बागलुङ महोत्सवमा ‘मेड इन बागलुङ’को प्रदर्शन

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 10 mins

बागलुङ । सातौं बागलुङ महोत्सवमा ‘मेड इन बागलुङ’ को प्रदर्शन हुने भएको छ । बागलुङ महोत्सवको मुख्य आयोजक संस्था बागलुङ उद्योग वाणिज्य संघले बागलुङमा उत्पादन भएका वस्तुहरुको विशेष प्रदर्शन र विक्री वितरण गर्ने व्यवस्था मिलाउने जनाएको छ । स्थानीय उत्पादनका वस्तुहरुको बजारीकरणका लागि विशेष स्टल व्यवस्थापन गरेर त्यसको प्रचार प्रसार र विक्री वितरणको प्रवन्ध गर्न लागिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

‘हामीले बागलुङमा उत्पादन भएका र लेबलिङ भएका वस्तुहरुको लागि छुट्टै स्टलहरुको व्यवस्थापन मिलाउँछौं, अहिले हाम्रो लेबलिङ भएका चिजहरु खासै धेरै त छैन,’ कँडेलले भन्नुभयो - ‘त्यसका साथै यहाँ उत्पादन भएर पनि लेबलिङ हुन नसकेका स्थानीय उत्पादनहरुको प्रवर्द्धन र प्रचार गर्ने उत्पादक र उपभोक्ताबीच सेतुको काम गर्ने गरी काम गर्छौं ।’

बागलुङमा उत्पादन भएका अल्लोका कपडा, दमेकमा उत्पादन भएको गुन्द्रुक, भाङ्गो, टिमुर, ताराखोलाको आलु, बिहुँ र सिगानाका सुन्तला लगायतका अन्य वस्तुहरुको प्रवर्द्धन र विक्री वितरणको व्यवस्थापन मिलाउने उहाँ बताउनुहुन्छ ।

‘ब्राण्डिङको काम नहुँदा बागलुङका धेरै उत्पादनहरु बाहिरको बजारमा लैजान अहिलेको सम्भव छैन, तर उपभोक्तालाई जानकारी गराउन सकेको खण्डमा उहाँहरुले सिधै उत्पादकसंग खरिद गर्ने वातावरण बन्छ र त्यसको बजारीकरणमा टेवा पुग्छ भन्ने हामीले ठानेका छौं,’ उहाँले भन्नुभयो ।

स्थानीय वडा कार्यालयसंगको सहकार्यमा सिगाना र बिहुँको सुन्तला ग्रेडिङ गरेर एक दिनभरी ‘सुन्तला एक्स पो’ गर्ने कँडेलले जानकारी दिनुभयो । बागलुङ बिहुँ र सिगानाका सुन्तला देशकै स्वादिस्त सुन्तलामध्ये पर्ने भएकाले विभिन्न जिल्लाका व्यवसायीले बुटामै ठेक्का लिएर लैजाने गरेका छन् ।

महोत्सवले सुस्ताउँदै गएको बागलुङ बजारलाई आर्थिक रुपमा चलायमान गराउने अपेक्षा राखिएको अध्यक्ष कँडेलले बताउनुभयो । ‘यहाँका व्यवसायीलाई उर्जा दिनका लागि र बजारलाई चलायमान बनाउनका लागि पनि महोत्सव जरुरी छ,’ उहाँले भन्नुभयो - ‘हामीले यस पटक महोत्सव सामाजिक उत्तरदायित्वसहित गर्दैछौं ।’

सातौं बागलुङ महोत्सव यस पटक पुस ११ देखि २१ गतेसम्म धौलागिरि क्याम्पसको प्राङ्गणमा हुँदैछ । महोत्सवलाइ गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलाको रुपमा सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका गर्न लागिएको महोत्सवमा १२० व्यवसायिक स्टल, ३० वटा प्रवर्द्धनात्मक स्टल तथा मेड इन बागलुङ स्टल रहनेछ । अहिलेसम्म ५० प्रतिशत स्टल बुकिङ भैसकेको बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले जानकारी दिनुभयो ।

महोत्सवमा खुल्ला राष्ट्रिय दोहोरी तथा लाइभ दोहोरी गीत, पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन, विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती रहने बागलुङ उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिनुभयो । यस पटक दोहोरी प्रतियोगिता नगरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विषयवस्तु दिएर कलाकारहरुलाई लाईभ दोहोरी प्रस्तुत गर्न लगाउने बताईएको छ ।

‘बागलुङ दोहोरीको उद्गम थलो पनि हो, हामीले दोहोरी राख्छौं, तर यस पटक प्रतियोगिता हुँदैन, यस क्षेत्रको प्रवर्द्धन हुनेगरी विषयवस्तु दिएर कलाकारलाई त्यसैमा आधारित रहेर गाउने व्यवस्था मिलाउँछौं,’ उहाँले भन्नुभयो ।

मेलाको समयमा पर्ने अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा ‘न्यू एयर इभ’को रुपमा लाइभ डिजे कन्सर्ट हुने प्रेस सल्लाहकार आचार्यले जानकारी दिनुभयाे । महोत्सव पर्ने अग्रेजी नयाँ वर्षको उपलक्ष्यमा धेरैभन्दा धेरै पर्यटकहरुलाई बागलुङ भित्राउने लक्ष्य रहेको छ ।
महोत्सव अवधीभर महोत्सव स्टलभित्र १० करोड बढिको कारोबार हुने अपेक्षा लिइएकाउ बागलुङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो । ‘स्टल भित्र मात्रै १० करोडको कारोबार हुनेछ, त्यसका साथै बागलुङ बजार पनि चलायमान हुनेछ,’कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो -‘एक करोड ७० लाख आम्दानी हुने र एक करोड १५ लाख खर्च हुने हामीले अनुमान गरेका छौं ।’

महोत्सवबाट संकलित रकमले ५ लाख बराबरको ‘बागलुङ उद्योग वाणिज्य संघ सदस्य कल्याणकारी कोष-२०८०’ स्थापना गरिने, धवलागिरि बहुमुखी क्याम्पसको ‘गरिव, विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’मा सहयोग गरिने, ‘व्यवसायी एकता, बलियो संघ’ अक्षयकोष निर्माण गर्ने, ‘हाम्रो सुरक्षा, हाम्रो दायित्व’ सिसि क्यामरा जडान र मर्मत कार्यलाई निरन्तरता दिने, महोत्सवको मुनाफाबाट बागलुङ कोसेली घर संचालन गरिने लक्ष्य राखिएको वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो ।

महोत्सवमा प्रवेशका एक सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकलगायत अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिईनेछ भने अध्ययनका लागि समुहमा आउने विद्यार्थीलाई पनि निःशुल्क प्रवेश दिईनेछ । महोत्सवमा टिकट काट्ने जिम्मा नेपाल पत्रकार महासंघ बागलुङलाई जिम्मा दिइएको र १ टिकट बराबर ५ रुपैयाँ ‘पत्रकार महासंघको संस्थागत विकास’मा सहयोग गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ ।

महोत्सवले यहाँका पर्यटकीय स्थल, धार्मिक स्थल एवं लोक संस्कृतिक गतिविधिहरुको प्रचारप्रसार र प्रवर्द्धन गर्न, स्थानीय परिकारहरुलाई प्रवर्द्धन र स्तरीकरणमा वृद्धि गराउन, उद्यमी व्यवसायीहरुको वित्तिय साक्षरता वृद्धि गराउने र वित्तिय एवं औधोमिक क्षेत्रको विकास वृद्धि मार्फत आर्थिक समृद्धिः सुखी नेपालीको लक्ष्य पुरा गराउन र स्थानीय खेलाडीहरुको व्यक्तिगत र सामाजिक अनुशासन स्थापित गराउँदै राष्ट्रिय खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी बन्नको लागि उत्प्रेरणा प्रदान गर्न महोत्सवले सहयोग पुग्ने प्रथम उपाध्यक्ष सञ्जय श्रेष्ठले बताउनुभयो ।

मेलाको उद्घाटन पुस ११ गते राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने तय भएको छ । राष्ट्रपतिको बागलुङ कालिका दर्शन र पञ्चकोट भ्रमणपछि दिउँसो १ बजे महोत्सव उद्घाटन हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?