बागलुङ । त्रिभुवन आर्मी क्लब बागलुङमा सम्पन्न बुकी कप भलिबलको च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो । पुलिसलाई ३-२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
बागलुङको गलकोट नगरपालिका-६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७-२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्न सफल भयो । त्यसपछि आर्मीले दुवै सेट २२-२५ र २१-२५ ले गुमाउन पुग्यो । चौथो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै २७-२५ को पुनरागमन जित निकाल्दै खेललाई पाँचौँ सेटमा लम्ब्याउनुभयो । आर्मी २२-२४ ले पछि रहे पनि त्यसपछि लगातार दुई अंक जोड्दै खेललाई २४-२४ को बराबरीमा ल्याउन सफल भएको थियो ।
पाँचौँ सेटमा ४-४ को बराबरीबाट लगातार चार अंक जोड्दै आर्मीले ८-४ को अग्रता लिँदै जिततर्फ अग्रसर बन्यो । त्यसपछि ११-६ को स्थितिबाट आर्मीले लगातार पाँच अंक जोड्दै आर्मी च्याम्पियन बन्न सफल भयो । प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै एपिएफ क्लब तेस्रो भएको छ । उपाधिसँगै आर्मीले पाँच लाख, पुलिसले दुई लाख ५० हजार र एपिएफले एक लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
आर्मी क्लबका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ बुकी कप भलिबल २०८० मा सर्वाेत्कृष्ट खेलाडी घोषित हुनुभयो । मान बहादुरले २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो । यस्तै, गलकोट समाज जापानका वरिष्ठ उपाध्यक्ष, नेपाल भलिबल संघ जापान तथा गलकोट स्पोर्टस क्लब जापनका पूर्वअध्यक्ष, समाजसेवी व्यक्तित्व रत्न सिंह बस्नेत र घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष, गलकोट स्पोर्टस क्लबका महासचिव दिनेश थापाले आर्मीका मानबहादुर र पुलिसका सफल विकलाई विशेष पुरस्कारले सम्मानित गर्नुभयो ।
पुलिसका पहल गहतराज (टर्की) उत्कृष्ट स्पाइकर चुनिनुभयो । आर्मीका दुर्गा महतो उत्कृष्ट सेटर, पुलिसका सफल विक उत्कृष्ट ब्लकर, पुलिसका रवीन नगरकोटी उत्कृष्ट सर्भर, आर्मीका ईश्वर थापा उत्कृष्ट लिवेरो तथा आर्मीका जगत सिंह उत्कृष्ट प्रशिक्षक चुनिनुभयो । उत्कृष्ट प्रशिक्षकले १० हजार र अन्य उत्कृष्टले समान ६ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिको आयोजनामा पुस ८ गते सुरु भएको प्रतियोगितामा तीन विभागसँगै गण्डकी प्रदेश र गलकोट नगरपालिकाको सहभागिता थियो ।
एपिएफलाई केशवलाल स्मृति भलिबल
यस्तै, नेपाल एपिएफ क्लबले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड युथ स्पोर्टस् क्लबलाई फाइनल खेलमा ३-१ सेटले हराउँदै एपिएफले च्याम्पियन बनेको हो । एपिएफले न्यु डायमण्डलाई १९-२५, २५-२०, २५-१७ र २५-२३ को सेटमा हराएको हो । एपिएफ प्रतियोगिताभर अपराजित रहृयो ।
एपिएफले उपाधिसहित दुई लाख र न्यु डायमण्डले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले पुरस्कृत गर्नुभयो । प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ, न्यु डायमण्ड र घरेलु टोली छहारी युवा क्लब गरी पाँच टोलीको सहभागिता थियो ।
मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो ।
नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर निरुता ठगुन्ना सर्वाेत्कृष्ट खेलाडी घोषित हुनुभयो । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले उच्च प्रदर्शन गर्नुभएको थियो । निरुता हङकङमा भएको दुई छुट्टै भलिबल प्रतियोगितामा पनि सर्वाेत्कृष्ट खेलाडी चुनिनुभएको थियो ।
सर्वाेत्कृष्ट बनेसँगै निरुताले १५ हजार रुपैयाँसँगै मायाको चिनो हात पारेको छ । न्यू डायमण्ड युथ स्पोर्टस क्लबकी जेनिशा विश्वकर्मा उत्कृष्ट स्पाइकर, डायमण्डकै प्रगति नाथ सेटर, सलिना श्रेष्ठ लिवेरो र सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर घोषित हुनुभयो । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर तथा एपिएफकै विजय केसी उत्कृष्ट प्रशिक्षक चुनिनुभयो ।
यता, आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई)ले नेपाली अन्तरसंस्थास्तरीय युएईव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको उपाधि जितेको छ । युएईको दुबईस्थित जद्दाफमा रहेको अल बालि इण्डोर स्टेडियममा भएको फाइनलमा तनहुँ सेवा समाजलाई २-० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्न सफल भएको हो ।
घरेलु भलिबलका चर्चित रवि केसी, सुजन चोखाल, राजन दर्लामी मगर, विष्णु बस्नेत, इन्द्र विक, जीवन सुनार सम्मिलित प्रदेशीले मिलन चन्द ठकुरी, प्रेम कुमाल र विशाल ठकुरी सम्मिलित तनहुँमाथि २५-१६ र २५-१८ को सोझो सेटमा जित निकाल्न सफल भयो ।
सञ्जु विक्रम शाह, रेशम छन्त्याल र हेमन्तबहादुर मल्ल सम्मिलित पाल्पा सेवा समाजले आयोजक ‘बी’ लाई २–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । विजेता प्रदेशीले आठ हजार ८४८ दिरामसँगै कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको तनहुँले पाँच हजार ५५५ दिराम, कप, मेडल र प्रमाणपत्र प्राप्त हात पारेको छ । तेस्रो भएको पाल्पाले तीन हजार ३३३ दिराम तथा चौथो भएको आयोजक ‘बी’ ले दुई हजार २२२ दिराम, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
व्यक्तिगत विधामा पनि च्याम्पियन प्रदेशीले नै वर्चस्व जमाएको छ । प्रदेशीका रवि केसी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले दुई सय दिरामसँगै ट्रफी र मेडल प्राप्त गर्नुभएको छ । प्रदेशीकै सुजन चोखाल उत्कृष्ट सेटर, इन्द्र विक क्विकर, राजन दर्लामी मगर लिवेरो र मनु खड्का उत्कृष्ट प्रशिक्षक चुनिनुभयो ।
तनहुँका मिलन चन्द उत्कृष्ट स्पाइकर, पाल्पाका रेशम छन्त्याल उत्कृष्ट ब्लकर, पाल्पाकै हेमन्त मल्ल उत्कृष्ट सर्भर चुनिनुभयो । विधागतका उत्कृष्टले एक सय दिरामसँगै ट्रफी र मेडल प्राप्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच