
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिनुभएको छ । बुधबार काठमाडौंमा आयोजित क्रिसमस फेस्टिभलमा धर्मबारे दिएको एउटा अभिव्यक्तिका कारण उहाँ विवादमा तानिनुभएको हो । क्रिश्चियन धर्मावलम्बीको कार्यक्रममा गएर दिएको अभिव्यक्तिका कारण उहाँ आलोचित बन्नुभएको हो । प्रतिपक्षी दलका नेता र हिन्दू धर्मावलम्बीहरूले मन्त्री किरातीको अभिव्यक्तिप्रति घोर कटाक्ष गरिरहेका छन् । उहाँको अभिव्यक्तिप्रति राजनीतिक दलका नेतादेखि समान्य नागरिकसम्मले आलोचना मात्र गरेका छैनन्, राजीनामासमेत मागिरहेका छन् । कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले ‘क्रिश्चियन नमान्नेहरूलाई संविधानविरोधी र देशद्रोही’को संज्ञा दिनुभएको थियो ।
सुरुमा हेरौँ उहाँले के भन्नुभएको थियो, ‘नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिश्चियनलाई मान्दिनँ भन्नेहरू संविधानविरोधी हुन् । देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने, जेलमा हाल्ने हो ।’ मन्त्री किरातीले संसारमा सबैभन्दा बढी क्रिश्चियन धर्म मान्नेहरू नै रहेको बताउँदै नेपालमा चाहिँ उनीहरूलाई थिचोमिचो गरिएको दाबी गर्नुभयो ।
मन्त्री किरातीले आफू मात्र होइन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत धार्मिक विवादमा मुछ्ने प्रयास गर्नुभयो । ‘अहिलेको प्रधानमन्त्री प्रचण्डज्यू जिसस जस्तै विद्रोही नेता हो । उहाँको सबै कुरा जिसससित मिल्छ । जिसस अहिले जन्मेको भए ठ्याक्कै प्रचण्ड जस्तै हुनुहुन्थ्यो । मलाई मात्र होइन, प्रधानमन्त्रीलाई पनि जिसस एकदमै मनपर्छ रे !’ उहाँले भन्नुभयो । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भनेर संविधानमै लेखिएको हुनाले कसैको डरत्रासमा बस्नु नपर्ने उहाँको भनाइ थियो ।
यही बोलीकै कारण उहाँको चर्को आलोचना भइरहेको छ । उहाँले साम्प्रदायिक विद्वेष फैलाएको टिप्पणीसमेत कतिपयले गरेका छन् । किरातीको अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीत भएको समेत कतिपयको टिप्पणी छ । यति मात्रै होइन यही अभिव्यक्तिकै कारण उहाँलाई बर्खास्त गर्नुपर्नेसमेत आवाज उठेको छ । राजनीतिक दलकै नेताहरूले उहाँलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।
यसअघि बोली चिप्लेकै कारण थुप्रै नेताहरू अप्ठेरोमा परेका उदाहरणहरू छन् । केही मन्त्रीले त ‘बोली विवाद’कै कारण राजीनामासमेत दिनुपरेको थियो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका स्वस्थ्यमन्त्री शेरबहादुर तामाङ र तत्कालीन मन्त्री सरतसिंह भण्डारीले विवादित अभिव्यक्तिकै कारण पदबाट राजीनामा दिनुपरेको थियो ।
चौतर्फी आलोचना, बर्खास्त गर्न माग
मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताले आलोचना गरेका छन् । जिम्मेवार पदमा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किरातीको चर्को आलोचना गरेका हुन् । रास्वपा सभापति रवि लामिछानेले मन्त्री किरातीले साम्प्रदायिक विद्वेष फैलाएको टिप्पणी गर्दै राजीनामा माग्नुभएको छ । एमाले नेता गोकुल बास्कोटाले पनि मन्त्री किरातीको अभिव्यक्तिको चर्को आलोचना गर्नुभएको छ । बास्कोटाले थुन्नैपर्ने देशद्रोही (अरू धर्म मान्ने)को संख्या करिब ९८ प्रतिशत रहेको भन्दै उनीहरूलाई थुन्न कत्रो जेल बनाउला त ? भन्ने व्यंग्यात्मक टिप्पणी गर्नुभएको हो । बास्कोटाले माओवादी अरू कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भएको पनि टिप्पणी गर्नुभएको छ । राप्रपा महामन्त्री धवलशमशेर राणाले पनि मन्त्री किरातीले दिएको अभिव्यक्ति गलत भएको बताउनुभएको छ । मन्त्री किरातीले माफी माग्नुपर्ने राणाले माग गर्नुभयो । राप्रपाले विवादस्पद अभिव्यक्ति दिएका मन्त्री किरातीलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्नुभएको हो । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले मन्त्री किरातीको अभिव्यक्ति ‘अतिवादमा आधारित’ भएकाले राजीनमा माग्नुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मन्त्री किरातीलाई बर्खास्त गर्न माग गर्नुभएको छ ।
लामिछानेको प्रश्न- गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति संस्कृतिमन्त्री पदमा बस्न मिल्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ भन्दै प्रश्न गर्नुभएको छ । मन्त्री किराँतीले दिएको अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिनसमेत उहाँले माग गर्नुभयो । ‘संस्कृतिमन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उहाँले भन्नुभयो, ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’
संविधान नमान्ने अधिकार पनि जनतालाई छ, हामी जेल जान लामबद्ध छौँ : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पर्यटनमन्त्री सुदन किरातीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । मन्त्री किरातीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उहाँले देश नै जेलमा परिणत गर्नुपर्ने टिप्पणी गर्नुभएको छ । ‘केरे केरे ? क्रिश्चियनलाई मान्दिनँ भन्नु चैँ संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेल हाल्दिने हो । अब देशलाई नै जेलमा परिणत गर्नु पर्ने भो त,’ उहाँले भन्नुभयो, ‘याद गरौँ क्रिश्चियनलाई त के यो संविधानलाई पनि नमान्ने अधिकार जनतालाई छ । हामी यस्ता बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौँ ।’
मन्त्रीको अभिव्यक्तिविरुद्ध प्रदर्शन
नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किरातीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेको छ । मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोधमा संगठनले बिहीबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।
विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरू समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गर्नुभयो ।
धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइन नहुने उहाँले बताउनुभयो ।
राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले पर्यटनमन्त्री किरातीकोे अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । संगठनका संयोजक सुजित केसीले मन्त्री किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभयो । मन्त्री किरातीले क्रिश्चियन धर्मलाई प्रोत्साहन गर्ने गरी तथा अन्य धर्म र धर्मावलम्बीलाई धम्काउने शैलीमा दिएको अभिव्यक्ति भत्र्सनायोग्य रहेको उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्री किरातीलाई तत्काल बर्खास्त गरी विद्यमान कानुनबमोजिम कारबाही गर्नसमेत संगठनले माग गरेको छ ।
मन्त्री किरातीको प्रष्टीकरण- म सबैको अभिभावक हुँ, आत्मालोचना गर्नुपर्ने अवस्था छैन
पर्यटनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिको बचाऊ गर्नुभएको छ । आफ्नो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि सामाजिक सञ्जालमार्फत उहाँले बहसका लागि धन्यवाद भन्दै आफ्नो अभिव्यक्तिको बचाऊ गर्नुभएको हो । संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्नेमा आफ्नो जोड रहेको उहाँको जिकिर छ । ‘अहिले म सबैको अभिभावक हुँ । त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो,’ उहाँले भन्नुभयो, ‘संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौँ । अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो ।’
उहाँले आफ्नो अभिव्यक्तिप्रति आत्मलोचना गर्नपर्ने अवस्था नरहेको बताउनुभयो । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्म संस्कृतिहरू एकै फूलबारीमा फूलेको फूल भएको बताउनुभयो । सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई नस्वीकार्नेहरू संविधानविरोधी र देशद्रोही भएको दोहोर्याउनुभयो । ‘माफी माग्ने, राजीनामाको कुरा पनि छ । मैले बोलेको कुरा संविधानको भावनाअनुसार हामी चल्नुपर्छ । हाम्रो सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु हुँदैन, धर्मनिरपेक्ष राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृति, फूलबारीमा फूलेको फूल जस्तै हुन् । जसले यो फूल अस्वीकार गर्छ, त्यो शब्दमै भन्दा देशद्रोही भनेको छु । संविधान नमान्ने देशद्रोही त हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच