जनतालाई अधिकार माग गर्ने चेतना सङ्घीयताले दिएको हो : शालिकराम जम्मकट्टेल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ सङ्घीयताले दिएको बताउनुभएको छ । आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सङ्घीयता कार्यान्वयनको सुरुआत राम्रो भएको बताउँदै उहाँले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतामा शिक्षाको, स्वास्थ्यको, रोजगारको, विकासको चेतना सङ्घीयताले दिएको हो ।” सङ्घीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागेको उहाँको भनाइ छ । उहाँले तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण र कार्यान्वयनका लागि साथै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासङ्घको सहभागितामा छलफल कार्यक्रम राखिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जनताले तीन तहको सरकारको अनुभूति गर्न नसकेका कारण अधिकार बाँडफाँटसँगै अक्षरशः कार्यान्वयनमा तत्कालै लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तह एक भएर संविधानलाई कार्यान्वयनमा लैजाँदा विकास र उत्साहको मूल फुट्ने जनाउनुभयो । यसका साथै उहाँले सरकारलाई सिक्दैछु भन्ने छुट नभएकाले समन्वयको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका नगरपालिका महासङ्घ नेपालका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले अब सरकारले प्राप्त अधिकार कार्यान्वयन गर्दा सङ्घीयताको मूल मर्म जोगिने बताउनुभयो । सङ्घीयताले दिएको अधिकारको पूर्ण कार्यान्वयन हुँदा समृद्ध राज्य निर्माण हुने उहाँले जानकारी दिनुभयो ।

तीन तहको सरकार एकअर्कामा गुनासो गर्दै बस्दा त्यसको असर राज्यमा पर्ने भएकाले समन्वय गरेर तत्काल कार्यान्वयनमा लानुपर्ने उहाँको भनाइ छ । अबको तीन दिनको छलफलले  तहगत अधिकार कार्यविस्तृतीकरणको विषय टुङ्गोमा पुग्ने कारण यसलाई महत्वका साथ हेरिएको ढुङ्गानाले बताउनुभयो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?