निरन्तर समाजसेवामा ताराबहादुर

विनोद दाहाल वत्स
Read Time = 4 mins

काठमाडौं । समाजसेवी ताराबहादुर कुवँर आफ्नो समाजसेवी संस्था हजुरलाई नमस्ते परोपकारी संस्थामार्फत निरन्तर समाजसेवामा हुनुहुन्छ । उहाँ अध्यक्ष रहनुभएको हजुरलाई नमस्ते परोपकारी संस्थाको अनुरोधमा प्राइम कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको सहयोगबाट काभ्रे जिल्लाका विभिन्न ठाउँका ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको छ । बैंकले उपलब्ध गराएको १०० थान र उहाँको संस्थाले त्यसमा २५ थान थप गरी १२५ थान कम्मल वितरण गरिएको थियो । यसका साथै ज्येष्ठ नागरिक, अशक्त अपांगहरूका लागि गलबन्दी, ढाका टोपी र कानेटोपी तथा १०० सिसी तेलकुमारी (घुँडामा लगाउने तेल) वितरण गरिएको थियो ।

काभ्रे जिल्लाका पाँचखाल नगरपालिका-१ को विकट गाउँ अनेकोट पादरीचौर, १२ को रानीपानी, १३ को कोशीदेखा, ११ को खरेलथोक, ९ को पलाञ्चोक भगवती क्षेत्रका साथै मण्डनदेउपुर नगरपालिका-६ को गैरीबिसौना, भुम्लु गाउँपालिका-९ को ज्याम्दीको धुसेनी, तल्लो पिंगला, माथ्लो पिंगला भुम्लु-५ को सल्ले, ४ को चौबासपोखरी, कोड्का, देउकुण्डेलगायत ठाउँमा २०० भन्दा बढी अशक्त, अपांग, दृष्टिविहीन, खुट्टा नचल्ने, मुख खुँडे भएका बच्चालाई सहयोग प्रदान गर्नुका साथै उक्त बैंक तथा सहयोगीसँग समन्वय गरी एकजना महिला तथा एकजना पुरुष घाइतेलाई उपचार गर्ने कामसमेत गरिएको थियो ।

७० वर्षदेखि १०७ वर्षसम्मका ज्येष्ठ नागरिक तथा अशक्त, अन्धअपांग, खुँडे, एकल महिला, सहाराविहीन, घाइतेहरूका लागि भने उमेरको सीमा नतोकी सहयोग प्रदान गरिएको थियो । सहयोगका लागि हजुरलाई नमस्ते परोपकारी संस्थाका सदस्य रामइन्द्र न्यौपानेले एउटा हिृवलचेयर, छवि तिमिल्सिनाले ५ हजार, स्कटल्याण्डमा बस्तै आउनुभएको भोला खनालले १० हजार र रविन्द्र स्थापितले ५ हजार रुपैयाँ योगदान गर्नुभएको थियो । पुस १८ गते धुलिखेल नगरपालिका-१ देवीटारमा यस्तो सहयोग कार्यक्रम राखिएको छ । यसका लागि थप रकम दाताबाट संकलन भएको र यो कार्यक्रम निरन्तर रहिरहने उहाँले जानकारी दिनुभएको छ । स्ट्रेचर, वाकर हिृवलचेयर वितरण गर्ने कार्यक्रम पनि निरन्तर रहने उहाँ बताउनुहुन्छ ।

२०७९ सालकोे निर्वाचनमा बागमती प्रदेशको प्रदेशसभा सदस्यमा काभ्रे क्षेत्र नं.२ ‘क’बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी सम्मानजनक मत प्राप्त गर्नुभएका कुवँर हाल राष्ट्रिय स्वतन्त्र पार्टीको काभ्रे जिल्ला क्षेत्र नं. २ को क्षेत्रीय सभापति हुनुहुन्छ । उहाँले हालै भारतको राजधानी दिल्लीको चाणक्यपुरीस्थित सोक्रेटस सोसियल रिसर्च युनिभर्सिटीबाट मानार्थ विद्यावारिधिको उपाधि प्राप्त गर्नुभएको छ भने यसै वर्ष महामहिम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री विभूषण प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?