वर्तमान परिस्थितिमा देशका लाखौं ऊर्जावान् युवाले भोगिरहेको साझा समस्या हो बेरोजगारी । अभिभावकले आफ्नो गाँस काटीकाटी छोराछोरीको शिक्षामा गरेको लगानी, विद्यार्थीले वर्षौंसम्म गरेको मिहिनेत र राज्य स्वयंले पनि गरेको अर्बौंको लगानीपछि केही निश्चित तहको शिक्षा हासिल गरेका युवा जीवनलाई सहज गति दिनका लागि आवश्यक आयआर्जन गर्न अति आवश्यक रोजगारीको खोजीमा श्रमबजारमा प्रवेश गर्छन् । तर देशको श्रमबजार अस्तव्यस्त छ । रोजगारीको सिर्जना शून्यजस्तै छ । निरन्तरको राजनीतिक अस्थिरता, सत्ताको दाउपेच, शक्तिको दुरूपयोग, पदीय जिम्मेवारीप्रति बेवास्ता, सुशासनको अभाव र बढ्दो भ्रष्टाचारले गर्दा देशको अर्थतन्त्त जर्जर अवस्थामा पुगेको छ ।
राज्यले सुशासन कायम गर्न नसक्दा र भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा आर्थिक गतिविधि गम्भीररूपमा प्रभावित छ ।
बढ्दो भ्रष्टाचार र पुँजीपलायनको समस्याले देशमा लगानी स्रोतको अभाव बढ्दै गएको छ । लगानी प्रवद्र्धन हुन नसक्दा र लगानी प्रवद्र्धनका लागि आवश्यक वातावरणसमेत राज्यले सिर्जना गर्न नसक्दा आर्थिक गतिविधि निकै सुस्ताएको छ । उद्योगधन्दाको स्थापना शून्य छ । व्यापार-व्यवसायमा मन्दी छ । लगानीकर्तामा कुनै उत्साह छैन । अर्थतन्त्रका सूचकहरू निराशाजनक छन् । तर सरकार यथार्थलाई लुकाएर अर्थतन्त्र लयमा रहेको घोषणा गर्छ । विडम्बना !
सत्तामा बस्नु भनेको सरकार चलाउनुमात्रै होइन । आमजनताका दुःख, पीर र समस्या बुझेर तिनका समाधान खोज्नु पनि हो । तर सत्तामा बस्नेहरू जनताका दुःख, पीर र समस्याबाट धेरै टाढा छन् । सत्ताकै वरिपरि घुम्ने केही धुपौरेहरूलाई मात्रै जनता ठान्ने नेतृत्वको प्रवृत्तिले आमजनता निराश छन् ।
वर्षौंको मिहिनेतपछि निश्चित तहको शिक्षा हासिल गरिसकेपछि निकै उत्साहपूर्वक श्रमबजारमा प्रवेश गर्ने र रोजगारीको अवसर खोज्ने युवा निराश हुन बाध्य छन् । किनभने देशमा रोजगारी सिर्जना शून्यको अवस्थामा छ । रोजगारीका लागि अत्यन्तै कडा प्रतिस्पर्धा छ । भएको थोरै रोजगारीको अवसर पनि लायकले भन्दा नालायकहरूले हत्याउँदै आएका छन् । राजनीतिक दबाब र प्रभावले इमानदार र स्वाभिमानी युवाको आशा र अपेक्षामाथि सधैं कुठाराघात भइरहेको छ । युवाका सपनामाथि खेलाँची भइरहेको छ ।
देशको राजनीतिक नेतृत्व पथभ्रष्ट छ । सरकार दिशाहीन छ । सरकारको दिशाहीनताले राज्य नै दिशाहीन बन्न पुगेको छ । राजनीतिको लक्ष्य, उद्देश्य र गन्तव्यले गलत बाटो अँगाल्दा देश बेथितिको महासागरमा डुबेको छ । हजारौं सपना साँचेर कर्मक्षेत्रमा उत्रन खोज्ने युवालाई निराश पारेर राज्यले युवाको भविष्यमात्रै अन्धकार पारिरहेको छैन, राज्य स्वयंको भविष्य पनि अन्धकारतर्फ धकेलिरहेको छ । युवाले केही गर्न र केही बन्नका लागि विदेशिनै पर्ने अवस्थाको सिर्जना राज्य स्वयंले गरिरहेको छ । राज्यको असक्षमता र अकर्मण्यताको परिणाम युवाले भोग्न विवश छन् । त्यही परिणामस्वरूप लाखौं उत्साही र ऊर्जावान युवा देशबाट निराश हुँदै विदेशिन बाध्य छन् ।
देशले रोजगारी दिन नसकेको अवस्थामा विदेशमा प्राप्त रोजगारीको अवसरले नेपाली युवालाई निरन्तर आकर्षित गरिरहेको छ । देशभित्र बेरोजगारीको शिकार भएर सधैं निराशा, हतास र अनुत्पादक भएर बस्नुभन्दा विदेशमा गएर मिहिनेत गरी केही आयआर्जन गरेर आफ्नो र परिवारको जीवन पाल्ने सपना देख्ने युवाका सपनामाथि पनि राज्यले कुठाराघात गर्ने गरेको छ । कहिले नियमका कुराले, कहिले कानुनका कुराले । कहिले प्रक्रियाका कुराले । कहिले प्रपञ्चका कुराले । कहिले अव्यवस्थाले । कहिले असक्षमताले । कहिले कुनियतले । कहिले कुशासनले । कहिले कुपात्रले र कहिले कुप्रवृत्तिले । राज्यका निकायहरूमा व्याप्त यस्तै समस्याले गर्दा रोजगारी खोज्ने युवा बेरोजगार बन्न विवश छन् । राज्यप्रति थुप्रै आशा र भरोसा बोकेर कर्मक्षेत्रमा उत्रन आतुर युवालाई राज्यले नै निराश पारेको छ, रोजगारीको अवसर नदिएर र स्वरोजगार बन्ने अवसरसमेत नदिएर ।
सत्तामा बस्नु भनेको सरकार चलाउनुमात्रै होइन । आमजनताका दुःख, पीर र समस्या बुझेर तिनका समाधान खोज्नु पनि हो । तर सत्तामा बस्नेहरू जनताका दुःख, पीर र समस्याबाट धेरै टाढा छन् । सत्ताकै वरिपरि घुम्ने केही अरौटेभरौटे र धुपौरेहरूलाई मात्रै जनता ठान्ने नेतृत्वको प्रवृत्तिले आमजनता निराश छन् । जुन व्यवस्थाले भुइँमान्छेका सपना साकार पार्छ भनियो, त्यही व्यवस्थामा सबैभन्दा बढी निराशा भोग्न विवश छन् तिनै भुइँमान्छेहरू । भुइँमान्छेले नै सत्तामा पुर्याएका नेताहरूले तिनै भुइँमान्छेलाई बिर्सेका छन् । भुइँमान्छेका दुःख, पीर र समस्या बिर्सेका छन् ।
साँच्चै भन्नुपर्दा देशका नेताहरूले आफूले टेकेको भुइँ नै बिर्सेका छन् । जनतालाई जुन आशा देखाएर व्यवस्था परिवर्तन गरियो, व्यवस्थाको परिवर्तनपछि जुन आशा देखाइयो, ती सबै निराशामा परिणत भएका छन् । युवा, बाल, वृद्ध सबैमा राज्यप्रति चरम निराशा छ । त्यसैले विद्यालय शिक्षा पूरा हुनासाथ विदेसिन आतुर छन् देशका तमाम किशोरदेखि युवासम्म । सरकार भने तिनै युवाले विदेशमा रगत-पसिना बगाएर पठाएको रेमिट्यान्सले देश धानेकोमा ढुक्क छ । के मान्छे निर्यात गरेर वस्तु आयात गर्नु बुद्धिमानी हो सरकार ?
राज्यले नै विदेशिन बाध्य पारेको हो युवालाई । युवालाई विदेश नगई बाँच्नै नसकिने स्थितिमा पुर्याएको हो राज्यले नै । देशभित्रै रोजगारीको अवसर भइदिएको भए, देशभित्रै केही गर्ने र केही बन्ने अवसर भइदिएको भए, वृद्ध बाआमा, परिवार, समाज र देश छोडेर बिरानो देशमा कमारो बन्न जान्ने रहर कुनचाहिँ युवालाई हुँदो हो ? बिरानो देशमा परिचयविहीन भएर र त्यहाँ अनेक किसिमको विभेद, अन्याय, अत्याचार र शोषण सहेर बस्ने रहर कसलाई हुँदो हो ? राज्यले यति कुरा पनि नबुझिदिँदा र युवालाई देशमै टिकाउने र देशमा रमाउने वातावरण सिर्जना गर्ने काममा राज्य निरन्तर चुक्दै गर्दा देशका युवाले निराशा भोग्नुपरेको छ, पीडा भोग्नुपरेको छ । अनि त्यही निराशा र पीडा कहिलेकाहीँ आक्रोश र विद्रोहको रूपमा प्रकट हुने गरेको छ ।
केही दिनअघि इपिएस कोरिया शाखा, बालकुमारीमा देखिएको हजारौं युवाको आक्रोश र विद्रोह यस्तै निराशा र पीडाको परिणाम हो । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण विदेशिन आतुर युवामा एक्कासि आवेग र आक्रोश उत्पन्न गरायो । त्यही आक्रोश विद्रोहमा परिणत हुँदा पहिल्यैदेखि आन्दोलित युवा थप आन्दोलित हुनपुगे । सत्य र तथ्यलाई गम्भीरतापूर्वक मनन नै नगरी हचुवामा गरिएको सरकारी निर्णयले युवालाई उत्तेजित, आक्रोशित र आन्दोलितमात्र तुल्याएन, त्यही आन्दोलितमध्येका दुई युवाको ज्यानसमेत लियो ।
देशको विसंगत अवस्थाले निराशिएका युवाले विदेश जानका लागि थालेको प्रक्रियामा भाँजो हालेर युवालाई भड्काउने काम राज्यबाटै भएको हो । रोजगारीका आकांक्षी युवालाई देशमै रोजगारी नदिने र विदेश जान्छुभन्दा पनि अनेक अड्चन खडा गरेर अलमल्याउने सरकारी प्रक्रिया र प्रवृत्तिबाट युवामनमा जन्मिएको कुण्ठा, निराशा, आक्रोश र विद्रोहको प्रष्फुटन थियो इपिएस कोरिया शाखामा भएको आन्दोलन ।
देशभित्रको बेरोजगारीले गर्दा युवामनमा परदेश नै प्यारो हुन थालेको छ । यो अहिलेको बिर्सन नसकिने यथार्थ हो । यसो त युवा विदेशिनुलाई हाम्रो सरकारले पनि सकारात्मक रूपमै लिएको देखिन्छ । किनभने, एकातिर युवा विदेशिँदा झन्झट नै खत्तम । अर्कोतिर रेमिट्यान्स आउँछ । त्यही रेमिट्यान्स नआउँदो हो त सरकारको टाउको दुख्थ्यो अर्थतन्त्र कसरी चलाउने भनेर । रेमिट्यान्सले गर्दा अर्थतन्त्र धानिएको छ । त्यसैले सरकारलाई ढुक्क छ । त्यसैले युवा विदेशिनु सरकारका लागि खुशीको कुरा भएको छ ।
देशभित्र थितिभन्दा बेथितिको विकास गरेर, सुशासनभन्दा कुशासनलाई प्रश्रय दिएर, शिष्टाचारभन्दा भ्रष्टाचारलाई संरक्षण र संवद्र्धन गरेर र ऊर्जावान् युवालाई निराश पारेर देश विकासको कल्पनै गर्न सकिँदैन । देशभित्र जताततै बेथिति र अराजक स्थितिको सिर्जना गरेर समृद्धिको सपना पूरा हुनै सक्दैन ।
सरकारलाई देशको भविष्यको चिन्ता छैन । उसलाई वर्तमानको चिन्ता छ । सत्ताको चिन्ता छ । सत्तामा बस्नेले देशको भविष्यको चिन्ता नगर्दा, युवाको भविष्यको चिन्ता नगर्दाका परिणामस्वरूप हामीले युवापलायन भोग्नुपर्छ । अनि कहिले इराक काण्ड बेहोर्नुपर्छ । कहिले इजरायल काण्ड बेहोर्नुपर्छ । अनि कहिले रुसी सेनाकाण्ड बेहोर्नुपर्छ । यतिमात्रै होइन, कहिलेकाहीँ आफ्नै देशभित्र बालकुमारी काण्ड पनि बेहोर्नुपर्छ । युवाशक्तिलाई राज्यले नचिन्दा र युवाशक्तिको परिचालन गरी देश विकास गर्ने दूरदृष्टि, सरकारी नीति र कार्ययोजनाको अभावले गर्दा बेलाबेलामा यस्ता काण्डहरू बेहोरिरहनुपर्छ ।
देशमा अवसर नै छैन भन्दै विदेसिने युवाको लर्कनलाई देशमै रोक्ने नीति र कार्ययोजना भइदिएको भए, त्रिभुवन विश्वविद्यालयबाट सिधैं त्रिभुवन विमानस्थल हुँदै बाहिरिने युवालाई देश विकास र निर्माणमा परिचालन गर्न सकेको भए, युवाका सिर्जनशील भावना र विचारलाई सिर्जनात्मक कार्यमा उपयोग गर्न सकेको भए अरू देशले विकास र समृद्धिको शिखर चुम्दै गर्दा हामी चाहिँ विकासशील राष्ट्रमा स्तरोन्नति हुन सन् २०२६ र मध्यम आय भएको राष्ट्र बन्न सन् २०३० को भाका पर्खेर बस्नुपर्ने थिएन । देशमा विद्यमान आर्थिक तथा सामाजिक पछौटेपन युवाशक्तिलाई चिन्न र त्यसलाई परिचालन गर्न नसक्दाको परिणाम हो ।
बिरानो मुलुकको बन्जर भूमिमा आफ्नो मिहिनेत र पसिनाले अन्न फलाउन सक्ने युवाले आफ्नै देशको माटोमा पसिना बगाएर सुन फलाउन सक्थे । देशको ऊर्वर माटोमा पसिना बगाएर सुन फलाउन सक्ने ल्याकत भएका युवालाई परिचालन गर्ने उपयुक्त नीति र कार्ययोजना बनाएर कार्यान्वयन गर्ने इच्छाशक्ति पनि नभएको र आन्दोलनका नाममा अराजक भएको भन्दै तिनै युवाको छातीमा गोली ठोक्न उद्यत् राज्य आन्दोलित युवाभन्दा कम अराजक छैन । देशभित्र अराजकताको बिउ राज्यले नै रोप्ने गरेको छ ।
त्यसलाई मलजल गर्ने काम पनि राज्यले नै गर्दै आएको छ । अनि दोष देशप्रतिको निराशा, आक्रोश र विद्रोहले आन्दोलित युवामाथि थोपरेर राज्य पन्छिन मिल्दैन । दोष राज्यकै हो र बालकुमारी घटना राज्यकै अराजकताको परिणाम हो । जीवन दिन तत्पर हुनुपर्ने राज्य जीवन खोस्न उद्यत् हुँदाको परिणाम हो बालकुमारी घटना । आन्दोलित युवाले भन्दा बढ्ता राज्यले संयम गुमाउँदा अप्रिय घटना हुन्छन् भन्ने यथार्थलाई राज्यले मनन गर्न सकेन । यसैको परिणाम हो बालकुमारी घटना ।
देशभित्र थितिभन्दा बेथितिको विकास गरेर, सुशासनभन्दा कुशासनलाई प्रश्रय दिएर, शिष्टाचारभन्दा भ्रष्टाचारलाई संरक्षण र संवद्र्धन गरेर र ऊर्जावान् युवालाई निराश पारेर देश विकासको कल्पनै गर्न सकिँदैन । देशभित्र जताततै बेथिति र अराजक स्थितिको सिर्जना गरेर समृद्धिको सपना पूरा हुनै सक्दैन । विकास र समृद्धिका लागि युवाशक्तिको परिचालन गर्नुपर्छ । अवसरको खोजीमा विदेशिने युवालाई देशभित्रै रोक्न सक्नुपर्छ र देशभित्रै अवसर प्रदान गर्नुपर्छ । राज्यले हरेक युवाको मनमा आशाको सञ्चार गर्न सक्नुपर्छ । किनभने युवा विकासका संवाहक हुन् ।
Good article Ratna-ji. It is provocative. – Harit