पिएम कप महिला क्रिकेटमा एपिएफको पहिलो क्वालिफायर पक्का, प्लेअफ खेल्ने टोलीको टुङ्गो

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । एपिएफले गण्डकी प्रदेशले हराउँदै जारी प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायरमा स्थान बनाएको दिन बिहीवार शिर्ष चारमा रहने टोली पक्का भएको छ ।

शिर्ष चारमा पुग्ने सम्भवना रहेका गण्डकी र लुम्बिनीको हारसँगै वागमतीले कर्णाालीमाथि जित निकालेपछि प्लेअफमा पुग्ने टोलीको टुङ्गो लागेको हो । बिहीवार वागमतीको हारले मात्र उनीहरूको प्लेअफमा सम्भावना रहन्थ्यो । तर, वागमतीले कर्णालीमाथि १० विकेटको रबाफिलो जित निकाल्दै ६ खेलबाट आठ बटुल्यो । त्यससँगै शिर्ष चारका लागि निकटतम रहेका लुम्बिनी र मधेसले बाँकी एक खेल जित्दा पनि भेट्टाउन असम्भव भएपछि प्लेअफमा पुग्ने टोलीको टुङ्गो लागेको छ । मधेसले पनि बिहीवार लुम्बिनी प्रदेशलाई आठ विकेटले हराउँदै ६ खेलबाट चार अंक बटुल्यो । तर पनि प्लेअफमा पुग्ने मधेसलाई यो जित अपर्याप्त बन्यो ।

बिहीवार अपराजित टोली एपिएफले गण्डकीमाथि ५२ रनको जित निकाल्दा कोसीले पनि सुदूरपश्चिममाथि आठ विकेटको जितसहित पहिलो क्वालिफायरको दाबेदारका रूपमा आफूलाई उभ्याएको छ । राउण्ड रोविनका आधारमा सात खेल सकिँदा शिर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्दा तेस्रो र चौथो हुने टोलीले इलिमिनेटरमा प्रतिष्पर्धा गर्नेछन् । कोसीले अब अन्तिम खेलमा लुम्बिनी प्रदेशमाथि जित निकालेको खण्डमा एपिएफसँग क्वालिफायर खेल खेल्नेछ । कोसीले हारेको खण्डमा भने वागमतीले एपिएफसँग र सुदूरपश्चिमले गण्डकीसँग हारको कल्पना गर्नुपर्नेछ ।

गण्डकीलाई ५२ रनले स्तब्ध बनाउँदै विभागीय टोली एपिएफले प्रतियोगितामा आफ्नो विजयी यात्रालाई छैटौं खेलसम्म पनि कायम राखेको छ । जितसँगै ६ खेलमा १२ अंक जोडेको एपिएफले पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ । पाँचौं हारसँगै समान खेलबाट दुई अंक जोडेको गण्डकी सातौं स्थानमा छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीवार एक सय २८ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ७५ रन मात्र बनाउन सक्यो ।

गण्डकीकी श्रृष्टि जैसी र सुमन खतिवडाले समान १७, ज्योत्स्निका मरासिनीले १३ र सिर्जना पौडेलले ११ रन बनाए । एपिएफकी नेरी थापाले चार, सोमु खड्काले दुई तथा कुसुम भण्डारीले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय २७ रनको योगफल बनाएको थियो । एपिएफकी ममता चौधरीले अविजित ४०, रोमा थापाले अविजित ३१, कप्तान सीता रानामगरले १९ र इन्दु बर्माले १० रन बनाए ।

चौथो विकेटका लागि ममता र रोमाले अविजित ७४ रनको साझेदारी गरे । गण्डकीकी ज्योत्स्निकाले दुई तथा कप्तान कुशुम गोदारले एक विकेट लिए । अर्को खेलमा कर्णाली प्रदेशमाथि १० विकेटको सानदार जितसहित बागमतिले प्ले अफमा स्थान बनाउन सफल भयो । यो नतिजासँगै सुदूरपश्चिम प्रदेशले पनि प्ले अफमा स्थान बनायो । समान ६ खेलबाट आठ अंक जोडेको वागमती चौथो स्थानमा रहँदा ६ कर्णाली अभैm अंकविहीन छ । मुलपानी क्रिकेट मैदानमा कर्णालीले दिएको ४३ रनको झिनो लक्ष्य वागमतीले ४.५ ओभरमा बिना विकेट पूरा ग¥यो ।

वागमतीकी याशु पाण्डेले २५ र हेलिशा गुरुङले १३ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले १३.४ ओभरमा ४२ रनमै अलआउट भयो । कर्णालीका लागि श्रुती बुढाले १६ र बिना थापाले १२ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । वागमतीकी खुशी डंगोलले चार, संस्कृति फुँयालले दुई तथा सोनी पाख्रिन र विपिशा शाहीले समान एक विकेट लिँदै कर्णालीको इनिङ सस्तैमा रोके ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?