धनियाँ बेचेर वार्षिक रु ३ लाख आम्दानी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । दाल, तरकारी र मासुका परिकारलाई स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबराका नारायण कार्कीले आफ्नो घर अगाडीको खेतमा व्यावसायिक रुपमा गरेको धनियाँ खेतीबाट तीन लाख रुपैयाँ भन्दा बढि आम्दानी गर्न सफल हुनुभएको हो ।

कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गर्नुभएको छ । धनियाँको साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाजर, केराउलगाएतका तरकारी खेती गर्नुभएका कार्कीले धनियाँ बेचेर मात्र एक सिजनमा डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताउनुभयो । कृषक कार्कीले एक वर्षमा हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गर्नुहुन्छ ।

सात सय रुपैयाँको बीउ र चार हजार बरावरको श्रम खर्चेर धनियाँ खेती गरेका कृषक कार्कीले एकै वर्षमा धनियाँ बिक्रीबाट तीन लाख रुपैयाँभन्दा बढी आम्दानी भएपछि खेती विस्तार गर्ने योजनामा रहेको बताउनुभयो । “बीउ र शारिरीक श्रम गरी कुल ४ हजार ७ सय रुपैयाँ लगानी गरेको हुँ,” कार्कीले भन्नुभयो “एक वर्षको अवधिमा ३ लाख रुपैयाँ भन्दा बढिक बिक्री भयो,अझै खेतका गह्राभरी धनियाँ छ ।”

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गर्नुभएको छ । लभ्लीहिलमा आन्तरिक पर्यटकहरुको बृद्धिसंगै कार्कीको कृषि उपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ ।

लभ्लीहिलमा आएका युवायुवती,गृहिणी र लोग्नेमान्छेहरुले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताउनुभयो । “अहिले अरु तरकारी सकिएको छ, तर धनियाँ भने प्रशस्तै छ” कार्कीले भन्नुभयो ।

कार्कीले धनियाँको एउटा मुठोलाई २० देखि ३० रुपैयाँसम्ममा विक्रि गर्दै आउनुभएको छ । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको छ भने बाँकी नजिकको बेनी बजारमा लगेर विक्रि गर्दै आउनुभएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?