
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग सामूहिक भेट गर्नुभएको छ । पूर्वराजाले भैरहवामा बुधबार आफ्नो पार्टीका नेतासँग सामूहिक भेट गरेको राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिनुभयो । नागरिक अभिनन्दनका लागि भैरहवामा पुग्नुभएका पूर्वराजा शाहले सामूहिक भेट गर्नुभएको हो ।
भेटका क्रममा पूर्वराजा शाहले सबैलाई आफूले ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने गरेको र सबैलाई एकताको सूत्रमा बाँध्न चाहेको बताएको मिश्रले उल्लेख गर्नुभएको छ । ‘हामी सबैले धेरै देख्यौँ र बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरा लागि बराबर छन्,’ ज्ञानेन्द्रको भनाइ उद्धृत गर्दै मिश्रले भन्नुभएको छ ।
यता, अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पूर्वराजासँग भेट भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर राख्नुभएको छ । शाहसँगको भेटमा राप्रपा अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, बुद्धिमान तामाङ, धवलशमशेर राणा र दीपकबहादुर सिंह सहभागी हुनुभएको थियो । भेटमा सहभागी भएका नेता राणाले देशको परिस्थितिलाई लिएर पूर्वराजाले चिन्ता गरेको जानकारी दिनुभयो ।
‘हामीले उहाँ (ज्ञानेन्द्र)सँग डेढ घण्टा जति छलफल गर्यौँ । देशको परिस्थिति र समसामयिक विषयमा कुराकानी भयो । देशमा कस्तो परिस्थिति छ भन्नेबारे उहाँको चासो थियो । हामीले पछिल्लो अवस्थाबारे जानकारी गरायौँ,’ उहाँले भन्नुभयो, ‘देशको वर्तमान परिस्थितिप्रति उहाँले चिन्ता जनाउनुभयो । हामीले राजाको भ्रमणलाई सफल बनाउन कार्यक्रम गर्छौं भन्यौँ ।’ यसअघि पनि राप्रपाका नेताहरूले पूर्वराजासँग सामूहिक रूपमा भेट गरेका थिए ।
पछिल्लो राजनीतिक अवस्था र नागरिक अभियन्ता दुर्गा प्रसाईंको घोषित आन्दोलनमा राप्रपाको भूमिका विषयमा छलफल गर्न राप्रपाको टोली पूर्वराजा भेट्न पुगेको बताइएको छ ।
कुराकानीको क्रममा बढीजसो समय पूर्वराजा बोल्नुभएको थियो भने राप्रपा नेताहरूले उहाँको भनाइमा सहमति जनाएका थिए । राप्रपाले घोषणा गरेको आन्दोलनलाई सकारात्मक रूपमा लिनुभएका शाहले सकेसम्म सबैलाई समेट्न सुझाव दिनुभएको थियो । ‘सकेसम्म सबै राजसंस्था पक्षधर शक्तिहरू मिलेरै आन्दोलन गर्दा प्रभावकारी हुन्छ भन्ने उहाँको मनसाय थियो’, स्रोतले भन्यो ।
जनताले देशमा राजसंस्था चाहिन्छ भन्ने ‘रियलाइज’ गर्दै गएको भन्दै शाहले त्यसमा सन्तोष व्यक्त गर्नुभएको थियो । ‘जनताले नेपालको शान्ति, स्थिरता, एकता र सद्भावमा खलल पुग्न लागेको महसुस गर्दै गइरहेका छन् । भू–राजनीतिक संवेदनशीलताका कारण पनि नेपालका लागि राजसंस्था अपरिहार्य छ भन्ने सबैले बुझ्न थालेका छन्’, पूर्वराजाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
राजसंस्था फर्किनेमा आशावादी देखिए पनि कसरी फर्काउने भन्ने रोडम्याप शाहले प्रस्तुत गर्नुभएन । ‘यो मैले भन्ने कुरा होइन, तिमीहरूले सोच्ने कुरा हो’, शाहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले पहिले जे गरेँ, त्यसले त काम गरेन । राजनीतिक पार्टी तिमीहरू हौ । त्यो कुरा तिमीहरूले नै सोच । मैले यसो गर, उसो गर भन्ने होइन । मैले त ‘ग्लु’ को जस्तो काम गर्ने हो । छियाछिया भइरहेको देशलाई एकताको सूत्रमा जोड्ने हो । धेरै मान्छे मैले बोलिदियोस् भन्छन् । फ्रन्टमा आइदेओस् भन्छन् । तर, मैले त्यस्तो गर्न मिल्दैन ।’
कुराकानीका दौरान पूर्वराजाले हालै एक कार्यक्रममा आफू नजिकको आसनमा नाति हृदयेन्द्रलाई राखेको प्रसंग पनि निस्कियो । शाहले यस विषयमा रवीन्द्र मिश्रले फेसबुकमा लेखेको टिप्पणी आफूलाई कसैले देखाएको भन्दै मुस्कुराउनुभएको थियो । नाति हृदयेन्द्र तन्नेरी उमेरमा प्रवेश गरिसकेको हुँदा विस्तारै ‘ग्रुम’ गर्दै लैजाने उहाँले बताउनुभयो ।
पूर्वराजा शाहले नेपालको पश्चिम क्षेत्रका धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सक्रियता बढाउँदै भैरहवामा बसिरहेको बेला राप्रपा अध्यक्षसहितको टोली उहाँलाई भेट्न गएको हो । राप्रपाले यसअघि नै फागुन ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।
आज नागरिक अभिनन्दन
आज (बिहीबार) पूर्वराजा शाहलाई रुपन्देहीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । नागरिक अभिनन्दन समितिका संयोजक डा. रामप्रसाद बस्यालका अनुसार पूर्वराजालाई भैरहवाको गल्लामण्डीमा अभिनन्दन गर्ने तयारी छ । पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको बृहत् नागरिक अभिनन्दन कार्यक्रम रहेको आयोजक समितिका सदस्य सचिव गोपाल शर्माले जानकारी दिनुभयो । शाहलाई अभिनन्दन गर्न रुपन्देहीसँगै कपिलवस्तु र नवलपरासीबाट लाखौँ जनता कार्यक्रममा उपस्थित हुने शर्माले जानकारी गराउनुभयो । शर्माका अनुसार कार्यक्रममा विभिन्न संघ-संस्थाले पनि पूर्वराजा शाहलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।
नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताले राजालाई मुलुकको अभिभावकको रूपमा चाहेका छन्, नेपालमा हिन्दूराष्ट्र पुनःस्थापना गरी संघीयता खारेज गर्नुपर्छ ।’
‘हामीले प्रजातन्त्र रहने गरी देशका लागि राजाको संरक्षकत्वको आवश्यकता देखेका कारण नागरिकको तर्फबाट अभिनन्दन गर्न लागेका हौँ’, बस्यालले भन्नुभयो, ‘मुलुकमा अहिले उत्पन्न विषम परिस्थितिको पहिचान गरी निराकरण गर्न राजनीतिक दलका नेता र सत्तामा बस्नेले नसकेपछि राजाको भूमिकाको आवश्यकता बढ्दै जान थालेको हो ।’
पुस ८ गते भैरहवा पुग्नुभएका पूर्वराजा अहिले मध्यपश्चिम केन्द्रित विभिन्न कार्यक्रममा सहभागिता जनाइरहनु भएको छ । भैरहवामा रहनुभएका पूर्वराजा शाहले बुटवलको जीतगढी किल्ला र नीलकण्ठ धाम, देवदहको पाकरी वृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थानको भ्रमण गरिसक्नु भएको छ ।
शनिबार उहाँले कपिलवस्तुको शिवराज नगरपालिका-३ मा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभएको थियो । पूर्वराजा शाह २१ गते काठमाडौं फर्किने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच