मौरीपालनमा आकर्षित गुल्मीका किसान

हिमालय टाइम्स
Read Time = 2 mins

गुल्मी । गुल्मीको ग्रामीण भेगका किसान पछिल्लो समयमा मौरीपालनमा आर्कषित हुन थालेका छन् । मौरीपालनबाट कम लगानीमा धेरै आम्दानी हुने भएपछि मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्न थालेको हो ।

गुल्मीदरबार गाउँपालिका-१ बलिथुमका मानबहादुर फुङ्जेली विगत १३ वर्षदेखि व्यावसायिक रुपमा मौरीपालन गरिरहनुभएको छ । त्यसबाहेक कागती र सुन्तलाखेती पनि गरिरहनुभएको छ । फङ्जेलीसँग यतिबेला ४० मौरीका घार छन् । उहाँले  कृषिज्ञान केन्द्र गुल्मीबाट हालै १० वटा मौरीका घार पनि अनुदानमा पाउनुभएको छ । उहाँका अनुसार मह बिक्रीबाट मात्रै वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ ।

मह दमका बिरामी र रुघाखोकीको समस्याबाट ग्रसित व्यक्तिका लागि निकै उपयोगी मानिन्छ । तोरी, चिउरीलगायतका फूल फुल्ने समयमा किसानले एक सिजनमा दुई पटकसम्म मह काढ्छन् ।

अर्ग्यानिक मह उत्पादन गर्न सकेमा बजारीकरणको कुनै समस्या नरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुहुन्छ । यहाँ मह प्रतिकेजी रु एक हजार पाँच सय र मौरीसहितको घार रु आठ हजारदेखि नौ हजारसम्म बिक्री हुँदै आएको छ ।

गुल्मीमा उत्पादन भएको मह स्थानीय बजारदेखि बाह्य बजारमा खपत हुँदै आएको छ । जिल्लामा व्यावसायिक रुपमा पाँच वटा घारभन्दा बढी मौरीपालन गर्ने किसानको सङ्ख्या दुई सयभन्दा बढी छ । तीमध्ये तीन हजार छ सय आधुनिक र दुई सय ३६ परम्परागत घारमा मह उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?