कौतुहलताले कौतुहता जन्माइरहेको हुन्छ । केही नबोलौँ, केही नलेखौँ आफैँ भने पनि कौतुहलता भइहाल्छ । आजकाल राजनीतिमा नजोडीकन केही अन्य विषय उठ्नै छोडेका छन् । नेताकै अनगिन्ती व्यवहार देखापर्छन् अन्त कतै चलेको कलम पनि अन्ततः उतै जान्छ । यो आलेखमा पनि यही प्रसंगको पेरिफेरीमा रहेर नेता प्रवृत्ति कि नियति, राजनीति कि कमाउनीति ? यहीभित्र रहेको गुण, दोष वा जति छन् काण्ड किन नेता मात्रै जोडिएका छन् । यही नियतिमा किन राजनीति हुन्छ ?
विगत कुनै दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा गरेको पोष्ट यो भनाइबाट.. जस्ताको तस्तै ‘नयाँ–पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन’, उनको यो धारण कुनै व्यक्तिप्रति थिएन, सबै राजनीतिक दलप्रति इंगित गरेको हो कि भन्ने बुझिन्छ । उनले यो पदमा बसेर यो शब्द भन्नुहुन्थ्यो कि हुँदैनथ्यो, कि उनै जानून् कि सम्बन्धित निकाय नै जानकार होला या नहोला त्यो फरक बहसको विषय थियो तर सरकार चुपचाप बस्यो । वर्तमान राजनीतिक दलका नेता वा राजनीतिप्रति के जनतामा विष्तृणा आएको हो ? भनेर नै माथिको अभिव्यक्त गरिएको धारणा हो वा होइन यो विषयमा कुन राजनीतिक दल र दलका नेताले बहसको विषय बनाए ? सबैको वाक नै बन्ध भयो । तैँ चुम मै चुप । आखिर सत्यता के हो रहेछ त ?
बालेन्द्र र राजेन्द्रले सार्वजनिक रूपमा अभिव्यक्त गरेका धारणा हाम्रो नेपाली राजनीतिमा केही नेताका गतिविधिबाट पुष्टि भएकै छन् । भेद पुष्टि भएका विषयलाई लिएर नेतासम्म सम्बन्धित निकाय पुग्ने भए संघीय संसद्, प्रदेश सांसद, गाउँपालिका तथा वडाका जनप्रतिनिधि सीमित मात्रै बाँकी रहलान् ।
२०७८ मंसिर २४ गते नेपाली कांग्रेसको १४औँ महाधिवेशन चलिरहेको थियो सो उद्घाटन समारोहलाई प्रायः सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई जनताले ‘चोर’ भन्ने गरेको अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘गाउँमा नेता आउँदै हुनुहुन्छ भन्दाखेरि मान्छेले आजकल कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैनन् । कुन चाहिँ चोर आएछ आज त्यहाँ भन्छन् ।’ राजनीतिमा जनताको विश्वास छ, आस्था छ तर दलका नेतासँग जनताले जनविश्वास गुमाइरहेको सन्दर्भमा ‘चोर’ भन्ने अभिव्यिक्त दिएका हुन् भन्ने लाग्छ । हाम्रो नेपाली शब्दकोष ‘चोर’ शब्दको व्याख्या अरूले थाहा नपाउने गरी अर्काको धनमाल अपहरण गर्ने व्यक्ति, बेइमान, तस्कर लगायतलाई चोरको व्याख्या गरिएको रहेछ ।
बालेन्द्र र राजेन्द्रले सार्वजनिक रूपमा अभिव्यक्त गरेका धारणा हाम्रो नेपाली राजनीतिमा केही नेताका गतिविधिबाट पुष्टि भएकै छन् । भेद पुष्टि भएका विषयलाई लिएर नेतासम्म सम्बन्धित निकाय पुग्ने भए संघीय संसद्, प्रदेश सांसद, गाउँपालिका तथा वडाका जनप्रतिनिधि सीमित मात्रै बाँकी रहलान् । कैयौँ गैरकानुनी गतिविधिमा दलका नेताहरू स्वयं संलग्न भएका प्रशस्त घटना र प्रमाण राज्यसँगै छन् । अझ भन्ने हो भने कैयौैँ ठूला अपराधको कनेक्सन त राजनीति दलका नेताबाहेक अन्यबाट हुनै सक्दो रहेनछ । भएका जति घटनामा त्यही भइरहेका छन् ।
ललितानिवास प्रकरण, भुटानी शरणार्थी काण्ड, एनसेल काण्ड, निर्मला बलात्कारपछि हत्या काण्ड, सिसिटिभी प्रकरणमा जनार्दन शर्मा काण्ड, प्रधानन्यायाधीशलाई कोटा काण्ड, ७० करोड प्रकरण ‘खाएकै हो, के गर्छौं ?’ काण्ड, बूढीगण्डकीमा ९ अर्ब काण्ड, ओम्नी प्रकरण काण्ड, वाइडबडी प्रकरण, पशुपतिनाथमा जलहरी काण्ड, ३३ किलोलगायत भइरहेका सुनकाण्ड अन्य काण्डैकाण्ड दलका नेतासम्म पुगेर मात्रै टुंगिने गरेको छ । दलका नेताको धर्म र मर्म के यही हो ? नेताको नियतमात्रै हो कि आत्मानुशान नै भ्रष्टाचार हो ? कर्म र मर्म नबुजेका नेता बनेपछि बनेका नेताको नियति नै आज भ्रष्टाचार बनेको छ ।
संसदीय सर्वोच्चतासहितको संसदीय शासन प्रणाली भएको मुलुकमा सांसदहरू नै यस्ता आपराधिक गतिविधिमा संलग्न हुनुले राजेन्द्र र बालेन्द्रले भनेको ‘चोर’ नेताकै वरिपरि मुलुकको राज्यसत्ता घुमिरहेको छ र यथार्थ पनि यही हो । यसमा कुनै द्विविधा छैन । यसबाट के पुष्टि हुन्छ भने सारा मतदाताले निर्वाचनमा नेतलाई दिएको मतको अपमान हो । कानुन नै उत्पादन गर्ने निकाय भ्रष्टाचारमा लिप्त हुन्छ भने उसबाट जनताले आशा गर्ने कुनै स्थान बाँकी छ जस्तो लाग्दैन ।
हाम्रो जारी संविधानले संसदीय राजनीतिमा शक्तिको स्रोत जनतामा हुन्छ भनेको छ र राजनीतिक दलहरूलाई जनादेशको हिस्सा बमोजिमको शक्ति मात्र उपयोग गर्ने हक प्रदान गरेको छ । शक्ति प्रयोगको सीमा, विधि, संविधान र कानुनद्वारा निर्धारित रहेको छ । संविधान र कानुनले निर्धारण गरेको त्यो सीमाभित्रका कामहरूको प्रयोगको विधि कानुनमै किटान गरिएको हुन्छ, जसलाई विधिको शासन भनिन्छ तर यहाँ जसले जहाँ जे गरे पनि हुन्छ भन्ने मानसकिता बोकेर नेताका नाममा शोषकहरू पदका नाममा विकासका योजनामार्फत कमिसन खान्छन् । जनतालाई दास ठान्छन् उनीहरू रैती बन्छन् । रैतीका नाममा प्रत्येक पाइला र प्रत्येक गाँसका भ्रष्टाचार छ ।
अफसोच नेपाल सरकार वा अन्य कुनै निकायको कार्यालयमा मासिक काम गर्ने गरेका हुन्छौँ र ३० दिनलाई महिना भन्छौँ । तीस दिनपछि मासिक काम गर्नेले पारिश्रमिक पाउँछौँ तर यहाँ यस्तो नेपाल सरकारको संस्था छ जहाँ १५ दिनमा महिना हुन्छ । १५ दिन घर १५ दिन कार्यालय । सो १५ दिनलाई ६० दिन बनाएर एक महिनामै दुई महिनाको तलब दिइन्छ । जसको शीर्षक राखिएको छ २४ घण्टे अनवरत सेवा । त्यसमाथि पनि युटिलिटी भन्दै दोहन गरिएको छ । भ्रष्टाचार सीमित भ्रष्टाचार मात्र छैन, चरम चुलीमा छ । सरकारी कार्यालयमै हुन्छ भ्रष्टाचार अन्त त गन्ध मात्रै हुन्छ ।
सबै काम हुने निकाय नै सरकारी कार्यालय हुन् र भएजति भ्रष्टाचार पनि त्यहीँ छ । भएको भ्रष्टाचारको फाइल आफैँ राख्ने र भ्रष्टाचार सम्बन्धित निकायलाई गुमनाम बनाउनेहरू ती निकायमा भएपछि भ्रष्टाचार नहुने त कुरै भएन । प्रष्ट रूपमा भन्नुपर्दा नियति नै भ्रष्टाचारमा लागेकाहरूले पद खोजेपछि कसको के नै लाग्छ । प्रत्येक हामीले टेकेको पाइलामा र दैनिक खाएको प्रत्येक गाँसमा छ भ्रष्टाचार । यहाँ कमाउन पद चाहिएको छ, काम गर्ने त छँदै छन् नि ! दैनिक ज्यामी-कुल्ली ।
यहाँ त विधिको शासन गर्ने भनेर अनुमोदित भएकाहरू नै विधिलाई लत्याउने गरेका छन् । अथाह आर्थिक चलखेलमा लागेकाहरूले मुलुकको संविधान नै संशोधन गर्न सक्ने संवैधानिक हैसियत राख्छन् । त्यसैका लागि आवश्यक छ पद । आर्थिक चलखेलबाट बनेका सांसदहरू न देशप्रति, न जनताप्रति, न त कानुनप्रति बफादार छन् । नेताका लागि सत्ता जनताका लगि उही अचानो । देश र जनता लाभान्वित बनून् भन्ने भाव हालका कुनै पनि नेतामा रहेन । २०७४ को आमनिर्वाचनबाट निर्वाचित भएका कैयौँ सांसदहरूलाई गम्भीर आरोपहरू लाग्यो, केही निलम्बित भए भने केही राजनीतिक शक्तिको आडमा जोगिरहका छन् । यद्यपि, जनताले उनीहरूलाई ‘चोर’को आरोप लगाइरहे त्यही भाषा एक नेताबाट अर्को नेतामा सर्यो । राज्यसत्ता दूषित छ । हुनु अस्वाभाविक हो, जसकारण अराजकता बढ्दो छ ।
नेताबाटै दूषित पारिँदै राज्यसत्ता :
हिजो पुरानाले राज्यसत्तालाई दूषित बनाए हामी सफा गर्छौं भन्नेहरू नै आज दूषित छन् । उनीहरू पुरानासँगै साँठगाँठ गर्दै कुम जोडेका छन् । नयाँ या पुराना उनीहरूको पहिलो अभीष्ट र अन्तिम सत्य नै सत्ता मोह रहेको देखिन्छ । जसरी पनि सत्तामा पुग्ने र सत्तालाई अधिकार सम्झिएर शक्ति आर्जनको माध्यम बनाउने ध्येय देखिन्छ । जसको उदाहरण रवि लामिछाने आफैँ बने । रास्वपाका सभापति लामिछानेले सांसदको शपथ ग्रहणलगत्तै जसरी पनि सत्तामा जान गरेको दौडधुप, त्यसमा पनि आफैँ जानुपर्ने र अझ स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी लिनुपर्ने कुराले भने उही ड्याङको मुला करार गरेको छ ।
सत्तामा रहेर शक्ति आर्जन गर्न कानुनको आँखामा पट्टी बाँधेर अपराधका शृंखलाहरूमा प्रत्यक्ष-अप्रत्यक्ष होमिने प्रवृत्तिले राज्यसत्ता दूषित बनिरहेको छ । अनेक तिकडम गर्दै सत्तामा पुगेपछि आफू शक्तिशाली भएको अनुभूति गर्ने र शक्तिको उन्मादमा संविधान, कानुन र लोकतान्त्रिक मूल्यमान्यतालाई कुल्चेर कानुनले बर्जित गरेका गतिविधिमा संलग्न हुने प्रवृत्ति हाबी हुँदै गएको छ ।
जनताबाट प्राप्त शक्तिलाई व्यक्तिगत वा पार्टीगत स्वार्थअनुकूल दुरुपयोग गर्ने दरिद्र मानसिकता कायम रहेसम्म राज्यसत्ता संग्लिने सम्भावना रहँदैन । पछिल्लो राजनीतिक परिदृष्यलाई हेर्दा वैचारिक राजनीति अवशानतिर गएको देखिन्छ भने भिडको निर्णयलाई वैध मानिदिनुपर्ने कहालीलाग्दो परिस्थिति हाल सिर्जना हुने त्रास पैदा भएको छ । पछिल्लो समय देखिएको जनलहर र रुझान्ले व्यक्तिलाई देवत्वकरण र राजनीति कमाइखाने भाँडोको प्रवृत्ति मौलाएको छ । सत्तामोह र व्यक्तिगत निरंकुशतालाई जब नेपाली राजनीतिमा प्रश्रय दिइन्छ र कानुनले अपराधी भनी दण्डित गरेकालाई राज्य सञ्चालनका नाममा कानुन नै गुमनाम बनाई राजनीतिक पार्टीका आधारमा छुट दिइने जुन गरिएको परिपाटी छ यसले स्वयं राज्यका निकायलाई नै सरकारले विश्वास गर्न सकेको छैन ।
आज नेपाली राजनीतिमा धुन बेगरको बाजा बजेको छ, न स्वर छ, न लय छ, न त सुर र ताल नै छ । लगाम बेगरको राजनीति अघि-अघि बढिरहेको छ । राजनीतिक दलमा दलगत सिद्धान्त नै रहेन ।
कानुन र संविधानको पालना नगर्ने छुट कसैलाई हुँदैन तर नहुने सत्यलाई नयाँ वा पुराना दल तथा नेता कोही मान्न तयार देखिँदैनन् र छैनन् । दलका नेताले संसदीय सर्वोच्चताप्रतिको प्रतिबद्धता बिर्सिसकेका छन् । यही कारण राज्यसत्ता दिनप्रतिदिन दूषित छ । जनतामाथि कानुनले बर्जित ज्यादती गर्नेहरू अझै सक्रिय भई राज्यसत्ता भोगिरहेका छन् । यसको भय जनतालाई नै हो ।
नेता बिग्रे कि नेतृत्वको मन बिग्रियो ?
गायक एवं सर्जक पुरुषोत्तम गैरेले गाएको गीतको शब्दले शब्दलाई नै तौलिएको छ लट्पटिन्छ जिब्रो ‘म बिग्रेँ कि मन बिग्रियो ?’ बोलको गीत छ । सो गीत सुनेँ, गीत शुद्ध माया प्रेमाको भावमा विहृवल रहेछ । गीतले भन्न खोजेको पाटो विल्कुल फरक छ, तर नेपाली राजनीतिमा चाहिँ नेताको जिब्रो हर–हमेसा लरबरिइहेकै छ । न त घाम छ न त पानी, खाली आकाश राजनीति हुन्छ भन्ने नेता छन् । हामीले देखेको नेपाली राजनीतिको परिदृश्य फरक छ । पोको र कुम्लो एउटाले बनाउँछ आखिर गाँठो अर्कैले खुस्काइदिन्छ । नेपाली राजनीतिमा बाजा बजेपछि रमिता हेर्ने निस्कनेको लस्करको कतै कमी छैन ।
घरभित्र दूधे बालक नै किन नरोओस् तर बाजाले कति आकर्षित बनाउँछ हाम्रो समाजलाई । तिनै आमा हुन् बाजा, खाजा र दुधे बालक सबैमा दृष्टि गोचर लाउँछिन् । अनि न उनी आमा भइन् । नेपाली राजनीतिमा तिनै आमाको खाँचो छ हरहमेसा । दुर्गा प्रसाईंको रमिता पनि स्वार्थ सिद्धमा नै गयो विना एजेण्डा विना बाजा, न सुर न ताल आखिर त्यही हुँदै छ । यी नयनले गर्दा ‘म बिग्रेँ कि मन बिग्रियो ?’ दूधे बच्चा किन रोयो ? आखिर बाजामै त छ आवाज । भोकको प्यास त होइन बाजा । होस् पनि कसरी हावा न हो बाजाको धुन् । सुन्ने-सुनाउने क्षण भर, रमिते तिनै नयन न हुन् ।
आज नेपाली राजनीतिमा धुन बेगरको बाजा बजेको छ, न स्वर छ, लयको छ न त सुर र ताल नै छ । लगाम बेगरको राजनीति अघि–अघि बढिरहेको छ । राजनीतिक दलमा दलगत सिद्धान्त नै रहेन । जे जसरी बाँडीचुँडी खान सकिन्छ खाइहालौँ भन्ने मानसिकताले गाँजेको पतीत व्यक्तिले राजनीति गर्दा राजनीतिक दलका नेताहरूमाथि प्रश्न उठेको छ । सबै त्यस्ता पतीत नहोलान् तर आशा गरौँ देशको माटो र परिवेशमा पक्का कोही न होही जन्मेको छ नेता नहोला अब नेता बन्ला । सबै दलका नेता नेतृत्वको हनुमान मात्र बने जनमतको अपमान भएको हो ।
नेतृत्वले बोलेपछि तमाम वर्गका नेता गलतलाई नि सही र ठिकलाई पनि गलत भन्न थाले । आखिर राजनीति स्वार्थमा रुमलिरहेको छ । स्वार्थकै खातिर सरकार रमिते बनिरहेको छ । जनताका तत्कालका जनसरोकारका विषयमा कति दिन रमिते बन्ने सरकार ? सरकार त रमिते होइन सेवक बन्नुपर्ने होइन र ? यहाँ त सेवक नै शासक बनेपछि जनताको दुःख देखेर पनि नबुझ्नेहरू हामी नेपालीको नियति हो कि शासकको बलमिच्याइँ हो ? आजै नबुझे भोलि कसले बुझ्ने ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच