गलेश्वर धाममा ४० हजार भक्तजन, छ लाख बढि भेटी संकलन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका-९ स्थित गलेश्वरधाममा बालाचतुर्दशी पर्वका अवसरमा ४० हजार भक्तजनले सतविज छरेका छन् भने रु छ लाख बढि भेटी संकलन भएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषले सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सन् २०२० यता (कोरोना महामारी पछि) सवै भन्दा धेरै भक्तजनहरु आएको जनाएको छ ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा देशै भरीबाट मानिसहरु पूजाआजा, दर्शन र शतबीज छर्न आएका बताउनुभयो । “कोरोना महामारीयता सवैभन्दा धेरै भक्तजन यस वर्षको बालाचतुर्दर्शीमा गलेश्वर धाममा आए, करिव चालिस हजार भक्तजनहरुले गलेश्वरको दर्शन गरे ’’उहाँले भन्नुभयो ।

उहाँकाअनुसार मंगलवार (हिजो) भक्तजनहरुबाट संकलन भएको भेटी गणना गर्दा रु छ लाखदुई हजार दुई सय ३३ रुपैयाँ भेटी संकलन भएको छ । भेटी रकम र भक्तजनहरुको उपस्थितिले चालिस हजार भक्तजन आएको पुष्टि भएको उहाँको भनाई छ । भक्तजनलाई शतबीज छर्न, पूजाआजा र दर्शन गर्न सहज होस् भनेर स्वयमसेवक र सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

गलेश्वरमा लाग्ने मेला पर्वमा एकैदिन संकलन भएको भेटी यसपालीको बालाचतुर्दशीमा हाल सम्मकै धेरै भएको उहाँले बताउनुभयो । उहाँकाअनुसार यसपालीको बालाचतुर्दशीमा देशभरबाट भक्तजनहरु आएका छन् । साउन महिनाको सोमबार, बालाचतुर्दशी, महाशिवरात्रीको भोलीपल्टै र अन्य समयमा मासिक रुपमा मन्दिरमा चढाएको भेटी रकम गन्ने गरिएको छ ।

कृष्णगण्डकी किनारमा रहेको ९ रोपनी चट्टानमा फैलिएको एउटै गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वास रहेको छ । मुक्तिनाथ दर्शन गर्न आएका भक्तजनहरु समेत गलेश्वर शिवालयको दर्शन गर्ने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?