काठमाडौं । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर संसदीय समितिमा चर्काचर्की भएको छ । सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सहभागी सांसद र सरकारका प्रतिनिधिबीच घटनाका विषयमा चर्काचर्की भएको हो । समिति बैठकमा बोल्ने सांसद र सरकारका प्रतिनिधि दुवैले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाही र जबरजस्तीका कारण घटना भएको जिकिर गरे । प्रहरी नेतृत्वले समेत घटना घट्नुमा मन्त्रीको सवारीलाई कारक मानेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले मन्त्री नगएको भए घटना नै नहुने दाबीसमेत गर्नुभयो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत मन्त्री गएपछि घटनाले नयाँ मोड लिएको बताउनुभयो । यस्तै, कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले मन्त्री ज्वालाको लापरबाही र जबरजस्तीले घटना भएको टिप्पणी गर्नुभयो । उहाँले यस्तो चरम लापरबाही र जबरजस्ती गर्ने मन्त्रीलाई कारबाही गर्नसमेत माग गर्नुभयो । प्रतिपक्षी दलका सांसदहरूले भने गृहमन्त्रीको राजीनामा मागे । उनीहरूले सरकारमाथि नै नैतिक प्रश्न उठाए ।
वैदेशिक रोजगारीअन्तर्गत कोरिया जान पानीजहाज क्षेत्रका लागि आवेदन भरेका युवाहरूले कोरियामै उत्पादन क्षेत्रमा पनि काम गर्नका लागि रोजगार अनुमति प्रणाली (इपिएस)को फाराम भर्न पाउनुपर्ने मागसहित शुक्रबार बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी–ग्वार्कोमा रहेको इपिएस कोरिया शाखाको कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिएका युवाहरूले कोटेश्वर-कलंकी सडक खण्डअन्तर्गत बालकुमारी क्षेत्रमा सडक जाम गरी प्रदर्शन गरेका थिए ।
युवाहरूले प्रदर्शनका क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका थिए । स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठी र अश्रु ग्याससँगै गोलीसमेत प्रहार गरेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्दा दुईजना युवक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।
भौतिक पूर्वाधारमन्त्री गएपछि घटनाले नयाँ मोड लियो : गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला घटनास्थल पुगेपछि बालकुमारी घटनाले नयाँ मोड लिएको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले मन्त्री गएपछि घटनाले नयाँ मोड लिएको बताउनुभएको हो । ‘मन्त्रीज्यू पार्टीको कार्यक्रममा निस्कनुभएको रहेछ । त्यही बाटो भएर आउनुभएको थियो । त्यो बाटोबाट मन्त्रीज्यू किन आउनुभएको होला ?,’ उहाँले भन्नुभयो, ‘यो घटनालाई अर्को मोडतर्फ लैजान यसले उत्प्रेरकको भूमिका खेलेको छ । त्योअघि प्रहरीले लाठी चार्ज, अश्रु ग्यासलगायत मात्रै गरेको थियो । मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ, धकेलाधकेल पनि भएछ ।’ गृहमन्त्री श्रेष्ठले बालकुमारी घटनामा इपिएस कार्यालयका प्रतिनिधिको गैरजिम्मेवार प्रवृत्ति उपयुक्त नभएको समेत बताउनुभयो ।
घटनामा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धता
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि नछाडिने र कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले बालकुमारी घटना छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गरेको र त्यसले छानविनका क्रममा जो जो दोषी देखिन्छन् उनीहरू सबैलाई कारबाही हुने बताउनुभयो । ‘सरकारले छानविन आयोग गठन गरिसकेको छ । छानविनको दायरामा जो जो दोषी देखिन्छन् कानुनको दायरामा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु’, उहाँले भन्नुभयो ।
मृतकका परिवारलाई थप सहयोग गर्ने
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ । सरकारले दिएको १० लाख आर्थिक सहायता पर्याप्त नभएको गुनासो आएकाले वैदेशिक रोजगार बोर्डमार्फत मृतकका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउन लागिएको उहाँले जानकारी दिनुभएको हो । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरिएको उहाँको भनाइ थियो । मृतकका परिवारलाई रोजगारी दिने कुरामा पनि सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
‘हामीले १० लाख राहत दिने भनेका छौँ । त्यो पर्याप्त भएन भन्ने कुरा छ,’ उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगार बोर्डमार्फत अतिरिक्त परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गर्दै छौँ । मृतकका परिवारलाई रोजगारीको व्यवस्था पनि सरकारले गर्नेछ ।’
मन्त्री नआएको भए घटना हुने थिएन : आइजिपी कुँवर
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जानेगरी घटना भएको बताउनुभएको छ । बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने उहाँको भनाइ थियो । ‘मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन,’ उहाँले भन्नुभयो । मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको उहाँले बताउनुभयो । बालकुमारीमा गोली चलेको तर, कतिबेला चलेको भन्ने यकिन नभएको उहाँले बताउनुभयो ।
कुँवरले बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने बताउनुभयो । घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पिएसओले समेत समन्वय नगरेको उहाँले जिकिर गर्नुभयो ।
लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताउनुभएको छ । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि त्यही बाटोबाट सवारी गर्नु लापरबाही भएको उहाँको भनाइ थियो । मन्त्रीको लापरबाहीलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने उहाँको जिकिर थियो । लापरबाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उहाँले बताउनुभयो ।
घटना घट्नुमा श्रम र गृह मन्त्रालयको पनि कमजोरी रहेको थापाले बताउनुभयो । ‘पर्सनल सेक्युरिटिज अफिसरहरूले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन भन्यो भने त्यो बेलामा उसले रोक्दैन । त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो । चरम लापरबाही हो, हेपेको हो,’ उहाँले भन्नुभयो, ‘सामान्य व्यक्तिले गर्ने लापरबाहीले त कतिथोक व्यहोर्नुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो । लापरबाही हो भने दण्ड हुन्छ ।’
गृहमन्त्रीले राजीनामा दिनुपर्छ : राई
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । बालकुमारी घटनामा गृहमन्त्री पनि जिम्मेवार भएकाले राजीनामा दिनुपर्ने एमालेको माग छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र राईले बालकुमारी घटनामा कमजोरी देखिएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । ‘युवाले विदेश गएर गरी खान माग गर्दा ताकी ताकी गोली हानेर मार्नुहुन्छ भने तपाईंले राजीनामा नदिए कसले दिन्छ ?’ राईले भन्नुभयो, ‘समस्या समाधान गर्ने कि, ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? शालीनतापूर्वक भन्छु तपाईंले मुलुक चलाउन सक्नुभएन राजीनामा दिनुहोस् ।’ घटना तोडमोड गरेर प्रस्तुत भएको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो । सांसद राईले मन्त्रीका पिएसओ र फिल्ड कमान्डर, डिएसपीलाई कारबाही गरेर नहुने भन्दै आइजी वा गृहमन्त्रीलाई कारबाही हुनुपर्ने बताउनुभयो ।
राज्यले दुई युवाको हत्या गर्यो : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गई कमाएर परिवार पाल्छु भन्ने युवाहरूको हत्या गृह प्रशासनले गरेको टिप्पणी गर्नुभएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका कारण बालकुमारीमा दुईजना युवाले ज्यान गुमाउनुभएको उहाँले जिकिर गर्नुभयो । ‘गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, विदेशमा गई कमाएर परिवार पाल्छु भन्ने आशा बोकेर गएका युवाको हत्या गर्नुभयो । यो महसुस गर्नुहोला,’ उहाँले भन्नुभयो, ‘हामीले दुई होनहार युवाको हत्या गरेका छौँ । गोली कहिले चल्यो ? भन्ने कुरा स्पष्ट छैन मन्त्री प्रकाश ज्वालाले ढाँट्नुभएको छ ।’
ठाउँठाउँमा प्रदर्शन
बालकुमारी घटनालाई लिएर सोमबार पनि देशका ठाउँठाउँमा प्रदर्शन भएका छन् । सुर्खेतको प्रशासन कार्यालय अगाडि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको पुतला जलाइएको छ । मृतकका आफन्त, विभिन्न राजनीति दलका कार्यकर्ताले सोमबार श्रेष्ठ र ज्वालाको पुतला जलाएका हुन् । गृहमन्त्री श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन गरिएको थियो । यस्तै, सोमबार काठमाडौं, धनगढी लगायतका ठाउँमा पनि प्रदर्शन भएको थियो । मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाही, मृतकका परिवारलाई रोजगार, घाइतेको उपचार गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबार साँझबाट प्रदर्शन गरिरहेका छन् ।
पैसा दिएर मान्छे मार्नेलाई लिगलाइज गर्ने काम बन्द गरौँ : श्रेष्ठ
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले केही रकम दिएर मान्छे मार्नेलाई लिगलाइज गर्ने काम बन्द गर्नुपर्ने बताउनुभएको छ । पाण्डेले घटनालाई ख्याल ख्याल ठान्दा दुर्घटना भएको टिप्पणी गर्नुभयो । उहाँले बालकुमारी घटनामा मारिएका युवाको परिवारलाई स्थायी रूपमा व्यवस्थापन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । ‘त्यहाँ रेगुलर आन्दोलन भइरहेको सरकारलाई थाहा थियो । त्यत्रो घटना भएको कसैलाई थाहा हुँदैन ? ललितपुरको सिडिओ र पुलिसलाई थाहा छैन ? काठमाडौं प्रहरीलाई थाहा छैन ? गृहमन्त्री, मन्त्रालयलाई थाहा छैन ? राष्ट्रिय अनुसन्धानलाई थाहा छैन ?’ उहाँले भन्नुभयो ।
धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुनसक्छ : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको टिप्पणी गर्नुभएको छ । बालकुमारी घटनालाई सामान्य रूपमा लिन नहुने उहाँले जिकिर गर्नुभयो । विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यविरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको उहाँको भनाइ थियो । ‘बालकुमारी घटनालाई हामीले फुटकरमा छलफल गरिरहेका छौँ । विदेशमा नोकरी गर्न जान पाइएन भनेर हजारौँ युवा राज्यविरुद्ध आक्रोशमा आउनु ठूलो घटना हो,’ उहाँले भन्नुभयो, ‘यो स्थितिमा हामीले फेरबदल गर्न सकेनौँ भने राष्ट्रको अस्तित्वकै प्रश्न छ । किन यति धेरै युवाहरू विदेशिरहेका छन् ? युवाहरूको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल पनि हुनसक्छ ।’
उच्चस्तरीय जाँचबुझ आयोग गठन
सरकारले बालकुमारी घटनाको छानविन गर्न उच्च्स्तरीय जाँचबुझ आयोग गठन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता तथा एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वन्यायाधीश पौडेल नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्व-अतिरिक्त महानिरीक्षक (एआइजी) अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहनुभएको छ ।
आयोगलाई उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने कार्यादेश तोकिएको छ । साथै, घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमी कमजोरी पत्ता लगाउने कार्यादेश पनि तोकिएको छ ।
आयोगलाई उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाबारे अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने कार्यादेश पनि तोकिएको छ । आयोगलाई आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझाव सहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको एक महिनाभित्र पेस गर्न भनिएको छ ।
दुई मन्त्रीको भूमिकाबारे छानविन गर्न समितिको निर्देशन
संसदीय समितिले बालकुमारी घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिकाबारे छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको संसदीय राज्य व्यवस्थ तथा सुशासन समितिले श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानविन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई थप क्षतिपूर्ति दिनसमेत निर्देशन दिएको सभापति रामहरि खतिवडाले बताउनुभयो ।
समितिले दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन पनि निर्देशन दिएको छ । त्यस्तै, बैठकले घटना सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बन पर्ने र अरू उम्किने अवस्था सिर्जना नहुनेतर्फ सचेत गराएको छ । सभापति खतिवडाले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन पर्याप्त उपलब्ध गराउन पनि निर्देशन दिएको बताउनुभयो ।
सुरक्षा निकायको कमजोरी ममाथि थोपरियो : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारीमा भइरहेको अवरोधबारे सुरक्षा निकायले कुनै जानकारी नदिएको बताउनुभएको छ । आफू एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको उहाँले बताउनुभयो । आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरू बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा भएको अवरोध र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको उहाँले स्पष्ट पार्नुभयो । बाटोमा अवरोध छ भन्ने जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उहाँको भनाइ थियो । ‘बालकुमारी घटना आफैँमा दुःखद घटना हो । नहुनुपर्ने घटना भएको छ । त्यसदिन म हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकमा बिहानैदेखि सहभागी थिएँ । अर्कोतिर सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो । बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ ? हामीलाई केही पनि थाहा भएन,’ उहाँले भन्नुभयो, ‘हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । सुरक्षा निकायबाट विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रूपमा बाहिर निस्कियौँ ।’
उहाँले घटनामा आफूहरूको कुनै सम्बन्ध नभएको पनि उल्लेख गर्नुभयो । आफूहरू निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । ‘यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिँदैनौँ । हाम्रो कुनै सम्बन्ध र साइनो पनि छैन,’ उहाँले भन्नुभयो, ‘हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । आफ्नो दोष अरूतिर पन्छाउने खालको प्रयत्न/कसरत हो भन्ने मलाई लाग्छ ।’
मृतकका परिवार र सरकारबीच चारबुँदे सहमति
ललितपुरको बालकुमारीमा भएको घटनामा मृतकको परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ । सोमबार गृह मन्त्रालयमा पीडित परिवारलाई रोजगारी दिने र शहीद घोषणाको लागि पहल पनि गरिने सहमति भएको हो । उक्त सहमतिमा गृह मन्त्रालयको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले हस्ताक्षर गर्नुभएको छ भने मृतक वीरेन्द्र शाहको परिवारको तर्फबाट बुबा टेकबहादुर शाह र मृतक सुजन राउतको तर्फबाट मामा टेकबहादुर कटुवालले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिमा भनिएको छ, ‘मृतकका परिवारलाई परिवारका सदस्यहरूसँगको सल्लाहमा परिवारका एक/एक जनालाई रोजगारी उपलब्ध गराउने, सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि सहजीकरण गर्ने, मृतक दुवैलाई शहीद घोषणाका लागि आवश्यक कदम अघि बढाउने र मृतकका परिवारले शव बुझेर गृहजिल्ला पुर्याउने उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच