म्याग्दीको पौलस्त्य पुलहाश्रममा हेलिप्याड निर्माण

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । नागरिक-सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यसहित म्याग्दीको बेनीमा नवनिर्मित हेलिप्याड स्थानीय पालिकालाई हस्तान्तरण भएको छ । म्याग्दीको बेनीनगरपालिका-५, पुलाचौरमा रहेको पौलस्त्य पुलहाश्रम क्षेत्रमा नवनिर्मित हेलिप्याड नगरपालिका र वडालाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको दक्ष जनशक्ति तथा प्राविधिकको सहयोगमा बनाइएको हेलिप्याड म्याग्दीको बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ । नागरिक र सैनिकबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन र विपद् व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले हेलिप्याड बनाइएको छ ।

नेपाली सेना पश्चिम पृतना हेडक्वाटरको ‘एक आर्थिक वर्ष, एक युनिट, जोडी हेलिप्याड निर्माण’ कार्ययोजनाअन्तर्गत नागरिकमैत्री हेलिप्याड बनाइएको नेपाली सेनाले जनाएको छ । हेलिप्याड निर्माण कार्यमा बेनी नगरपालिका र वडा कार्यालय पुलाचौरले आर्थिक व्यवस्थापन गरेका थिए भने नेपाली सेनाको शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेक म्याग्दीबाट दक्षजनशक्तिसहित प्राविधिक सहयोग उपलब्ध भएको थियो ।

नवनिर्मित हेलिप्याडको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपककुमार बानियाँ र म्याग्दीको बेनी नगरपालिकाका मेयर सुरत केसीले हिजो आइतवार एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

समुद्री सतहदेखि १७ सय १० मिटरको उचाइमा निर्माण गरिएको हेलिप्याडको डायमिटर (लम्बाइ र चौडाई) ४० फिट रहेको छ । हेलिप्याडमा साना, मझौला र एमआई सेभेन्टिनलगायत हेलिकप्टरहरु सजिलै अवतरण गर्न सक्ने नेपाली सेनाले जनाएको छ । नवनिर्मित हेलिप्याडबाट पौलस्त्य पुलहाश्रमको भ्रमण तथा दर्शन गर्न आउने पर्यटकहरुलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?