
स्वतन्त्र प्रेस सभ्य र खुला समाजका लागि प्राण वायु जस्तो भएको छ । प्रेस स्वतन्त्रताको अभावमा नागरिकहरू निसासिएको र उकुस मुकुसमा परेको अनुभव गर्दछन् । यद्यपि, प्रेस स्वतन्त्रता नभएका देशहरूको संख्या पनि विश्वमा उल्लेख्य संख्यामा रहेको छ । चीन र भियतनाम जस्ता राज्यले प्रेस नियन्त्रण गरेका देशहरू पनि आर्थिक विकासमा अगाडि वढ्न सफल भएका छन् । तर, त्यो विकास नागरिकहरूको गुणस्तरीय जीवनको मूल्यमा भएको विषयलाई नकार्न सकिँदैन ।
खुला समाज भएता पनि जिम्मेवारी नभएका र स्वार्थी नेता भएका देशहरूले अपेक्षित रुपमा विकास गर्न सकेका छैनन् । नेतामात्र होइन राज्यका सवैजसो संयन्त्र आफ्नो कर्तव्य र भूमिकाबाट अलग भएको अवस्थामा त स्वतन्त्र प्रेस पहरेदार जस्तो वन्ने रहेछ । यस्को उदाहरण वर्तमान अवस्थाको नेपाल भएको छ । खासगरी ०७४-०७६ को नेपालको राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक काम, राष्ट्रपति पदको गैरजिम्मेवारीपन, चोलेन्द्र शमशेरको कंगारु कोर्टको अभ्यास, संवैधानिक अंगहरूमा भएको दुराशयपूर्ण नियुक्ति र स्वार्थी प्रमुख प्रतिपक्ष भएको कालखण्डमा नेपालको प्रेसले गरेको खवरदारी प्रेसको सकारात्मक भूमिकाको पछिल्लो उदाहरण हो । हुनत, विसं २०३६, २०४६, २०६३ का आन्दोलनको सफलतामा प्रेसको भूमिका अविस्मरणीय रहेको छ ।
हरेक सरकारको स्वभाव नै निरंकुश हुन चाहने र हरेक सञ्चारमाध्यमको भूमिका अंकुश रहित हुन चाहने विरोधासपूर्ण सम्बन्ध भएको कारण निरंकुश हुन चाहने र अंकुश रहित हुन चाहनेको विचमा द्वन्द र घम्साघम्सी समय/समयमा परिरहेको देखिन्छ । यो घम्साघम्सीमा धेरैजसो प्रेस विजयी भएको देखिन्छ भने कतिपय घटनामा कतिपय गैरजिम्मेवार शासक जनभावना दबाउन सफल भएका छन् । प्रेसले गरेको खबदारीलाई दण्डित गर्नेहरू केही समयको अन्तरालमा सत्ताच्युत भएको मात्र होइन, कारागारको हावाखान पुगेका उदाहरण पनि धेरै छन् ।
जस्तोसुकै सञ्चारमाध्यम र सञ्चारघर चौथो अंग बन्न सक्दैन । त्यो बन्नका लागि स्वतन्त्र प्रेसले आफ्नो धर्म निर्वाह गर्न सक्नुपर्दछ । त्यो धर्म भनेको हरेक सञ्चारमाध्यमले नागरिकहरूको विश्वसनीयता हासिल गर्न सक्नुपर्दछ ।
पोल्याण्ड, हंगेरी जस्ता प्रजातान्त्रिक शासन भएका भनिएका देशहरूमा समेत राज्य नियन्त्रित धनाढ्यलाई प्रेसहरू खरिद गर्न लगाई नियन्त्रण गरेको पाइन्छ भने भारत जस्तो प्रजातान्त्रिक देशमा राज्यकोषबाट लाभान्वित ठूला सञ्चारगृहहरूले प्रधानमन्त्रीको पार्टी भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीको पक्षपोषण गरेको कारण गोदी मिडिया भन्ने गरिएको छ । नागरिकलाई सुसूचित गर्ने सञ्चारमाध्यमलाई राज्यको चौथो अंग भनिन्छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका पछि चौथो अंग भन्नुमा शासकहरू र नागरिक बीचमा सेतुको काम गर्ने क्षमता भएको कारणले नै हो ।
जस्तोसुकै सञ्चारमाध्यम र सञ्चार घर चौथो अंग बन्न सक्दैन । त्यो बन्नका लागि स्वतन्त्र प्रेसले आफ्नो धर्म निर्वाह गर्न सक्नुपर्दछ । त्यो धर्म भनेको हरेक सञ्चारमाध्यमले नागरिकहरूको विश्वसनीयता हासिल गर्न सक्नुपर्दछ । समाचार सत्यमा आधारित हुनुपर्दछ । निष्पक्षता स्वतन्त्र प्रेसको अर्को गहना हो । आत्मसम्मान भएको प्रेसलेमात्र आफ्नो धर्म निर्वाह गर्नसक्ने भएकाले यस्तो सञ्चारमाध्यम स्वतन्त्र र जवाफदेही होस् भन्ने अपेक्षा गरिन्छ ।
पूर्वाग्रह रहित भएर कसैको पक्षपोषण नगरी निष्पक्ष भूमिका निर्वाह गर्न सकेमात्र सञ्चारमाध्यमलाई आफ्नो धर्ममा अडिग रहेको मान्न सकिन्छ । इजरायल- हमास युद्धमा मृत्यु नजिक छ भन्ने जान्दा जान्दै पत्रकारिताको धर्म निर्वाह गर्न निस्केका धेरै सञ्चारकर्मीले शहादत प्राप्त गरे । नागरिकको सूचनाका लागि गरिएको त्यो शहादत स्वतन्त्र प्रेसले आफ्नो धर्म निर्वाह गरेको पछिल्लो उदाहरण हो ।
सरकारबाट निर्माण नगरिएको, सरकारमा भर नपर्ने आफ्ना गतिविधिको जानकारी सरकार वा सरकार नियन्त्रित निकाय, कम्पनी वा प्रभावशाली व्यक्तिहरूलाई गर्नु नपर्ने सञ्चारमाध्यमलाई स्वतन्त्र र प्रजातांत्रिक पद्धतिको मेरुदण्ड मान्न सकिन्छ । सरकार नियन्त्रित सञ्चारमाध्यमबाट स्वतन्त्र प्रेसको अपेक्षा गर्न सकिदैन । निजीक्षेत्रबाट सञ्चालित सञ्चार गृहले सञ्चालन गरेका सञ्चारमाध्यम बढी निष्पक्ष हुनेमा कुनै आशंका छैन । सरकार नियन्त्रित सञ्चारमाध्यम सरकारी सूचना प्रवाहमा प्रभावकारी देखिए तापनि स्वतन्त्रताको पक्षबाट दृष्टिगत गर्दा उनीहरू अंकुशरहित बन्न सक्दैनन् । यद्यपि, दैवी प्रकोप भएको आपत्कालीन अवस्थामा यिनीहरूको भूमिका महत्वपूर्ण पाइएको छ । यसको कारण भनेको यसको पूर्वाधार र व्यापकरूपमा फैलिएको सञ्जाल नै हो । विसं २०७२ सालको भूकम्पमा सरकारी सञ्चारमाध्यमको रूपमा रेडियो नेपाल र, नेपाल टेलिभिजन र गोरखापत्रको भूमिका प्रभावकारी पाइएको थियो ।
स्वतन्त्र सञ्चारमाध्यमले सूचना उपलब्ध गराउनाले नागरिकलाई देश विदेशको आर्थिक, सामाजिक, राजनीतिकदेखि सबै पक्षमा सुसूचित हुने अवसर उपलब्ध गराउँछ र नागरिक सही निर्णय लिन सक्षम बन्दछन् । त्यसैगरी सरकारले गरेका कामहरू, नीतिनिर्माण प्रक्रिया, कार्यान्वयनमा देखिएका समस्याहरूको बारेमा सञ्चारमाध्यमले आलोचना गरेको कारण सरकारले सुध्रिने मौका पाउँदछ । सञ्चारमाध्यमले जनताको आवाज प्रतिबिम्बित गरेको कारण सरकर पनि उस्ले गरेका गलत र अपारदर्शी काम कारबाहीमा सुधार गर्न बाध्य वन्दछ ।
यसरी सूचना प्रवाह र आलोचना भएपछि सार्वजनिक वहसको सृजना हुन्छ, जुन् बहसले नागरिकमा सचेतनाको वृद्धि हुनजान्छ र बढेको नागरिक सचेतनाले राज्यका हरेक निर्णयमा सही छनौट गर्ने अवस्था वन्दछ । नागरिकले आवधिक चुनावमा सही प्रतिनिधिको छनौट गरी राज्य संरचनामा नैं परिवर्तन गर्ने हैसियत राख्ने अवस्था बन्दछ । सूचनाले ज्ञानको सिर्जना गर्दछ, जुन् ज्ञानले शिक्षा, स्वास्थ्य, व्यापार, बजार, वातावरणको क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउँन सक्दछ ।
अफ्रिकी देशहरूमा फैलिएका महामारीमा सञ्चारमा पहुँच भएका र नभएका नागरिकहरूको स्वास्थ्य अवस्था फरक पाइयो । एचआइभी एड्सको प्रकोपको समयमा सूचनाको पहुँच भएको कारण धेरैमा रोग सरेन भने पहुँच नभएकाहरू रोगको शिकार बने । त्यस्तै शिक्षा क्षेत्रमा प्राप्त हुने अवसरमा पनि सूचनाको उपलब्धताले महत्वपूर्ण भूमिका खेलेको पाइएको छ । स्वतन्त्र प्रेसले नागरिक सहभागितालाई जोड दिनेमात्र होइन, भ्रष्टाचार र धार्मिक अतिवादलाई निरुत्साहित गर्दछ । सत्य तथ्यमा आधारित सामाजिक संरचनालाइ बढावा दिन्छ ।
स्वतन्त्र प्रेस र आर्थिक/औद्योगिक विकास
स्वतन्त्र प्रेसको उज्यालो किरणबाट कुनैं एक क्षेत्रमात्र लाभान्वित वन्ने होइन अपितु, राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, वातावरणीय, औद्योगिक क्षेत्रलगायतका क्षेत्र परिपोषित बन्दछन् । आर्थिक विकासका लागि देशको आर्थिक वृद्धिदर बढाउने लक्ष सरकारले राखेको हुन्छ । कुल गार्ह्थ्य उत्पादन बढाउने लक्ष पनि सबै सरकारका प्राथमिकतामा रहेका हुन्छन् । यस्तो लक्ष हासिल गर्न पनि स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण देखिन्छ ।
स्वतन्त्र प्रेसको उज्यालो किरणबाट कुनैं एक क्षेत्रमात्र लाभान्वित वन्ने होइन अपितु, राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, वातावरणीय, औद्योगिक क्षेत्र लगायतका क्षेत्रहरू परिपोषित बन्दछन् । आर्थिक विकासका लागि देशको आर्थिक वृद्धि दर वढाउने लक्ष सरकारले राखेको हुन्छ ।
आर्थिक विकासका लागि आन्तरिक साधनमात्र पर्याप्त हुँदैन । ठूला विकास आयोजना संचालन गरेर ठूलो पूँजी निर्माण र चाहिदोमात्रामा रोजगारी सिर्जना नगरेसम्म अर्थतन्त्रको आन्तरिक पक्ष सवल बन्न सक्दैन । यस्को लागि प्रत्यक्ष वैदेशिक लगानी( एफडिआई) को आवश्यकता पर्दछ । त्यस्तो लगानी प्रतिस्पर्धात्मक विश्व बजारबाट ल्याउनुपर्ने हुन्छ ।
लगानी पनि पानी जस्तै हो । जता मुनाफाको सम्भावना बढी छ, त्यसैतर्फ वग्दछ, पानी ओरालोमा वगे जसरी । पानीलाई त पम्प गरेर उकालो लाने प्रविधि पनि आविष्कार भएको छ तर स्वच्छ लगानी मुनाफा बेगर बग्न सक्दैन, केही समय बगे पनि टिक्न सक्दैन । त्यस्तो मुनाफाका लागि लगानीकर्ता उपयुक्त स्थान र उपयुक्त वातावरणको खोजीमा रहेका हुन्छन् । त्यो वातावरण कस्तो छ भनेर सरकारले निकालेका तथ्यांकमात्र पर्याप्त हुँदैनन् । लगानीकर्ता त्यसमामात्र भर पर्न सक्दैनन् । उनीहरू लगानी गर्ने देशको सरकार कस्तो छ ? राजनीतिक स्थायित्व कस्तो छ ? राजनीतिकर्मीहरू कति चन्दा प्रेमी छन् ? द्रव्यप्रेमी छन् कि देशप्रेमी छन् ? कर्मचारीतन्त्र कति प्रक्रियामुखी र भ्रष्ट छ वा सहयोगी छ, ट्रेड युनियन मर्यादित छन् कि ध्रुवे हात्ती जस्ता मदोन्मत्त र उच्छृंखल छन् अथवा हरेक लगानीकर्तालाई दलाल, पूँजीपतिमात्र देख्नेछन् ? राम्रो भाषामा भन्दा श्रम सम्बन्ध कस्तो छ यावत् विषयको विश्लेषण गरेर आउन चाहन्छन् ।
माथि भनिएका सूचनाका लागि उनीहरू भरपर्ने क्षेत्र भनेको सार्वजनिक सञ्चारमाध्यम पनि हो । लगानी गरिने देशको सञ्चारमाध्यमलाई उनीहरूले स्वतन्त्र महसुस गरेको अवस्थामा त्यस्ता सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार उनीहरूका लागि भरपर्दो खुराक वन्न सक्दछ । स्वतन्त्र प्रेसले लगानीको वातावरणको बारेमा प्रचारप्रसार गरेका सामग्रीको कारण लगानी भित्रिने वा नभित्रिने परिस्थिति वन्न सक्दछ ।
स्वतन्त्र प्रेसले उपलव्ध गराएको सूचना सामाग्री लगानीकर्ताको लागि ठूलो पृष्ठपोषण हो । जहाँ प्रेस स्वतन्त्र छैन त्यहाँ लगानीकर्तालाई सही सूचना पाउन कठिनाइ हुन्छ । स्वतन्त्र प्रेसबाट सूचना सम्प्रेषण, सूचना सम्प्रेषणको कारण एफडिआई भित्रिने वातावरण वन्ने किसिमको अन्तर्निहित सम्वन्धले मुलुककको आर्थिक विकासलाइ सघाइरहेको हुन्छ ।
औद्योगिक विकास पनि आर्थिक विकासको एक पाटो हो । यस्कालागि प्रत्यक्ष वैदेशिक लगानी अपरिहार्य हुन्छ । नेपालको औद्योगिक विकासका लागि प्रतिवद्धता व्यक्त गरिएको धनराशिको ३०-४० प्रतिशतमात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको तथ्यांकले नेपालको औद्योगिक वा समग्र लगानीको वातावरण प्रति लगानीकर्ता आश्वस्त हुन नसकेको तर्फ संकेत गरिरहेको छ । जुन चिन्ताको विषय हो ।
यसको कारण अस्थिर राजनीति र भ्रष्ट राजनीतिज्ञ त हुँदै हो । प्रक्रियामुखी र आफ्नो फायदाकालागि जेजस्तो जोखिम लिन तयार हुने र सामूहिक अथवा राष्ट्रिय फायदाका लागि रत्तिभर जोखिम नलिने भ्रष्ट कर्मचारीतन्त्र पनि कम्ती जिम्मेवार छैन । प्रत्यक्ष वैदेशिक लगानी आओस् भनेर नेपाल सरकारका निकायले समय÷समयमा गोष्ठी सेमिनार, लगानीकर्ता भेलाजस्ता अनेक गतिविधि सम्पन्न गर्दछ तर ती काम फगत् कर्मकाण्ड भएका छन् । दक्षिणा लिएपछि कुम्भकर्ण निद्रामा परेको अवस्था छ । प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धमा चार दशक अगाडि भन्ने गरिएका समस्या नै अहिले पनि विद्यमान हुनु र तिनै कारण वाचन गरिरहनुपर्नाले फगत् कर्मकाण्ड भन्नुमा अतिशयोक्ति पनि देखिँदैन ।
वर्तमान नेपालमा लगानीको वातावरण गतिलो नहुनुमा विश्वासको संकट र कमजोर मनोवल हो । दुनियाका धेरै देशमा दशकौं देखि गठबन्धन सरकार चलिरहेका छन् । आर्थिक विकासलाई त्यस्ले खासै असर गरेको छैन । ती देशको अर्थतन्त्र आफ्नो लयमा चलिरहेको छ । एकमना सरकार बन्न कठिन हुने किसिमको नेपालको संवैधानिक व्यवस्था भएको, पटक-पटक सरकार परिवर्तन हुने गरेको, सरकारको परिवर्तन पश्चात् करलगायत नीतिगत व्यवस्थासमेत परिवर्तन हुने भएकाले लगानीकर्ता र व्यापारिक समुदायको विश्वास कमजोर भएको परिस्थिति छ । गूटगत दलगतराजनीति र ठूलो संख्यामा रहेका जीविकोपार्जनको उपाय नभएका राजनीतिज्ञ, तिनका नातागोता र आसेपासेको स्वार्थ परिपोषित गर्नुपर्ने विषय लगानीकर्ताका लागि अर्को टाउको दुखाइको विषय बन्ने गरेको छ ।
कच्चा पदार्थमा अरू देशको भर पर्नुपर्ने, निर्यात गर्न आफ्नो सामुद्रिक वन्दरगाह नभएको कारण असहज हुने, ट्रेड युनियनको भूमिका उत्पादन प्रेरितभन्दा राजनीति प्रेरित हुने, उत्पादित वस्तुको लागत पनि चीन र भारत जस्ता विशाल देशकोभन्दा वढी पर्ने हुनाले प्रतिस्पर्धात्मक बजारमा टिक्न कठिन हुने, राज्यले कुनै किसिमको संरक्षण नदिने आदि कारणले नेपालमा उद्योग गर्न सजिलो छैन भन्ने बुझाइ उद्योगीहरूमा छ । अहिले ५० प्रतिशत भन्दा कम उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन भइरहेको परिस्थितिले पनि औद्योगिक वातावरण लगानीमैत्री नभएको तर्फ संकेत गरिरहेको छ । यसले गर्दा उद्योगीको मनोबल झन् कमजोर बनेको अवस्था छ ।
कमजोर मनोबलमा गुज्रिरहेको औद्योगिक र व्यापारिक क्षेत्रलाई हौसला दिन सरकारका प्रक्रियामुखी नीतिहरूमा परिवर्तन, कार्यान्वयनमा सहजता, सवैतिर पारदर्शी कार्यप्रणाली अनिवार्य छ । उद्योगी, व्यवसायीदेखि सर्वसाधारण उपभोक्ताको कमजोर वनेको मनोबल र खस्कँदो विश्वासलाई उकास्न स्वतन्त्र र राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ । हालैका दिनमा एनसेलमा ८० प्रतिशत शेयर स्वामित्व रहेको मलेशियाको आजियटा वर्हाद समूहले गएको मंसिर १४ मा आफ्नो स्वामित्वको शेयर शेलायतको स्पेक्ट्रलाइट यूकेलाई ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्दै नेपालमा लगानीको वातावरण नभएको भन्ने विवादास्पद कथनले नेपालको लगानी वातावरणलाई झनै प्रतिकूलता थपिदिएको छ । यो विवादको वास्तविक पक्ष उजागर गर्न नेपालका सञ्चारमाध्यमले देखाएको चासो र प्रयास प्रशंसनीय देखिएको छ ।
यद्यपि, पूँजी र पूँजीपति खराव विषय हुन् भन्ने नेपालका कथित कम्युनिष्टहरूले सर्वसाधारणमा स्थापित गराएको भाष्यको शिकारबाट भनें नेपालको प्रेस जोगिन आवश्यक छ । सबैमा हेक्का रहनुपर्दछ, पूँजी र पूँजीपति देशविकासका संवाहक हुन् । पूँजीपतिलाई अनुकूल वातावरण दिएर रातो कार्पेट विछ्याएर स्वागत गर्ने होडमा हामी दुत्कार र अपहेलना गर्ने परम्परागत मनस्थितिबाट ग्रस्त बनिरहृयौं भने हामीलाई दरिद्र गफाडी वनाउँनबाट सर्वशक्तिमान भन्ने गरेका परमेश्वरले रोक्न सक्ने छैनन् ।
यस्तो अवस्थामा नेपालका सञ्चारमाध्यमले यस विषयको सत्य तथ्य पत्ता लगाइ पाठकलाई सुसूचित गर्न सक्नुमा सबै पक्षको हित सन्निहित छ । स्वतन्त्र प्रेसले पारदर्शितालाइ प्रवद्र्धन गर्दछ । सूचनाको पहुँचलाई सहज बनाइदिने कारण लगानीकर्ताले वास्तविक परिस्थितिको विश्लेषण गर्न सहजता महसुस गर्दछन् । अैद्योगिक विकासका लागि पनि तथ्यपरक सूचना, सूचनामाथिको बहस, बहसबाट निस्किएको निष्कर्ष जनतामा सम्प्रेषित हुन आवश्यक हुन्छ । जुन कार्य कुनै पनि समाजको स्वतन्त्र सञ्चारमाध्यमलेमात्र गर्न सक्दछ । त्यसैले भन्ने गरिन्छ-औद्योगिक विकास र स्वतन्त्र प्रेस एक अर्काको सहयोगी र परिपूरक हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच