेका थियौँ, अँध्यारो बढ्दै थियो । गन्तव्य भेट्ने धुनले मोवाइलमा गीतका भाका सुन्दै र सुसेल्दै, रात्रिकालीन वातावरणलाई क्यामेरामा भन्दा पनि मानसपटलमा कैद गर्दै अगाडि गयौँ । सूर्यास्त भएको पौन घण्टा बढी भइसकेको थियो तर यात्रा जारी थियो । अगाडि पुग्नु भएका दाइहरूले लिन भनी एकजना होटेलकै मानिसलाई पठाउनुभएको रहेछ ।
मोबाइल बत्तीकै सहारामा साढे छ बजेतिर खुमैडाँडा ३२४५ मिटरमा पुगियौं, जुन हाम्रो गन्तव्य थियो त्यसदिनका लागि । भोलिपल्ट त हिमालकै काख कोर्चाङ ३६८२ मिटरमा पुग्ने लक्ष्य थियो । घामताराभन्दा माथि हिलेखर्कतिर लागेपछि खासै नेटवर्क टिप्ने रहेनछ । कुनै-कुनै डाँडामा नेटवर्क टिपेको देखिन्थ्यो । एक पटक समसुर देउराली नजिकबाट घरमा रहनुभएका आफन्तलाई रमाइलोका साथ पदयात्रामा अगाडि बढिराखेको सुनाएका थियौं । सोलार बत्तीमात्र थियो । पानीको अभाव देखिन्थ्यो तर यी सबै गौण कुरा भए हाम्रा लागि । किनकि हामीलाई खुमैडाँडाबाट हिमालको सुन्दरता हेर्ने लक्ष्यले अभावको महसुस खट्किएन । जे थिए तिनैमा हामी रमायौं ।
खुमै पुग्नै लाग्दा सिमसिम पानीको जस्तै आवाजमा सारै साना हिउँका कण (तुसारो) परेको थियो । हाम्र लागि रमाइलो भयो, रमायौं । लिन आउनुभएका दाइलाई सोधेका थियौं, कि हिउँ पर्न लागेको हो ? होइन । हिउँ पर्ने समय पुस लागेपछि हो भन्नुभयो । त्यो सिमसिम पर्दै राखेको हिमकण पनि एकै छिनमा रोकियो ।
खुमैडाँडामा पुग्नासाथ अदुवा र मरिच मिश्रित चियाले स्वागत गरियो, जुन प्रबन्ध अगाडि पुग्नुभएकाले व्यवस्था गर्नुभएको रहेछ । उता इन्दिरा दिदीलाई लेक लागेर बान्ता भएको रहेछ । लसुन र तातो पानीको व्यवस्था गरियो । एक छिनपछि आठैजनाको टिम एउटै रूममा जम्मा भयौं । तातो पानी पिउँदै सुरु भएको हाम्रो गफगाफ अन्ताक्षरीतर्फ अगाडि बढ्यो । उमेश दाइको सुरिलो भाकामा एकछिन् मन्त्रमुग्ध बनियो । रातको खाना खाएर एघार बजेतिर निद्रादेवीको शरण प¥यौं । उमेश दाइले भनेबमोजिम बिहानको चार बजेको अलाम राखेको थिएँ मैले ।
निद्रादेवीको कृपा यति परेछ कि एकैपटक अलामका साथ आँखा खुले । उमेश दाइलाई उठाएर म पनि कोर्चाङ डाँडा जाने तयारी गर्न लागेँ । अरू आ-आफ्नो तयारीमा लाग्नुभयो । पौने पाँचतिर रमेश, द्रोण र उमेश दाइ, सन्ता बहिनीका साथ मेरा पाइला जुनेली उज्यालोमा कोर्चाङतिर अगाडि बढे । स्वास्थ्यको प्रतिकूलताका कारण इन्दिरा, दुर्गा दिदी र फणीन्द्र भिनाजु खुमैडाँडामै बस्नुभयो । धेरैजसो त खुमैडाँडाबाट नै हिमाल हेरेर फर्किने गर्नुहुँदो रहेछ । खुमैडाँडाबाटै हिमाललाई नियाल्न सकिने हुँदा कोर्चाङमा थोरै मानिस मात्र पुग्ने गरेको बुझियो । हामी चाहिँ कोर्चाङमा नै पुग्ने अठोट बोकेकाले उजेली रातमा सूर्योदय हुनुपूर्व खुमैबाट कोर्चाङ पुग्नका निम्ति अगाडि बढ्यौं ।
त्यो शान्त रात, जुनेली उज्यालो, चिसो मौसम र पैदल यात्रा आफैंमा अपूर्व संयोग बनेका थिए हाम्रा लागि । हामीसँगै जानेहरूले टर्चको सहारा पनि लिएका थिए तर जुनेली रातमा हाम्रा पाइला बिनाटर्च लाइट गन्तव्य ताकिराखेका थिए । जुनको उज्यालोमा गोरेटो पहिल्याउँदै अघि बढ्नुको मजा पनि बेग्लै किसिमको थियो । सानो गोरेटो कतै उकालो, कतै ओरालो त कतैसम्म परेको थियो । करिब डेढ घण्टाको हिँडाइपछि बिहानको ६ः १८ बजे कोर्चाङमा ३६८२ मिटर पुगेर हिमालको माथमा आँखा पर्दाको खुशी बेग्लै थियो ।
हामी कोर्चाङ पुगेको एकै छिनमै हिमालको सिउँदो भर्न सूर्यका रश्मिहरू आइपुगे । अत्यन्त चिसो मौसममा त्यहाँ पाइएको चिया हाम्रा निम्ति अमृत बन्यो । हामीले चियाको उष्णताले तनलाई तताउँदै र हिमाली सुन्दरताले मनलाई अहृलादित बनाउँदै कोर्चाङको पर्यावरण नियाल्न थाल्यौं । क्रमशः हिमशिखरमा सूर्यका किरण परेर स्वर्णिम हुँदै उज्यालो बन्दै गएका मनमोहक हिमशैलका दृश्यमा एकछिन् हराउँदाको क्षण आहृलादमय थियो । अन्नपूर्ण, मर्दी र माछापुच्छ्रेमा सूर्यका रश्मिहरूले स्पर्श गरी सिर्जना गरेका ती अनुपम दृश्यहरू देख्दा आनन्दानुभूतिको सीमानै थिएन । मन चंगा भएर हिमालको सुन्दरतामा हराइराखेको थियो । हिमालको त्यो शालीनता, शीतलता, गम्भीरता, एकान्तता, दिव्यता, मनमोहकता, रमणीयता, निष्कपटा, स्वच्छता र निर्मलतालाई नै देखेर होला भगवान् शिवले बासस्थान, प्राचीन ऋषि महर्षिले तपोभूमि र साहित्यप्रेमीले कविताको केन्द्र बनाएका । साहित्यमा वर्णित हिमाली सुन्दरतामा हराउने हामीले हिमाललाई आफ्नै आँखाअगाडि नियालिरहेका थियौं । यो हाम्रा लागि अत्यन्त आनन्दमय क्षण थियो पदयात्राको । हिमालको सुन्दरतामाथि अनेकौँ भाव मनमस्तिष्कमा तरंगित भएका थिए । लगभग पौने दुई घण्टा हिमालको काखमा बिताएर हामी कोर्चाङबाट खुमैडाँडातर्फ ओरालो लाग्यौं । त्यतिन्जेल हामीले हिमाललाई पृष्ठभूमिमा राखेर एकल एवं सामूहिक तस्वीर लियौं ।
मनमा हर्ष र आनन्दको विशेष क्षणमा लिएका तस्वीर पनि मानव जीवनमा सकारात्मक ऊर्जाका प्रतीक बन्ने गर्दछन् । तस्वीरले मानवलाई पुरानै अवस्थामा विचरण गराउन र आनन्दको सञ्चार गराउन सक्दछ । हिमाल आश्रित तस्वीरहरू खिचेर हामी तब फर्कियौं जब कुहिरोले हिमाललाई ढाक्यो । सूर्योदय भएको लगभग पौने दुई घण्टासम्म घुम्टो उघारेको हिमालले पुनस् कुहिरोको घुम्टो ओडेर हामीलाई बिदाइ गर्यो ।
बेलाबखत थकान मेट्दै-मेट्दै हाम्रो टिम सवा पाँच बजे घामतारा पुग्यो । घामतारबाट जिपमा चढेर अघिल्लो दिनकै बाटो फर्कियौं हामी । घामतारा, टुसे, घाचोक, लाहचोक, हेम्जा हुँदै हामी साँझको ६ः१९ बजे होम ल्याण्ड होस्टेल, जाल्पारोड पुग्यौं ।
खुमैडाँडाबाट कोर्चाङ जाँदा जुनेली रातको उज्यालामा गएका हामी फर्किंदा घमाइलो वातावरणमा थियौं । घामले तुसारो पग्लिएर ओरालो बाटो अत्यन्त चिप्लो भएको थियो । हामी बिस्तारै वरिपरिको वातावरण नियाल्दै झर्दै थियौँ । तुसारोले खाएको घाँसले ढाकेको पहाडको सुन्दरता आँखालाई लठ्ठै पार्ने खालको थियो । झरेको बाटो फर्किएर हेर्दा डरलाग्दो नै देखिन्थ्यो । साढे नौ बजेतिर हामी खुमैडाँडामा झरेर बिहानको नास्ता गर्यौं । नास्तापछि आफ्ना सरसामान जम्मा गरेर खुमैडाँडाबाट ओरालो लाग्यौं हामी । उमेश दाइ, दुर्गा दिदी र इन्दिरा दिदीअगाडि नै निस्किनुभएको रहेछ ।
हामीहरूले हिजो रातको समयमा पछ्याएको बाटालाई भोलिपल्ट दिनमा पछ्याउँदै गर्दा डरलाग्दो देखियो । केही बेरको हिँडाइपछि दुर्गा दिदी र इन्दिरा दिदी भेटिनुभयो । उहाँहरूले पनि खुमैडाँडाबाट हिमाल हेर्दाको अनुभव साट्नुभयो हामीसँग । हामीले पनि कोर्चाङको नालीबेली बिस्तार लगायौं । उमेश दाइअगाडि बढिसक्नुभएको रहेछ । उहाँ त्यहाँबाट पोखरा झरेर बेनी पुगेको खबर पोखराको जाल्ला रोड नपुग्दै पाएका थियौं हामीले । यता हामी बिस्तारै डाँडा, पाखापखेरा नियाल्दै र अघिल्लो दिन थकान मेटाएका ठाउँहरू चिनाउँदै झर्यौँ । उकालो चढ्दाभन्दा ओरालो झर्दा अलिक गाह्रो हुने रहेछ भन्ने कुरा अघिल्लो दिन झर्ने यात्रीका मुखाकृतिले गरेको संकेत आफू झर्दा महसुस गर्यौं तर पनि हामी हँसिलो मुद्रामै झरेका थियौं ।
हामीले खुमैडाँडा चढ्दै गरेका यात्रीहरूलाई हौसला दिँदै झर्यौं । जुनअघिल्ला दिनका यात्रीहरू बाटो साह्रै अप्ठ्यारो भएको गुनासो गर्दै झरेका थिए । हो गन्तव्य ताक्न बाधा व्यवधान सहनै पर्छ । अर्को कुरा जति अप्ठ्यारो उनीहरूले मानेका थिए हाम्रो टोलीमा कसैले मानेन र उनीहरूले भनेकोभन्दा छिट्टै समयमै हाम्रो टोली गन्तव्यमा पुगेर फर्किंदै थियो । हामीले पौने दुई बजे हिलेखर्कमा पुगेर खाना खायौं । पौने तीन बजे घामतारातर्फ अगाडि बढ्यौं । उकालो चढ्दा जुत्ताले सहज गराए पनि ओरालो झर्दा केही अप्ठ्यारो गराएकाले चप्पलको आवश्यकता महसुस गरेका थियौं हामीले ।
बेलाबखत थकान मेट्दै हाम्रो टिम सवा पाँच बजे घामतारा पुग्यो । घामतारबाट जिपमा चढेर अघिल्लो दिनकै बाटो फर्कियौँ हामी । घामतारा, टुसे, घाचोक, लाहचोक, हेम्जा हुँदै हामी साँझको ६ः१९ बजे होम ल्याण्ड होस्टेल, जाल्पारोड पुग्यौं । यसरी हाम्रो पदयात्राले एक चक्र पार गरी पूर्णविराम लियो । हामीले रातको खाना दुर्गा दिदीले चलाउनुभएको होम ल्याण्ड होस्टेलमै बसेर खायौं । पदयात्राका रमाइला गफगाफले मन त थाकेको थिएन तर तनले आरामको आवश्यकता महसुस गरेकाले हामी रातको बाह्र बजेतिर निद्रादेवीको शरण पर्नका निम्ति दुर्गा दिदीले मिलाउनुभएका होस्टेलका कोठातर्फ लाग्यौँ । भोलि बिहान उठ्दा सूर्यका किरणले उज्यालिएका हिमालका मुहार कोठाबाट प्रष्टै देखिएका थिए ।
हाम्रो टिमका हरेक सदस्यले आ-आफ्नै कथा बनाउनुभएको छ यस पदयात्राको । विषेशगरी खुमै पुग्न सक्दिन कि भन्नुभएकी तर सहजै पुग्नुभएकी दुर्गा दिदी, पदयात्राको उत्कट इच्छाले रमाउनुभएकी तर खुमैमात्र पुग्नुभएकी कोर्चाङ पुग्न नसक्नुभएकी इन्दिरा दिदी र सहजै कोर्चाङ पुगेकी वसन्ता बहिनीका आ-आफ्नै कथा बनेका छन् । सबैले पदयात्राको आनन्दलाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । यो पदयात्रा मेरा निम्ति पनि विशेष स्मरणीय बनेको छ । अन्त्यमा भन्छु कि हिँडे संसारमात्र होइन, यही संसारमै स्वर्ग पनि भेटिँदो रहेछ । खुमैडाँडा हुँदै कोर्चाङको पदयात्राले नेपाल भूस्वर्ग नै हो भन्ने प्रमाणित गर्छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका अन्तर्गत रहेको यस पदमार्गलाई स्थानीयले ग्रेट माछापुच्छ्रे ट्य्रालिफ (जिएमटी) नाम दिएका छन् । वातावरणलाई असर नपर्ने गरी यस पदमार्गलाई विकास गर्ने सके पदयात्रीलाई सहज हुनेछ, जसले आन्तरिक एवं बाहृय पर्यटन प्रवर्धनमा टेवा पुग्छ । त्यस्तै विद्युत्, नेटवर्क र खानेपानीको जोहोमा सम्बन्धित निकायले छिट्टै पहल गरोस् । पदयात्रीले फाष्ट फुडका प्लास्टिकजन्य फोहोरलाई बाटाको छेउमा जथाभावी फालेको देखियो । यसका लागि पदयात्री पनि अनुशासित हुनु जरुरी छ भने सम्बन्धित पक्षले निगरानी पनि गर्नुपर्ने देखिन्छ । प्रकृतिमा रमाउने चाहनेहरू प्रकृतिप्रेमी पनि बनुन्, प्रकृति संरक्षण आजको अपरिहार्य विषय बनेको छ । भावी सन्ततिका लागि प्रकृतिलाई आफ्नै स्वरूपमा हस्तान्तरण गर्न सक्नु असल मानिसको परिचय हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच