हिजोआजको अवस्थालाई नजिकबाट नियालिरहेको छु : पूर्वराजा ज्ञानेन्द्र शाह

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 8 mins

रुपन्देही । विभिन्न धार्मिक स्थलहरुको अवलोकन भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी र परिवारसहित सहभागी हुनु भएको हाे ।

भैरहवामा नागरिक अभिनन्दनपछि सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै सबै जनता एक ठाउँमा उभिन अपिल गर्नु भयाे । उहाँले नेपालीहरुले खेपिरहेको पीडालाई आफूले नजिकबाट नियालिरहेको पनि बताउनु भयो ।

'समाज कानून र व्यवस्थाबिना अस्तित्वमा रहनु हुँदैन । देश सग्लो र बलियो रुपमा अघि बढ्नुपर्छ । तर आज देश जर्जर भएको छ । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अस्वस्था बिग्रेर, असन्तोष, आक्रोश तथा विवश भएर हाम्रा युवा बाहिरिएका छन् । यस्तो अवस्थाको अन्त्य हुनैपर्छ,' सम्बोधनमा पूर्वराज ज्ञानेन्द्रले भन्नुभयो ।

'देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नु परेको छ,' उहाँले भन्नुभयाे, 'देशलाई खोक्रो पार्ने चलिरहेको आजको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ । '

वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य-मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूत गरेकाे उहाँले उल्लेख गर्नु भयो ।

उहाँले हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, 'हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ-बायाँ, भित्री तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने भाष्य हामीकहाँ छ ।'

लेखेर गरेको सम्बोधनमा पूर्वराजा ज्ञानेन्द्रले उहाँले भन्नुभयाे, 'तर हामीलाई लाग्छ, नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रक्रिया हामी नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भइआएका हुन् । त्यसैले के गर्दा र के-कस्तो विधि-अवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैंले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनुपर्छ भन्ने हामीलाई लाग्छ । त्यसैले म भन्छु, आउ अब हामी सबै एकै ठाउँमा उभिऔं । राजा आउ देश बचाउ भन्दै होहल्ला हुन्छ ।'

शाहले भन्नुभयो, 'अनि सोचौं र सबै कुराको समिक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं । देश हामीले नै बनाउने हो । हाम्रो स्रोत र साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो । हामीमात्र ठीक अरु बेठीक, हाम्रो बाटो मात्रै सुबाटो अरुको कु-बाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिँडौं । हामी सबैको भविष्य सुख-शान्ति यसैमा छ । विगतका सबै दुख विर्सिदिउँ, मायाले मायालाई भरिदिउँ । घृणाको आगोलाई कतै जलाइदिउँ । भाग्यको सिमा हुँदैन । हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरु जोडिदिउँ । उत्पिडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय अत्याचारबाट मुक्त गरिदिउँ । अनुहार फेरि-फेरि षडयन्त्र नगर । त्यस्ताको चालबाट आफूलाई बचाइदिउँ ।'

उहाँले ‘राजा आउ देश बचाउ’ को नाराबीच भाषण गर्न उभिएका पूर्वराजाको अनुहारमा उत्साहभन्दा बढी गाम्भीर्यता, आक्रोश र चिन्ता देखिएको थियो । उहाँले घुमाउरो तवरबाट वर्तमान व्यवस्थाले देशलाई बर्बादीको दिशामा लगिरहेको ईंगित गर्नु भयो ।

अभिन्नदन कार्यक्रममा पूर्वराजालाई ‘श्री ५ महाराजधिराज सरकार’ भनेर सम्बोधन गरिएको थियो । विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले झाकी तथा साँस्कृतिक प्रस्तुति गरेका थिए ।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको दावी गर्दै जनताले राजालाई मुलुकको अभिभावकको रुपमा चाहेको बताउनुभयाे ।

पूर्व सांसद गंगा चौधरीले राजा र प्रजाबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको दावी गर्नु भयो । उहाँले राजाविरुद्ध विभिन्न पार्टीले भ्रम फैलाएको आरोप लगाउनु भयो ।

त्यस्तै रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको तर्फबाट स्वागत मन्तव्य राख्दै पूर्व गृहमन्त्री निरन्जन थापाले मुलुकमा दलीय व्यवस्था असफल भएको आरोप लगाउनु भयो । उहाँले राजसंस्था पुनस्थापना गरी देशको नेतृत्व लिन आग्रह गर्नु भयो।

कार्यक्रममा ’राजा आउ देश बचाउ’को नारा लगाइएको थियो । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपग्नु भएको थियो । उहाँ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाटलाई तीब्रता दिनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?