
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो दिन डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापती क्वाटरफाइनलमा प्रवेश गर्दा दोस्रो वरीयताका निरज तामाङ पहिलो चरणबाटै बाहिरिनुभएको छ ।
दिनेशसँगै पहिलो वरीयताका भुवन नगरकोटी, चौथो वरीयताका जयराम श्रेष्ठ, पाँचौँ वरीयताका सञ्जय लामा, छैटौँ वरीयताका रवि खड्का, सातौँ वरीयताका रामे मगर, नवौँ वरीयताका भुवनकुमार रोक्का र १५औँ वरीयताका प्रदीपकुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाउन सफल हुनुभएको छ ।
रोयल नेपाल गल्फ क्लबमा म्याच प्ले फम्र्याटमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा तेस्रो वरीयताका दिनेश प्रजापतीले अनुभवी गल्फर तोरणविक्रम शाहीलाई प्रतिस्पर्धात्मक खेलमा १८औँ होलमा पराजित गर्नुभयो । उहाँले अब क्वाटरफाइनलमा छैटौँ वरीयताका रवि खड्कासँग प्रतिस्पर्धा गर्नुहुनेछ । रवि खड्काले भने ११औँ वरीयताका रमेश अधिकारीलाई ३/२ ले माथ दिँदै अन्तिम आठमा स्थान पक्का गर्नुभयो ।
पहिलो वरीयताका भुवन नगरकोटीले १६औँ वरीयताका रामकृष्ण श्रेष्ठलाई ५/४ को सहज नतिजामा हराउनुभयो । भुवनले क्वाटरफाइनलमा नवौँ वरीयताका भुवनकुमार रोक्कालाई प्रतिद्वन्द्वीका रूपमा भेट्टाउनुभएको छ । भुवनकुमार रोक्काले भने आठौँ वरीयताका धनबहादुर थापालाई १८औँ होलमा पराजित गर्नुभयो ।
दोस्रो वरीयताका निरज तामाङ भने अप्रत्याशितरूपमा पहिलो चरणबाटै बाहिरिनुभएको छ । धरानका प्रो. निरजलाई १५औँ वरीयताका प्रदीपकुमार लामाले कडा चुनौतीमात्र दिनुभएन, उहाँले १८औँ होलमा खेल जित्दै क्वाटरफाइनलमा आफ्नो नाम सुरक्षित गर्नुभयो । प्रदीपले अब क्वाटरफाइनलमा सातौँ वरीयताका रामे मगरको सामना गर्नुहुनेछ । भेट्रान प्रो. रामे मगरले १०औँ वरीयताका सूर्यप्रसाद शर्मालाई ४/३ ले हराउनुभयो ।
चौथो वरीयताका जयराम श्रेष्ठले सबैभन्दा सहज जित दर्ज गर्नुभयो । उहाँले १३औँ वरीयताका दीपक मगरलाई ७/६ ले पराजित गर्नुभयो । जयरामले क्वाटरफाइनलमा पाँचौँ वरीयताका सञ्जय लामासँग प्रतिस्पर्धा गर्नुहुनेछ । सञ्जयले १२औँ वरीयताका शिवराम पौडेललाई ५/३ को नतिजामा पराजित गर्नुभयो । सिजनको कुल आठमध्ये यो प्रतियोगितामा गत सिजन अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउने नियम रहेको छ ।
कुल दुई लाख ५० हजार नगद पुरस्कार राशिको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६÷६ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन् । विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमशः ३२ हजार र २४ हजार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच