
ढाका । अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी)ले बुधबार सार्वजनिक गरेको अध्ययनले बंगलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ । अत्यधिक प्रकोप-प्रवण र जलवायु-संवेदनशील तटीय क्षेत्रहरूमा हुने गरेका बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको तथ्यांक देखिएको छ ।
बंगलादेशका थुप्रै तटीय समुदायहरूमा जलवायु परिवर्तनको प्रभावमा जबरजस्ती बसाइँसराइ, चरम गरिबी, बढ्दो लैगिंक हिंसा, शिक्षामा सीमित पहुँच र खाद्य सुरक्षा चुनौतीलगायतका कारणले बालविवाह गर्न बाध्यता सिर्जना भएको आइआरसीले उल्लेख गरेको छ ।
अध्ययनले विगत दुई दशकमा बाढी र चक्रवातजस्ता प्रकोपमा भएको वृद्धि पनि बढ्दो बालविवाहको एक प्रमुख कारण मानेको छ । यस्ता विभिन्न कारणहरू सिर्जित समस्याहरूलाई सम्बोधन गर्न आईआरसीले विकसित स्थितिको मूल्यांकन गरिरहेको र जलवायु परिवर्तन र जलवायु-प्रेरित प्रकोपहरूबाट बालबालिकालाई हुनसक्ने प्रत्यक्ष क्षतिबाट जोगाउन उपलब्ध स्रोतसमेत परिचालन गरिरहेको बताएको छ ।
आईआरसी बंगलादेशकी निर्देशक हसिना रहमानले भन्नुभएको छ, ‘आज बंगलादेशमा विहाह योग्य उमेर हुँदै गरेका आधा केटीहरूको १८ वर्ष नपुग्दै विवाह हुनेगरेको पाइएको छ भने, २२ प्रतिशत केटीहरूको १५ वर्षको उमेरअघि नै विवाह हुनेगरेको पाइएको छ ।’
‘यद्यपि, खाद्य असुरक्षा र गरिबी, अनियमित वर्षाको ढाँचा, बढ्दो तापक्रम, र बढ्दो आवृत्ति र प्रकोपहरूको तीव्रताको सामना गरिरहेका तटीय क्षेत्रहरूमा बस्ने केटीहरूका लागि यो अवस्था अझ बढी अस्थिर र दर्दनाक छ’, निर्देशक रहमानले भन्नुभयो ।
यसैबीच आईआरसीले जलवायु परिवर्तन सिर्जित समस्यालाई सम्बोधन गर्न दिगो कोष स्थापना गर्न र यस जटिल संकटलाई सम्बोधन गर्न सरकार, दाताहरू र गैरसरकारी संस्थाहरूबाट तत्काल सहयोगका लागि आहृवानसमेत गरेको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच