युवाविहिन बन्दै गाउँ, कामको खोजीमा भारतको कालापहाड

युवाविहिन बनेको हुम्लाको अदानचुली गाउँपालिकाको पालिका केन्द्र श्रीनगर । तस्विरः दाने बोहरा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 11 mins

हुम्ला । संघ, प्रदेश र गाउँमै रहेको स्थानीय सरकारले युवाको लागि रोजगारीको कुनै सृजना नगरेपछि गाउँ नै रित्तीने गरी हुम्लाका युवा कामको खोजीमा भारत जानेको लस्करनै देखिएको छ । जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजार बढी युवाले गाउँ छोडेर भारत प्रस्थान गरेका छन् । वडा १ देखि ६ सम्म रहेको अदानचुलीमा कुनै काम नभएर युवा रोजगारविहिन भएपछि कामको खोजीमा गाउँ नै शून्य बनाउने गरी भारत लागेका छन् ।

शहरका यूवाहरुले रोजगारको खोजिमा खाडी मुलुकको भिषा हातमा लिएर त्रिभुवन विमानस्थलमा लाम लागेको बेला दुर्गम गाउँका यूवाहरु लावा लस्कर लागेर दिनहुँजसो अहिले छिमेकी मुलुक भारतको कालापहाड लागिरहेका छन् । अदानचुली गाउँपालिकाबाट दैनिक १० देखि १५ जना युवा भारतको कालापहाडलगायतका शहरमा कामको खोजीका लागि गाउँ छोड्ने गरेका छन् ।

संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना पश्चात झण्डै २० पछिको पहिलो पटक हुम्लाको अदानचुली गाउँपालिकाको अधिकांश वस्तीहरु युवाविहिन हुन थालेको नेकपा एमाले गाउँकमिटीका अध्यक्ष बुध भण्डारीले बताउनुभयो । गाउँमा चरम आर्थिक मन्दीले एक रुपैयाँ नदेखिने भएपछि आफ्नो घरपरिवारलाई लुगाफाटो ल्याउन र केही रकम कमाउन सयौंको संख्यामा अदानचुली गाउँपालिका र चंखेली गाउँपालिकाका युवा कालापहाड (भारत) गएपछि गाउँहरु युवाविहिन बन्न थालेको भण्डारीले बताउनुभयो ।

यहि पुस १० गते मङ्लबारका दिन परेको कर्णाली क्षेत्रको स्थानीय चार्ड भैलो पूर्णीमा परिवारसँग मनाए पछि एक हजारको हाराहारीमा युवाहरुले गाउँ छोडेको हुम्ला र बाजुरा जिल्लाको सिमानामा अवस्थित कवाडी प्रहरी चौकीले जनाएको छ । गएको एक सातामा गाडीमा र पैदल हिडेर भारत जानेको संख्या निकै बढि देखिएको छ । कवाडी प्रहरीचौकीले कुनै रेकर्ड नराखेका कारण नाम उल्लेख गर्न नमानेका कवाडी प्रहरी चौकीका एकजना सुरक्षाकर्मीले भने, हामीले चेक गर्दा र सोधिखोजी गर्दा गाडी र पैदलमा गएका सबैले इन्डिया जाने भन्दै जानेको संख्या थामी नसक्नु जस्तो देखियो ।

युवाहरु भारतको कालापहाड तर्फ लगोपछि अहिले हुम्लाको दक्षिण क्षेत्रका गाउँवस्तीहरुमा युवा बिरलै भेटिने गरेको अदानचुली गाउँपालिका-२, का भक्त बुढाले बताउनुभयो । उहाँका अनुसार एक सातादेखि नयाँ घर लगाउने र अत्यावश्यक काम भएका बाहेक अरु युवाहरु गाउँमा भेट्न मुस्किल भएको स्थानीय बुढाले बताउनुभयो । गाउँमा एक वर्षयता पैशा कमाउने कुनै माध्यम नभएपछि अधिकांश युवाहरु परिवारका सदस्यलाई एकसरो लुगाफाटोको जोहो गर्न बाध्य भएर भारत जानु परेको बुढाको भनाई छ । अहिले गाउँमा कोहि बितेपनि लाश उठाउने यूवा पाउनै मुष्किल भएको उहाँको गुनासो छ ।

आफ्नो गाउँ घरबाट मात्रै १३ गते २३ जना एकैसाथ कालापहाड जानुका साथै विभिन्न टोल भएको अदानचुली २ बाट भण्डै सयको संख्यामा भारत गएका छन् । हिउँदमा घरको काम पनि हुँदैन् । विकास निर्माणको काम गरेर केही आनोदानो (रकम) को जोहो गर्ने गरेको यहाँका युवाहरुका लागि एक वर्षयता कुनै विकास निर्माणका कामहरु ठप्प भएपनि झण्डै दुई दशकपछि पहिलो पटक यति ठूलो संख्यामा यूवाहरु विदेशीएका हुन् ।

लामो समय देखि छिमेकी मुलुक नगएको यहाँका यूवाहरु दिनहुँ सयौको संख्यामा छिमेकी मुलुक भारत गएको अदानचुली-५ का रामबहादुर छत्यालले बताउनुभयो । गाउँमा रोजगारिका काम नहुँनु, गाउँपालिकाले भएका योजनाहरुको भुक्तानी प्रक्रिया समयमा पुरा नगर्दा फ्रिज हुनुलगायतका कारणले अदानुचलीका युवाहरुले हिउँदको आफ्नो कामको गन्तव्यका रुपमा भारतलाई रोजेका हुन् । घरमा बसौ भने काछो (गाउँको धार्मिक कामका लागि उठाउने रकम) उठाउने पैसा पनि नहुने भएपछि भारत जानुको कुनै विकल्प नपाएपछि धेरै लामो समयपछि अदानचुलीका यूवाहरुको रोजाई कालापहाड बनेको हो ।

गएका वर्षहरुमा औषधी उपचार गर्न र केही अत्यावश्यक कामका लागि हरेक गाउँबाट बढिमा ५।७ जना कालापहाड जाने गरेको भएपनि यो वर्ष जानेको संख्या अपत्यारिलो तवरले वृद्धी भएको अदानचुली २ को मष्टादेव आधारभूत विद्यालयका अस्थायी शिक्षक छप्की बुढाले बताउनुभयो ।

केहि दिन अघि अदानचुली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम खातामार्फत भुक्तानी गरेपछि उक्त रकमले गाडी रिजर्भ गरेको यहाँको युवाहरुले दुई/तीन महिनाको गन्तव्यका रुपमा कालापहाड रोजेर गएको हुन् । आफूसहित २२ जनाको समुहले एक बलेरो जीप बाजुराको मार्तडीसम्म रिजर्भ गरेर जानुका साथै १३ (पुस) गते मात्रै पाँच सयको संख्यामा यूवाहरु कालापहाड लागेका थिए ।

कर्णाली कोरिडोरमा अस्थायी रुपमा चलेका जीपहरुमा प्रायः कालापहाड जाने अदानचुलीका युवामात्रै भेटिने गरेका छन् । कुनैकुनै जिपले दोहोरो तेहोरो गरेर बेलुका अवेरसम्म पनि ओसारी रहेका हुन्छन् । आफूसँग गाडी भाडा नभएका दजनौं यूवाहरु बाजुराको मार्तडीसम्म राती हिडेरपनि जाने गरेको बुढाले बताउनुभयो ।

भाडा नहुँदा पैदल

लामो समयको आर्थिक मन्दीका कारण तीन महिने कामको खोजिमा भारत गएका यूवाहरुले गाडी भाडा पनि जोहो गर्न नसकेपछि कर्णाली कोरिडोर र भेरी कोरिडोरमार्फत पैदल बाटो लागेका हुन् । घरमा एक सय रुपैयाँ देखे चोरी लाग्लाजस्तो भएको बताउनुभएका, “अदानचुली ३ मकै गाउँका अंकल रोकायाका अनुसार, गाउँभर खोज्दापनि गाडी भाडा नपाएपछि पैदलै बाजुराको मार्तडी पुगेको बताउनुभयो ।

‘म सँगै गाउँका नैन रोकाया, खड्क रोकाया, बाँच्या रोकायासहितका १२ जनाको टोलीले जाने गाडी भाडा पनि नपाएपछि तीन दिनको पैदल बाटो एक दिन एक रातमा बाजुरा सदरमुकाम मार्तडी पुगेका हौं’ फोनमा उहाँले थप्नुभयो, बाटोमा सबै गाडी चढेर हिड्ने, हामी मात्र पैदल हिडेको देख्दा आफैलाई लाज होला भनेर हामी घरबाट हिडेदेखि रात दिन नभनेरै पैदल कुदेका हौं । एक रात एक दिनमा मार्तडी पुग्यौं भने अब यहाँबाट नेपाल र भारतको सिमानामा पुग्न पनि त्यहि दुई दिन एक रात लाग्छकी जस्तो छ ।”

कालापहाड जाने २० वर्षयताकै धेरै

२०६२/६३ को आन्दोेदन यताकै सबैभन्दा बढी युवाहरुले यो वर्ष गाउँ छोडेका छन् । राजनतिक स्थिरता कायम भएपछि गाउँको विकासले तिब्रता देला, आफूहरुलाई रोजागारीको सृजना गाउँमै होला भनेर हरेक राजनीतिमा हुमिएका यूवाहरुले राजनीतिक परिवर्तन भएको २० वर्षमा समेत कुनै सुधार नभएपछि पुनः कालापहाडलाई अस्थायी गन्तव्य रोज्नु परेको हो ।

गाउँमा नयाँ रोजगारको सृजना गर्नुभन्दा गाउँपालिकामा करारमा नियुक्त गरिएका कर्मचारीलाई समेत तलब नपाएरै बस्नु परेपछि पालिकाले नियुक्त गरेका कर्मचारी देखि सर्वसाधारणको गन्तव्य छिमेकी मुलुक भारत बनेको हो । स्थानीय सरकारले तत्काल संघ, प्रदेश र आफूले तय गरेका विकासे योजनाहरुको काम शुरु गरेर थप रोजगारका कामहरु सृजना नगर्ने हो भने पछिल्लो व्यवस्थाप्रति पनि नागरिकको बितृष्णाको बढ्ने देखिएको छ । अहिले गाउँमा कोहि मान्छे मर्‍यो भनेपनि मलामी जाने पुरुष मान्छे नपाइने अबस्था आउने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?