काठमाडौं । नेपालमा रोजगारी छैन । भएका सीमित अवसर सबैलाई पुग्दैन । त्यसमाथि सामान्य जागिर खान पनि चाहिने ‘पावर र पहुँच’ सबैको हुँदैन । अनि के गर्ने ? विदेश जाने ¤ पछिल्लो समय भएभरका युवाहरू विदेश जान चाहन्छन् । अनि भन्नेबित्तिकै विदेश पनि कहाँ जान पाइन्छ र ? सोझो बाटोबाट विदेश पनि जान नपाएपछि मान्छेले ‘चोरबाटो’ खोज्छन् । देशमा विरक्तिएका युवाहरू जस्तोसुकै जोखिम मोल्न पनि तयार हुन्छन् । लाखाँै तिरेर चोरबाटो अमेरिका हिँड्नेहरूको ताती पानामा जंगलमा भेटिन्छ । युद्धमा मर्न तयार भएर मान्छे रुसी सेनामा भर्ती हुन्छ । जहाँ इच्छा, त्यहाँ उपाय । अनि भेटिन्छन् ठाउँठाउँ पठाइदिने कन्सल्टेन्सी । पछिल्लो समय नेपालमा फस्टाएको व्यापार भनेकै वैदेशिक रोजगारीको हो । सेटिङमा जस्तोसुकै काम हुने नेपालमा अवैध बाटो र माध्यमबाट विदेश पठाइदिनेहरू सक्रिय नहुने कुरै भएन ।
नक्कली कागजात बनाएर विश्वका विभिन्न मुलुक पठाइदिने गिरोह नै सक्रिय रहेको पाइएको छ । सरकारी निकायकै मिलेमतोमा किर्ते कागजात बनाएर मानव तस्करी गर्ने गिरोह प्रहरीले फेला पारेको हो । प्रहरीले नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने गिरोहलाई पक्राउ गरेको छ । विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । गत असोज १९ गतेदेखि हालसम्म मानव तस्करीमा सक्रिय ३२ जनालाई पक्राउ गरी बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।
नक्कली कागजात बनाई भिजिट भिसामा विदेश जाने प्रकरणमा कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी एकजना, पूर्वप्रहरी एकजना, एयरलाइन्सका दुईजना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू ११ जना पक्राउ परेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । नौ जनाको संगठित अपराध र १२ जनाको लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । आठजना धरौटीमा छुटिसकेको उहाँको भनाइ छ ।
एयरपोर्टका प्रहरी र एयरलाइन्सका कर्मचारी छानविनमा
पक्राउ पर्नेमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् । त्यस्तै, एडभान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीले जानकारी दिनुभयो । अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरवीन यादव र होम पोखरेलसमेत पक्राउ गरेको प्रहरीले जनाएको छ । सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने गिरोहलाई गत असोज १९ गते नियन्त्रणमा लिएयता अध्यागमन विभागका अधिकृत नरवीर खड्काको कनेक्सन खुलेको थियो ।
कागजात मिलाएबापत ट्राभल्स कम्पनीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेको खुलेको छ । अध्यागमन विभागका कर्मचारीहरूले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका)हरूको हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले कम्तीमा पाँचवटा एयरलाइन्सका कर्मचारीहरू छानविनमा रहेको जनाएको छ । भिजिट भिसामा जान तयार भएर बसेका २४६ जनाको राहदानीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रलोभन देखाउने गिरोह सक्रिय, सचेत रहन विभागको आग्रह
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ । नेपाल सरकार र इजरायल सरकारबीचको श्रम सम्झौताबमोजिम मात्रै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार पठाउने काम भइरहेको विभागका प्रवक्ता तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा इजरायलसँग छलफल भइरहे पनि यस विषयमा कुनै पनि निर्णय भइसकेको छैन । वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना प्रकाशित गरी कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा अरू क्षेत्रमा रोजगारीको अवसर जनाउँदै ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रहसमेत गरेको छ । यस्तो खालको ठगीका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको र यस्ता सूचना तथा गिरोहको प्रलोभनमा नपर्न विभागद्वारा प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ ।
इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहले गैरकानुनी रूपमा प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना विभागमा आएकाले सचेत रहन आग्रह गरिएको प्रवक्ता तथा सूचना अधिकारी उप्रेतीले बताउनुभयो ।
नेपाली युवा विदेश गएर हण्डर खाइरहेका छन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही अवसरै छैन भन्ने भाष्य निर्माण हुँदा युवाहरू विदेश गएर हण्डर खाइरहेको टिप्पणी गर्नुभएको छ । काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमै भएका शिक्षा र अवसरलाई प्रयोग गर्न अपिल गर्नुभयो । अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको चिन्ताजनक खबर आएको उहाँले बताउनुभयो । ‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हण्डर खाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशको हितमा पनि काम गर्न सकिन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच