फोहोर व्यवस्थापन अझै पनि चुनौतीपूर्ण

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं उपत्यका केही समयदेखि थुप्रिँदै गएको फोहोरबाट कुरूप बन्दै गइरहेको थियो । धार्मिक सांस्कृतिक र भूबनोट जुनसुकै दृष्टिले हेरे पनि नेपालकै सबैभन्दा सुन्दर र ठूलो काठमाडौं उपत्यका नै हो । तर, मानवीय कारणबाट यस उपत्यकाले आफ्ना मौलिकताहरू गुमाउँदै गइरहेको सन्दर्भमा फोहोरका पहाडहरू थुप्रिनाले समेत कुरूप र दुर्गन्धित बन्न पुगेको केही समय भएको थियो । स्थानीय तहको गत निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी बन्न पुग्नुभयो । राम्रो दृष्टिकोण बोकेका युवा बालेन साहप्रति जनताको भरोसा थियो, त्यसैले पनि उहाँलाई जनताले विजयी बनाएका हुन् । काठमाडौंको सबैभन्दा बढी चिन्ताको र संवेदनशील विषय फोहोर नै हो ।

यसको स्थायी व्यवस्थापन गर्न निकै कठिन र चुनौतीपूर्ण छ । त्यसै भएर बालेनले निर्वाचनमा पनि एउटा एजेण्डा यसैलाई बनाउनुभएको थियो । आपूm निर्वाचित हुनासाथ उहाँले फोहोर व्यवस्थापनका लागि केही प्रयास गर्नुभयो तर सफल बन्न सक्नुभएन । उहाँले यसको कारण राजनीतिक पार्टीहरू हुन् भन्नुभयो । राजनीतिक पार्टी तथा नेताहरूको असहयोग भएका कारण आफू सफल बन्न नसकेको उहाँलाई लाग्यो । स्वतन्त्र हैसियतमा विजयी बन्नुभएकाले यस्तो लाग्नासाथ कुनै पार्टीसँग जोडिन जानु उहाँको नैतिकताले नदिएको हुनसक्छ । पार्टीमा जोडिँदैमा समस्याको समाधान निस्कन्छ भन्ने होइन । त्यसो हुन्थ्यो भने पार्टीकै मानिस महानगरपालिकाको प्रमुख भएका बेला किन यसको समाधान निस्किएन त ? भन्ने प्रश्न उठ्न सक्छ ।

त्यसकारण उपत्यकाको फोहोरको समस्या सबैको साझा चिन्ताको विषय हो तर सबैले यस्तो सोचेका छैनन् । फोहोरलाई चुनावी नारा बनाउनु हुँदैन । यस विषयलाई चुनावी नारा बनाउने कुनै पार्टी र पार्टीका नेताहरूका घर अगाडि थुप्रिएको फोहोर तिनलाई गनाउँछ र रोगी पनि बनाउँछ । यस कारण यहाँको फोहोर पन्साउने जिम्मेवारी सबैको हो । यसलाई पार्टीको वा राजनीतिको एजेण्डा बनाउनु हुँदै हुँदैन । अहिले गर्मीको समय छ । थुप्रिएको फोहोरमा झिँगा भन्किरहेका छन् । दुर्गन्ध चौतर्फी फैलिएको छ । यसले महामारी उत्पन्न गर्न सक्छ भन्ने सबै शहरवासीलाई थाहा छ तर घरमा व्यवस्थापनको ठाउँ नभएकाले नगरवासीहरू सडकमा फोहोर थुपार्न बाध्य छन् ।

चेतनाको कमी वा चेतना भए पनि हेलचेक्र्याइँ गर्ने प्रवृत्तिले आफ्नै घर कम्पाउण्डमै व्यवस्थापन गर्न सकिने सम्भावना भएर पनि सडकमै अर्काले फालेको फाहोरको थुप्रोमाथि आपूm पनि त्यहीँ लगेर थप्ने काम सबैबाट भइरहेको हुँदा फोहोर अस्तिभन्दा हिजो र हिजोभन्दा आज बढी अग्लो थुप्रोमा परिणत भइरहेको छ । अब फोहोर उठ्न थालेको छ । यसबाट नगरवासीहरूमा खुशीको सञ्चार भएको छ तर यो स्थायी समाधान हो कि केही समयका लागि गरिएको अस्थायी व्यवस्था मात्र हो भन्ने प्रश्न उठिरहेको छ । एकातिर अब फोहोर फाल्न स्थानीयहरूबाट अवरोध नहोला भन्ने छैन, अवरोध नभए पनि उपत्यकाको सबै फोहोर उठिसक्न एकसाता लाग्नेछ भनिएको छ ।

फोहोरको दुर्गन्धले निसास्सिएका नगरवासीका लागि निकै नै लामो समय हो । तैपनि त्यतिन्जेलसम्म उठिसक्ने आशा पैदा हुनु मात्रलाई एउटा उपलब्धि मान्नुपर्ने हुन्छ । यो विषय एउटाले होष्टे भन्दा अर्कोले हैँसे भन्नुपर्ने खालको हो । नत्र फोहोरको व्यवस्थापन हुनै सक्दैन । त्यसैले महानगरपालिका तथा उपत्यकाका नगरपालिकाहरू सबै यसका लागि लाग्नुपर्छ र सरकारले यसलाई सहयोग गर्नुपर्छ । जनताले पनि महानगरपालिका तथा नगरपालिकाहरूलाई आफूले सकेको सहयोग गर्नुपर्छ । आफ्नै करेसाबारीमा मल बनाएर वा अन्य हस्तकलाका सामग्री निर्माण गरेर व्यवस्थापन गर्न सकिने फोहोरलाई सडकमा लानैपर्छ भन्ने मानसिकता त्यागी सकेसम्म आफैँले व्यवस्थापन गर्न सके सम्बन्धित निकायको भार अलिक हलुको बन्न जान्छ । यसलाई सबैले मनन गर्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?