कच्ची सडकमै गुड्छन् अटो रिक्सा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बागलुङका ग्रामीण तथा बजार क्षेत्रमा पछिल्लो समय अटो रिक्सा चल्न थालेका छन् । बजार क्षेत्रमा चल्ने अटो रिक्सा नगरपालिकासँग अनुमित लिएर संचालन भएका छन् भने ग्रामीण क्षेत्रमा लापरवाही रुपमा चल्ने गरेका छन् । जथाभावि रुपमा चल्ने अटो रिक्सालाई कुनै पनि निकायले कारबाही गर्न सकेको छैन । खास गरि समथर भू-भागका पक्की सडकमा गुड्ने रिक्सा पहाडी कच्ची सडकमा गुडि रहेका छन् । यसरी जथाभावि रुपमा चल्ने रिक्साका कारण एक तर्फ दुर्घटनाको जोखिम बढाएको छ भने अर्को तर्फ बजार क्षेत्रमा भिडभाड बढाएको छ । ट्याक्टरसमेत हिड्न गाह्रो हुने ग्रामीण सडकमा व्यवसायीले जवरजस्ती रिक्सा चलाउँदै आएका छन् ।

जिल्लाको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान, निसीखोलाको झिवाखोला, जुग्जाखोला, निसी र बडिगाड क्षेत्रमा अटो चल्ने गरेका छन् भने सदरमुकाम बागलुङ बजारदेखि कालिका मन्दिर, मालढुङ्गा, उपल्लचौर, पञ्चकोट, सिगाना, भकुण्डे, खहरे, काठेखोला लगायतका ठाउँमा अटो संचालन भइ रहेका छन् । बुर्तिबाङ बजारदेखि तमानखोलासम्मका सबै सडक कच्ची छन् तर अटो रिक्सा निरन्तर चलि रहेका छन् । निसीखोला क्षेत्रमा मध्यपहाडी लोकमार्ग भएको हुँदा कालोपत्रे भए पनि रिक्सा संचालनका लागि उपयुक्त मानिदैन । सदरमुकाम बागलुङ बजारदेखि उपल्लाचौर, कालिका मन्दिर र खहरेसम्म बागलुङ नगरपालिकाले अनुमति दिए पनि पञ्चकोट, सिगाना र भकुण्डेमा कच्ची सडकका कारण अनुमति दिएको छैन तर अटो चालकले मनपरी रुपमा चलाइ रहेका छन् ।

अनुमति नदिएको स्थानमा अटो रिक्सा चल्दा हालसम्म एक दर्जन दुर्घटना भएका छन् । बागलुङ बजार निकै साँघुरो छ । यहाँका सडक र फुटपाथको अवस्था पनि उस्तै छ । चोकचोक र गल्लीगल्लीमा जथाभावि चल्ने अटो रिक्साले पैदल यात्रु र स्थानीयलाई ओहोरदोरमा समस्या हुने गरेको छ । बुर्तिबाङ बजारदेखि ग्रामीण क्षेत्रमा चल्ने अटो रिक्सा नगरपालिकामा अनुमति नलिई संचालन भएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले बताउनुभयो । पछिल्लो समय दिनप्रति दिन अटो बढ्दै गएपछि व्यवस्थापन गरेर संचालनका लागि नगरपालिकाले योजना बनाएको उहाँको भनाइ छ । ट्राफिक प्रहरी र अटो रिक्सा व्यवसायीसँग छलफल गरि कुन-कुन ठाउँमा संचालन गर्ने भनि अनुमति दिने ज्ञवालीले बताउनुभयो ।

“धेरै समय भयो, यहाँ अटो संचालन भएको, बजारबाट गाउँ-गाउँसम्म चल्छन्, अहिलेसम्म चलेका कुनै पनि अटो रिक्सालाई नगरपालिकाबाट अनुमति दिएका छैनौँ, आ-आफ्नै हिसाबले चलेका छन्, सही रुपमा व्यवस्थापन गरि संचालनका लागि विभिन्न निकायसँग समन्वय गर्छौँ” प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भन्नुभयो - “ग्रामीण सडक अहिले कच्ची छन्, अप्ठ्यारा छन्, त्यस्तो सडकमा अटो चलाउन उचित हुँदैन, व्यवसायीहरुले पनि बुझन् जरुरी छ, दुर्घटनापछि पछुताउनुभन्दा अहिलेनै सचेत हुन जरुरी छ, हामीहरु व्यवस्थापन गर्नका लागि गम्भीर भएका छौँ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिनबहादुर खड्काले बागलुङ नगरपालिकाले ‘रुट प्रमिट’ दिएका स्थानबाहेक अन्य ठाउँमा पनि अटो संचालन हुने गरेको बताउनुभयो । कच्ची सडकमा चल्दा धेरै ठाउँ दुर्घटनामा पनि परेको भन्दै ट्राफिक प्रहरीले अटेर गरि तोकिएकोभन्दा बाहिर संचालन गर्ने चालकलाई कारबाहीसमेत गरेको बताउनुभयो । अव्यवस्थित अटो रिक्साले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई पनि अस्तव्यस्त बनाइ दिने गरेको उहाँको भनाइ छ । खड्काले चालकहरुले क्षमताभन्दा बढी यात्रुसमेत राख्ने गरेको बताउनुभयो । बजार क्षेत्र, लोकमार्ग र कुँडुलेसम्मका लागि मात्रै अटो संचालनका लागि अनुमति दिइएको उहाँ बताउनुहुन्छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पछिल्लो समय अटो रिक्सा बढ्दै जाँदा बजारमा यात्रुलाई समस्या हुने गरेको बताउनुभयो । सुरुमा युवाहरुले बेरोजगार भयौँ अटो रिक्सा संचालन गर्छौँ भनि आग्रह गरेपछि नगरपालिकाले सहज रुपमा दर्ता गरि संचालनको अनुमति दिएको भन्दै अब थप व्यवस्थापन गर्नु पर्ने अवस्था आएको खड्काको भनाइ छ । बजार क्षेत्रमा धेरै अटो संचालन हुँदा दुर्घटानाको जोखिम बढेको उहाँ बताउनुहुन्छ ।

उपप्रमुख खड्काले भन्नुभयो - “नगरपालिका र व्यवसायीसँग छलफल गरेर सीमित ठाउँमा संचालनका लागि अनुमति दिएका हौँ, तर अहिले अनुमति दिएकोभन्दा बाहिरका ठाउँहरुमा संचालन भएको पाइएको छ, युवाहरुले बेरोजगार भयौँ, अटो संचालन गर्छौँ भन्ने प्रस्ताव आएपछि एउटा मापदण्ड बनाएर सहज रुपमा दर्ता गर्ने र संचालन गर्ने व्यवस्था मिलायौँ, छोटो दुरीमा यात्रा गर्नलाई पनि केही सहज भएको छ, नगरपालिकाले अनुमति दिएको ठाउँबाहेक अन्य ठाउँमा गएर चल्नेलाई कारबाही गर्छौँ, अहिलकै अवस्थामा संचालन हुने हो भने जुनसुकै बेला पन दुर्घटना हुन सक्छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?