काठमाडौं । आर्थिक मन्दीका कारण मधेस प्रदेशका उद्योगहरुको औसत उत्पादन क्षमता सात प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८९/०८० मा मधेस प्रदेशका प्रमुख उद्योगको उत्पादन क्षमता उपयोग औसतमा ५४.२५ प्रतिशत रहेकोेमा अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२७ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष ती उद्योगको उत्पादन क्षमता औसत ६१.५२ प्रतिशत थियो । तर उत्पादन क्षमता घटे पनि उत्पादन भने औसतमा ५.२३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा मधेस प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ७.३० प्रतिशतले बढेर एक खर्ब नौ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । मधेस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर-खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५, कृषि-वन तथा पेयपदार्थ उत्पादन उद्योगतर्फ ३१, धातु, मेसिनरी तथा इलेक्ट्रोनिक्स एवं धातुका सामान उत्पादनतर्फ पाँच, निर्माण उद्योगतर्फ छ, खानी उद्योगतर्फ दुई र विद्युत, ग्यास तथा पानी उद्योगतर्फ एक प्रतिशत कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ ।
गत वर्ष बैंक तथा वित्तीय संस्थाले प्रदेशमा प्रवाह गरेको कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशतले बढेर चार खर्ब ५० अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १६.७० प्रतिशतले बढेर चार खर्ब ३० अर्ब नौ करोड पुगेको थियो
गत आर्थिक वर्षमा मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप १३.२५ प्रतिशतले बढेको छ । सो अवधिमा उक्त प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप दुई खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा भने निक्षेप ५.३५ प्रतिशतले बढेर दुई खर्ब ६१ अर्ब ८१ करोड पुगेको थियो ।
त्यसैगरी गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रदेशमा प्रवाह गरेको कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशतले बढेर चार खर्ब ५० अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १६.७० प्रतिशतले बढेर चार खर्ब ३० अर्ब नौ करोड पुगेको थियो । आर्थिक वर्ष २०७९/०८० मा समग्र बैंकिङ क्षेत्रको कुल निक्षेप परिचालनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ६८.२९, कर्णालीको सबैभन्दा कम १.१७ प्रतिशतमात्र थियो ।
कुल निक्षेप परिचालनमा मधेस प्रदेशको योगदान ५.०९ प्रतिशत रहेको पनि केन्द्रीय बैंकले उल्लेख गरेको छ । गत आर्थिक वर्षमा कुल कर्जा प्रवाहमा बागमतीको हिस्सा सबैभन्दा बढी ५०.५४ र सबैभन्दा कम सुदूरपश्चिमको हिस्सा २.८८ प्रतिशत छ भने मधेसको हिस्सा ८.२९ प्रतिशत छ । मधेस प्रदेशमा बैंक तथा वित्तीय संस्थाले गर्ने निक्षेप संकलन १३.२५ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ४.६८ प्रतिशतले बढेको छ ।
असारसम्म मधेस प्रदेशमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या एक हजार सात सय ४५ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल शाखा एक हजार छ सय सात थिए । सञ्चालनमा रहेका शाखामध्ये वाणिज्य बैंकका पाँच सय ७२, विकास बैंकका ८४, वित्त कम्पनीका ३८ र लघुवित्त वित्तीय संस्थाका एक हजार ५१ शाखा छन् ।
जिल्लागत आधारमा शाखा सबैभन्दा बढी बारामा दुइसय ५० र सबै भन्दा कम रौतहटमा एक सय ८० रहेका छन् । मधेस प्रदेशमा २०८० असारसम्ममा एटीएम मेसिन संख्या चारसय दुइ पुगेका छन् । सबैभन्दा बढी पर्सा जिल्लामा ७० र सबैभन्दा कम रौतहट ३१ रहेका छन् । मधेस प्रदेशमा मोबाइल र इन्टरनेट बैंकिङ प्रयोगकर्ता संख्या १३ लाख ९० हजार दुई सय ८५ पुगेको छ ।
त्यस्तै मधेस प्रदेशमा घरजग्गा कारोबार कम भए पनि राजस्व संकलन भने बढेको छ । गत आर्थिक वर्षमा प्रदेशमा घरजग्गा किनबेच १४.३० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०७९/०८० मा तीन हजार छ सय ९२ घर/भवन स्थायी नक्सा पास गरेका छन् । २०७८/०७९ मा चार हजार तीन सय आठवटा घरजग्गाको नक्सा पास भएका थिए ।
घरजग्गा रजिष्ट्रेसन संख्यामा ७५.२७ प्रतिशतले घटेको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा भने २६.६ प्रतिशतले बढेको छ । मधेस प्रदेशको समग्र घरजग्गा रजिष्ट्रेशन संख्या ७५.२७ प्रतिशतले घटेर एक लाख १० हजार आठ सय ६७ पुगेको छ । अघिल्लो वर्षको सोही वर्षमा १७.११ प्रतिशतले बढेको थियो । घर जग्गा रजिष्ट्रेशन राजस्व रकम २६.६ प्रतिशतले वृद्धि भई ४५ अर्ब ६९ करोड रुपैयाँ संकलन गरेको छ ।
अघिल्लो वर्षको सोही अवधीमा यस्तो रकम ३३.२२ प्रतिशतले ह्रास आई ३६ अर्ब ७ करोड प्राप्त भएको थियो । नक्सा पास स्वीकृत संख्या १४.३० प्रतिशतले घटेर तीन हजार छ सय ९२ रहेको छ । अघिल्लो वर्ष चार हजार एक सय सय तीन रहेको थियो । राष्ट्र बैंकले मधेस प्रदेशका आठ जिल्लाको आर्थिक गतिविधिको स्थलगत तथा गैरस्थलगत सर्वेक्षण गरेको थियो ।